बदलिएका नेता



 

फेरि चर्चा निर्वाचनकै। अरु बेला मतदाता त के नजिकका कार्यकर्ताले समेत नमस्कार गर्दा नमस्कार फर्काउन गाह्रो मान्ने नेताहरू हिजो–आज पूरै बदलिएका छन्। चुनावले छपक्कै छोएर होला वर्षौंसम्मको व्याजसहितको नमस्कार फर्काउँदै मतदाताको घरदैलो धाइरहेका छन्। अनि नजिकको साइनो सम्बन्ध लगाएर मतदातासँग गफिएका पनि देखिन्छन्।

मतदाताका छोराछोरीलाई धाप मार्ने, गाला सुम्सुम्याउने र तीनका अभिभावकलाई सन्चो विसन्चो सोध्ने गरेको त सामान्य नै भइसक्यो। यससँगै धान भित्त्याउने चटारोमा जुटेका कृषकको खेतैमा पुगेर मत माग्ने गरेको पनि धरहराले देख्न थाल्या छ। यति मात्रै कहाँ हो र ? कोही नेता धान काट्न जुट्ने, कोही खेत जोत्ने, दाइँ हाल्ने, घाँस काट्ने, पानीको गाग्री बोकेर घरमै पुर्याउनसमेत पछि परेका छैनन्।

हातैमा कटकटाउँदा नोट राख्दै बुढा बा–आमाहरूसँग आशिर्वाद थाप्नेहरूको लर्को उस्तै छ। चलचित्रमाझै दोहोरिन थालेका यस्ता दृश्य र व्यवहार क्षणिक मात्रै हो भन्नेमा देश दुनियाँ प्रस्ट छ। यही मौकामा धेरै ठाउँका मतदाताले नेताहरूलाई निर्धक्क सोधेको पनि सुनियो– ‘नेताज्यू, अहिले हिउँदमा त हाम्रो घरदैलोमा कस्ट गर्नुभयो, शहर छिरेर उतैको हावापानीले छोएपछि हाम्लाई चिन्नुहुन्न।’

प्रतिक्रिया दिनुहोस्