मुगु खाद्य संस्थानबाट हुम्लीलाई चामल



 

वीरबहादुर बम, मुगु
मुगुमा रहेको खाद्य संस्थानको चामलले हुम्ली जनता पालिँदै आएका छन्। विकट हिमाली जिल्ला हुम्लामा प्रत्येक वर्ष भोकमरी हुने र यस वर्ष पनि भोकमरी भएकोमा हुम्लाका अधिकांस जनताको यतिबेला मुगु खाद्य संस्थानमा भीड नै लाग्दछ।

नेपाल सरकारले हुम्ली जनताको नाममा वर्र्षेेनी करोडौंको लगानीमा अनुदानको खाद्यान्न उपलब्ध गराएको भए पनि ठेकेदारले समयमा नै खाद्यान्न ढुवानी नगर्दा हुम्लाको तल्लो भेगका जनताले भोकभोकै मुगु सदरमुकाम गमगढीबाट खाद्यान्न लिई पेट पालिरहेका छन्।

‘यो वर्ष आफ्नो खेतबारीमा लगाएको अन्नबाली खडेरीले गर्दा उत्पादन नभएको तथा ५⁄६ पटक खसी, बोका, भेडाबाट खाद्यान्न ढुवानी गरी आफ्ना सन्तानहरू बचाउने गरेका छौं, हामी हुम्लीहरूको मुख्य आयआर्जनको स्रोत भनेको भेडा खसी, बोका पाल्ने हो’ –खार्पुनाथ गाउँपालिका–३ का ४५ नाना रावलले बताए। ‘हुम्लाको सिमीकोटमा चामल पाइँदैन, यदि पाइहालेमा ५⁄६ केजीसम्म पाउनु पनि निकै गारो हुन्छ, हामी गरिब जनाताको समस्या ठूलाबडा नेताहरूले बुझ्दैनन्’ –उनले दुखेसो पोखे।

मुगुमा ३० केजीको १ हजार २ सयसम्म पर्ने चामल हुम्लामा ३ हजार ५ सयसम्म पर्ने हुँदा मुगु आएर चामल लिएको सरकेघाट गाउँपालिका–४ हुम्लाका छत्तबहादुर फडेराले बताएका छन्।

मुगु सदरमुकाम गमगढीबाट हुम्लाको, श्रीनगर, क्लखे, राया, रोडीकोट, दार्मा, जैरलगायत दर्जनौं गाउँबस्तीका जनताले मुगुबाट भेडा, खसी, खच्चरबाट ढुवानी गरी चामल लिने गरेका छन्।
नेपाल खाद्य संस्थान शाखा कार्यालयमा केही महिना पहिले बजारको खाद्यान्न सस्तो भएकाले बिक्री कम हुने गथ्र्याे भने पछिल्लो समयमा हुम्ला जिल्लामा भोकमरी भएको हँुदा खाद्य संस्थान शाखा कार्यालय मुगुको चामल पत्येक दिन १ सय क्विन्टलभन्दा बढी बिक्री हुने गरेको छ। खाद्य संस्थान शाखा कार्यालय मुगुमा आ.व २०३।२०७४ मा १७ हजार क्विन्टल खाद्यान्न कोटा भए पनि १२ हजार क्विन्टल खाद्यान्न बिक्री भइसकेको छ।

अघिल्ला आवमा बाँकी रहेको ५ हजार क्विन्टल खाद्यान्नमध्ये हिजोआज ३७ सय क्विन्टल बिक्री भइसकेको छ। बाँकी १ हजार ३ सय क्विन्टल खाद्यान्नले २⁄३ महिनासम्म पुग्ने खाद्य संस्थान शाखा कार्यालय मुगुका कार्यालय प्रमुख भरत खनियाँले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्