माओवादी केन्द्रका नेता विप्लवको निशानामा



प्रशान्त वली, काठमाडौं

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लवको नेतृत्वको पार्टीले जनयुद्वका क्रममा सँगै रहेको पार्टी र हाल माओवादी केन्द्रका नेताहरूलाई निशाना बनाएको छ।

शनिबार रोल्पाको माडी गाउँपालिका–१ स्थित भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो। त्यसै गरी शुक्रबार रुकुममा माओवादी उम्मेदवार जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो। यद्यपि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने घटनाको जिम्मेवारी लिएको छैन। पुन रोल्पा र शर्मा रुकुमबाटै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ।

पार्टीले रुकुममा जनार्दन शर्मा र रोल्पामा वर्षमान पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भन्नुभयो– ‘हाम्रो पार्टीको नीति चुनाव खारेज हो। त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका छौं। आक्रमणको विषयमा हामीले बुझिरहेका छौं।’

यस्तै गृह प्रशासनले निर्वाचन भाँड्ने गतिविधि गर्ने कसैलाई नछाडिने बताएको छ। निर्वाचन विरोधी गतिविधि गर्नेलाई तत्काल नियन्त्रणमा लिने गृह मन्त्रालयले बताएको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण दुवाडीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘निर्वाचनलाई शान्त र भयरहित वातावरण बनाउन मन्त्रालय लागिपरेको छ। निर्वाचन भाँड्नेहरूलाई हामी छाड्दैनौं। तत्काल नियन्त्रणमा लिन्छौं।’ यस्तै स्थानीय प्रशासनले निर्वाचन विरोधी गतिविधिमा संलग्न सबैलाई नियन्त्रण गर्ने र त्यसका लागि व्यापक रूपमा सुरक्षा परिचालन गरिएको बताएको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज दलबहादुर खत्रीसहित ४ जनालाई केही समयअघि निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरिएको बताउनुभयो।

शुक्रबारदेखि पोखरामा शुरू भएको प्रदेश ४ र ५ को विशेष सुरक्षा गोष्ठीले आसन्न चुनावको मुख्य चुनौतीका रूपमा निर्वाचन विरोधी अर्धभूमिगत विप्लव समूहलाई लिएको छ।

प्रतिक्रिया दिनुहोस्