दुई दलबीचको आरोपप्रत्यारोप उत्कर्षमा



मधुसूदन रायमाझी, काठमाडौं

प्रतिनिधि तथा प्रदेशसभाका निर्वाचनका लागि घोषणापत्रसहित चुनावी अभियानमा जुटेका राजनीतिक दल चुनावी एजेन्डाभन्दा पनि आरोपप्रत्यारोपमा उत्रिएका छन्। आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मुख्य शक्ति वाम गठबन्धन र नेपाली कांग्रेसबीचको आरोपप्रत्यारोप चुलिँदै गएको छ।

निर्वाचनमा आफ्नो चुनावी एजेन्डाभन्दा पनि कम्युनिस्ट र कांग्रेसबीच गालीगलौज र आरोपप्रत्यारोप बढ्दै गएको छ। कांग्रेसले आगामी निर्वाचनमा कम्युनिस्टले जिते रुन पनि नपाइने अधिनायवाद आउने भन्दै वाम गठबन्धनविरुद्ध खनिएको छ भने वा गठबन्धनले मुलुकमा वाम गठबन्धनको बहुमत आउने त्रासका कारण कांग्रेस आत्तिएको बताउँदै आएको छ।

देशको समृद्धिका लागि मतदातासमक्ष आफ्ना चुनावी एजेन्डामार्फत मन जित्नेभन्दा पनि दुई ठूला शक्ति आरोपप्रत्यारोप गरेर भोट माग्ने काममा लागेका छन्। वाम गठबन्धन र कांग्रेसका शीर्ष नेता मतदातालाई आफूतिर तान्नका लागि गालीगलौजमा उत्रिएका छन्।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिका रूपमा खडा भएको आरोप लगाउनुभएको छ।

शनिबार ताप्लेजुङबाट शुरू भएको चुनावी अभियानलाई सम्बोधन गर्दै उहाँले वाम गठबन्धन लोकतन्त्र, जनता र संघीयता विरोधी रहेको आरोप लगाउनुभएको हो। प्रधानन्त्री देउवाले कम्युनिस्ट शासन स्थापना भए जनताको दैनिकी डर तथा त्रासपूर्ण हुने बताउनुभयो। निर्वाचन लोकतन्त्र र साम्यवाद रोज्नेबीचको प्रतिस्पर्धा हो भन्दै प्रधानमन्त्री देउवाले जनता लोकतन्त्र विरोधी नभएकाले साम्यवाद जनताको रोजाइमा नपर्ने बताउनुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनबीचको एकताले कांग्रेस आत्तिएको बताउनुभयो। ‘दुई ठूला कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनेपछि कांग्रेस निकै आत्तिएको छ। आगामी निर्वाचनमा दुई तिहाइ बहुमत कम्युनिस्टको आउने निश्चित भएपछि कांग्रेस बरबराउन थालेको छ।’ –झापा क्षेत्र नम्बर १ धुलाबारीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रको एकताबाट कांग्रेसको होस हवास नै उडेको आरोप लगाउनुभयो। नेपालको कम्युनिस्ट शक्तिलाई फुटाएर विगतदेखि नै कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती समाप्त भएको बताउँदै उहाँले भन्नुभयो– ‘आगामी निर्वाचन देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा हो।’ प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धन लोकतन्त्र विरोधी शक्तिका रूपमा खडा भएको आरोप लगाउनुभएको छ।

निर्वाचनका लागि सबै राजनीतिक दलका नेता आफ्नो निर्वाचन क्षेत्र र आफ्ना उम्मेदवारलाई विजयी गराउनका लागि चुनावी दौडमा खटिएका छन्। निर्वाचनमा विपक्षी दललाई नै गाली गरेर भोट आफ्नो पक्षमा तान्ने कसरतमा दल लागेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त सरकार निर्वाचन भाँड्ने खेलमा लागेको आरोप लगाउनुभएको छ। सरकार नै एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्ने खेलमा लागेको उहाँले आरोप लगाउनुभएको हो। निर्वाचनमा आयोजित चुनावी भेटघाट कार्यक्रममा उहाँले चुनावी भाँड्ने षड्यन्त्र अझै पनि भइरहेको बताउनुभएको हो।

रुकुम घटनामा हतियारधारी जत्था पक्राउ पर्दा नेपाली कांग्रेसका बहालवाला मन्त्रीले विज्ञप्ति जारी गरेर छोड्नुपर्छ भन्नु र विगत केही दिनयता उम्मेदवारमाथि शृंखलागत आक्रमण हुनुले निर्वाचन भाँड्ने गम्भीर षड्यन्त्र भएको प्रचण्डले बताउनुभयो। रुकुममा जनार्दन शर्मा, रोल्पामा प्रदेशसभाका एक उम्मेदवार, पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्षित गरी रोल्पामै माइन विस्फोट गराइएको भन्दै प्रचण्डले घटनाको निन्दा गर्दै सरकार नै निर्वाचन नगर्ने षड्यन्त्रका साथ यस्ता गतिविधि भइरहेको छ भन्ने प्रश्नसमेत गर्नुभयो।

लोकतन्त्र हामी सबैले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रचण्डले कांग्रेसले वाम गठबन्धनलाई लोकतान्त्रिक नभएको आरोप लगाउनु गलत भएको बताउनुभयो। वामपन्थी तानाशाहीतर्फ जाँदै छन् भन्ने हल्लामा कुनै तुक नभएको बताउँदै प्रचण्डले भन्नुभयो– ‘देशलाई समाजवादतर्फ लैजाने भन्ने कुरा संविधानमा नै लेखिएको छ।’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनको एकतापछि कांग्रेस बौलाएको आरोप लगाउनुभयो। लोकतन्त्रका निम्ति बलिदानी गर्न कम्युनिस्टको आचरणमा शंका नगर्न चेतावनी दिँदै उहाँले कांग्रेसलाई वामपन्थीले नै संवैधानिक राजतन्त्रको बाटोबाट यहाँसम्म ल्याइपुर्याएको बताउनुभयो।
रामेछाप–काठमाडौं संयुक्त वाम गठबन्धन सम्पर्क मञ्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले लोकतन्त्र र राष्ट्रियताको झन्डालाई कम्युनिस्टहरूले बलियोसँग समातेकाले वाम गठबन्धनको एकताप्रति कांग्रेसले बर्बराउने काम बन्द गर्नुपर्ने बताउनुभयो।
‘२०५१ सालको निर्वाचनमा पनि बूढापाकाको हत्या गर्छ भनेर प्रचार गर्ने यही कांग्रेस हो, अहिले कम्युनिस्टको शासन आयो भने रुन पनि पाइँदैन भन्ने यही कांग्रेस हो’ –उहाँले भन्नुभयो।

निजी सम्पत्तिलाई राष्ट्रियकरण गर्छन् भन्ने यही कांग्रेस हो’, उहाँले भन्नुभयो– ‘अहिले विदेशी आतंकित र भ्रमित पार्ने काम पनि कांग्रेसले गरिरहेको छ, कांग्रेससँग तर्क गर्ने क्षमता गुमिसक्यो, कांग्रेस विस्तारै प्रज्ञा परिषद्को बाटो रोज्न थालेको छ, हामी चाहन्छौं कांग्रेस यो बाटोमा नजाओस्, यदि कांगे्रसले त्यही सोचेको छ भने भीरमा जाने गाईलाई रामराम मात्र भन्न सकिन्छ, काँध हाल्न सकिदैन।’

प्रतिक्रिया दिनुहोस्