मतदाता शिक्षा कार्यक्रम शुरू, बदर मत कम हुने आयोगको विश्वास



सुनील महर्जन, काठमाडौं

करोडौं रुपियाँ खर्च गरे पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनासो आइरहेको सन्दर्भमा निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम शनिबार शुरू गरेको छ।

आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि हरेक मतदाताको घरघरमा मतदाता शिक्षा पुर्याउन २० हजार कर्मचारी परिचालन गरेको हो।

स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएको भन्दै सर्वत्र आलोचित भएको प्रसंगलाई ध्यानमा राख्दै आयोगले पहिलो चरणको निर्वाचनको १५ दिनअघिदेखि शिक्षा दिन शुरू गरेको आयोगले जनाएको छ।

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन आउँदो मंसिर १० गते र दोस्रो चरणको मंसिर २१ गते तोकिएको छ। यो निर्वाचनमा तीनवटा मतपत्र हुनेछन्। सो पत्रमा चारवटा छाप लगाउनुपर्ने हुन्छ। प्रत्यक्षतर्फ दुईवटा मत हुनेछन् भने समानुपातिकतर्फ एउटै मतपत्रमा दुईवटा छाप लगाउनुपर्नेछ।

‘यसले गर्दा मतदाताले एउटा मात्र छाप लगाएर आउने, प्रदेश वा प्रतिनिधिसभामध्ये एउटामा मात्र मत खसाल्ने हुन सक्छ। त्यस्तो हुन नदिन मतदाता शिक्षा प्रभावकारी बनाउने आयोगको लक्ष्य रहेको छ।’ –प्र्रवक्ता नवराज ढकालले भन्नुभयो। आम मतदातालाई निर्वाचनमा सहभागी हुन उत्प्रेरित गरी सही तरिकाबाट मतदान गर्न सक्षम बनाउनु आयोगको दायित्व रहेको पनि प्रवक्ता ढकालले बताउनुभयो।

‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सही र सुरक्षित तरिकाले सम्पन्न गर्न आयोगले मतदाता शिक्षामा जोड दिएको छ’, उहाँले भन्नुभयो– ‘यस्तो शिक्षाले निर्वाचनमा आम मतदाताले सहभागिता बढाउनुका साथै मतदानमा हुने बदर मतको संख्या न्यूनीकरण गर्न सहयोग मिल्नेछ।’

जिल्ला सदरमुकामबाट गाउँगाउँमा परिचालित हुँदै भोट हाल्ने तरिका सिकाउन शनिबार कर्मचारी पठाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। यसअघि स्थानीय तह निर्वाचनमा मतदाता शिक्षा नपुग्दा धेरै मत बदर भएको भन्दै आयोगको आलोचना भएको थियो।

स्थानीय तह निर्वाचनमा १ करोड ४ लाख ३६ हजार ३ सय २५ मत खसेकोमा ३.४४ प्रतिशत मत बदर भएको थियो। मत बदर हुनु भनेको शिक्षा प्रभावकारी नहुनु रहेको आयोगको ठम्याइ रहेको छ।
विगतको आलोचनालाई समेत सुनेर यसपटक १५ दिनअघि नै विभिन्न सरकारी र गैरसरकारी निकायसँग सम्वन्वय गर्दै कर्मचारी खटाएको प्रवक्ता ढकालको भनाइ छ। राजनीतिक दललाई समेत मतदाता शिक्षामा सहयोग गर्न आयोगले आग्रह गरेको उहाँले बताउनुभयो। यसपटकको निर्वाचनमा भने विगतको भन्दा बदर मत कम आउने आयोगको आकलन छ।
यसपटक मतदाता शिक्षाका लागि ९५ करोड रुपियाँ तथा विभिन्न तालिमका लागि ४७ करोड ५९ लाख ६३ हजार खर्च गर्ने तयारी आयोगको रहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो। आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुरक्षा तथा व्यवस्थापन तालिमका लागि १० लाख ७३ हजार, निर्वाचनसम्बन्धी सञ्चार तालिममा ७४ लाख ८० हजार, केन्द्रमा दिइने मतदाता तालिमका लागि ९ करोड ८८ लाख ५७ हजार खर्चेको छ।

प्रतिक्रिया दिनुहोस्