विन्द्या, दार्जीलिङ र साहित्यिक मनहरू



मोहन दुवाल
नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जीलिङमा नेपाली भाषा, साहित्यमा समर्पित थुप्रै लेखकहरु क्रियाशील छन्। यही क्रममा भाषा–साहित्य क्षेत्रमा सक्रिय रहँदै आएकी चर्चित लेखिका विन्द्या सुब्बालाई विम्बमा राखेर नियाल्न खोजिरहेछु। मन्दरा सुब्बा र पदमध्वज सुब्बाकी सुपुत्री विन्द्याले वी.ए. नर्सिङसँगै नेपालीमा एम.ए. उत्तीर्ण गरेकी छिन्।

प्रभावशाली कथालेखनमा उत्कृष्ट नाम बनाइसकेकी विन्द्या सुब्बा उपन्यासमार्फत पनि आफ्नो पहिचान सफल उपन्यासकारका रूपमा देखाउन सफल छिन्। संस्मरण, नियात्रा, लेख टिप्पणी, कविता पनि लेख्दै आएकी यिनी वसुधा साहित्यिक संस्थामार्फत आफूलाई सक्रिय रूपले साहित्यिक यात्रामा डोर्याउन प्रयत्नरत छन्। अति व्यस्त नर्सिङ सेवामा आफूलाई व्याप्त राखेर पनि साहित्य–सिर्जनामा र साहित्यिक अभियानमा लागिरहन पाउँदा गौरव महसुस गर्ने विन्द्या सुब्बाले दार्जीलिङको माटोमा रहेर आफूलाई विश्वपरिवेशमा चिनाउँदै छन्। यिनको लेखन र सक्रियता मूल्याङ्कन गरेर थुप्रै साहित्यिक सङ्घ–संस्थाहरुबाट यिनी सम्मानित भइसकेकी छन्।

मनोविज्ञानलाई आफ्नो कथा–उपन्यासको मूल विषय बनाउन मन पराउने, विषयवस्तुभित्रका पात्रहरूको सजीव र सूक्ष्म चित्रण गरेर पाठकहरूको मन जित्न सफल लेखिका विन्द्या सुब्बाको लेखन उत्कृष्ट र प्रभावकारी छ। सामाजिक–पारिवारिक परिवेशलाई विषयवस्तु बनाउन सफल लेखिका भएकै कारणले यिनका रचनाहरू शिक्षाप्रद छन्। पारिजातको रचनाधर्मिताबाट प्रवाहित यिनी आफ्नो लेखनशैलीमा आफ्नै खालका प्रवाह र सरलता खोप्न सिपालु छन्। भाषा र शैलीमा सरलता रहेकै कारणले यिनीद्वारा लिखित लेख–रचनाहरू क्लिष्ट छैनन्। युगीन समस्याहरू यिनको लेखन विषय रहेकै कारणले रचनामा युगधर्मिता छरपस्ट छन्। उनी लेख्ने गर्छिन्– ‘लेख्नु मेरो धर्म हो। एकनिष्ट छोड्ने कुरा आएन। लेखन मेरो कार्यको अङ्ग हो। लेखनमार्फत मेरो समाज, राष्ट्रलाई दिने अब ता बलबुताले भ्याइन्जेलसम्म प्रयास गर्नेछु।’ यस्तै लेखकीय धर्म बोकेर आफूलाई साहित्यिक सिर्जना र क्षेत्रमा समर्पित तुल्याउँदै आएकी विन्द्याको लेखनमा मानवीय समस्याको प्रखर अभिव्यञ्जना मुखरित भएको देखिन्छ।

कक्षा ६–७ पढ्दै गर्दादेखि नै साहित्य लेख्दै आएकी यिनी इ.सं. १९५५ जुलाई ३ मा तीनधारे, दार्जीलिङमा जन्मेकी हुन्। विन्द्या सुब्बा कवितामा आफ्नो परिचय यसरी राख्न रुचाउँछिन्–
म दार्जीलिङमा वर्षौंंंदेखि
हिउँको चिसो सहँदै
उभिएको धुपीको रूख हुँ
म वर्षमा छ महिना
झरीमा भिज्दै
बाँच्न सक्ने चियाको बोट हुँ।
नारीमुक्तिको प्रश्नमा पारिजात र तसलिमा नसरिनसँगसँगै आफ्नो भावधारा प्रकट गर्न रुचाउने यिनी उनीहरुसँगसँगै आफूलाई बलशाली ढङ्गले चिनाउन सफल छन्। पारिजातलाई आफ्नो आदर्श लेखिकाका रुपमा मनमा राखेर साहित्य–सिर्जनामा लाग्दै आएकी यिनी उनकै साहित्यिक उत्तराधिकारीका रूपमा आफूलाई जीवन्त तुल्याउन सङ्घर्षरत छन्।
‘अथाह’ यिनको चर्चित उपन्यासको नाम हो। यस उपन्यासबारे धेरैले धेरै खालका प्रतिक्रियाहरू दिए। उपन्यासकार तथा कथाकार नारायण ढकालले यसरी आफ्नो दृष्टि पोखेका छन्– विन्द्या सुब्बाको अथाह पढेपछि मलाई फेरि त्यस्तै आनन्द प्राप्त भयो। मानवीय समस्याको प्रखर अभिव्यञ्जना उपन्यासमा वर्णित पाइन्छ। अथाहबारे विन्द्या लेख्छिन्– ‘अथाहका सम्पूर्ण पात्र र घटनाहरू यथार्थ हुन्। मैले धेरै वर्षहरू नर्सिङको अध्ययन र तालिमलाई दिएकी छु।

त्यसैलाई कहिले मेरो लेखन साधनाका बाधास्वरूप पनि मानें। तर यस्तै अध्ययनको प्रक्रियामा एक समय दुई–तीन महिनाका लागि महानगरको एउटा मानसिक अस्पतालमा संलग्न रहने अवसर पाएँ र अथाह लेखियो। मैले आजसम्ममा २४ वर्ष बिताएकी छु र अथाह नै ती जम्मै वर्षको सर्वोत्तम उपलब्धि हो भनेर म मान्दछु।’ आफ्ना कृतिहरूमा सर्वोत्कृष्ट कृतिका रूपमा भनौं २५औं वर्षको साहित्यिक रचनामा प्रभावकारी रचनाका रूपमा अथाहलाई यिनी आफैंले स्वीकारेकी छन्। अझ व्याख्या गर्दै यिनी अथाहबारे लेख्छिन्– ‘मेरो मूल विषय मान्छेको मन नै हो। मान्छेको मन, यसको विश्लेषण नै मेरा लेखनका विषयवस्तु हुन्छन्। मलाई विभिन्न चरित्रहरूको मनको अध्ययन र विश्लेषण गर्न मन लाग्छ। मान्छेका सम्बन्धहरू र मानवीय मूल्यहरूको चित्रण नै मेरो मूल विषय हो।’

भारतीय नेपाली साहित्यकै उल्लेखनीय कृति हो अथाह। अथाह उपन्यासले नै पायो भारतको गौरवपूर्ण पुरस्कार साहित्य अकाडमी पुरस्कार २००३ मा। मानवता सम्प्रेषित गर्न सक्षम लेखिका विन्द्या सुब्बा भारतका थुप्रै साहित्यिक सङ्घसंस्थाबाट पुरस्कृत हुनुका साथै नेपालबाट पनि सम्मानित भइसकेकी छन्। कथाहरूमा हस्पिस कथासङ्ग्रहबाट आफूलाई उत्कृष्ट कथाकारका रूपमा चिनाउन सफल यिनी मानवीय संवेदनाहरू पोख्न सिपालु कथाकार हुन्। वसुधाको निर्माता तथा संयोजक रही समकालीन साथीहरूसँग रमाउँदै साहित्यिक अभियानहरूमा लागिरहेकी यिनी दार्जीलिङकी साहित्यिक कञ्चनजङ्घा हुन्। शुरु–शुरुमा कविता लेखेर देखा परेकी यिनी पछिल्लो क्रममा कथा र उपन्यास विधामा बढी सक्रिय र क्रियाशील छन्। भारतीय–नेपाली साहित्यकारहरूमाझ एकजना सशक्त लेखिकाका रूपमा आफ्नो परिचय बाँड्न सफल लेखिका विन्द्या सुब्बा दार्जीलिङकै एक उच्चकोटिको स्रष्टाकै नाम हो।

नजिक्याउने सत्कार्य गरिन् विन्द्याले
संयोग जुर्यो, विन्द्या सुब्बालाई धेरै कोणबाट नियाल्न पाइयो। वसुधा उनीद्वारा संस्थापित साहित्यिक संस्थाबाट विशिष्ट अतिथिका रूपमा मलाई पनि दार्जीलिङमा डाकेको खबर छ भन्ने सुन्दा मैले दार्जीलिङ पुग्ने रहर गरेँ। २०६६ कार्तिक ६ गते दिउँसो पुग्यौं पनि दार्जीलिङ। निकै व्यस्त बजारमा मान्छेहरूको भीडमा हामीलाई स्वागत गर्यो वसुधाले। मनोरम लाग्यो दार्जीलिङको यो माया। विन्द्या सुब्बाको नेतृत्वका पदचापहरू हेर्न पाइयो।
हामीलाई अतिथिका रूपमा दार्जीलिङमा स्वागत गरेर नेपाल र भारतमा रहेका नेपालीहरूको आपसी सम्बन्ध जोड्ने कार्यमा विन्द्या सुब्बाहरूले महत्वपूर्ण भूमिका निभाए। चार दिन दार्जीलिङ बसियो। कार्यक्रममा रमाइयो। दार्जीलिङ सिङ्गै घुमघाम गर्ने वातावरण मिलाइयो। मिरिक र सोनादासँग मन साटियो। जनमतसँग साइनो गाँसियो। थुप्रै दार्जीलिङका स्रष्टाहरूसँग चिनजान भयो। भारतीय–नेपाली साहित्यकारहरूको कृतिका गह्रुँगो भारी बोकियो। कतै पनि, कुनै पनि ठाउँमा र कार्यक्रममा अप्ठ्यारो महुसस भएन। बसिरहूँजस्तो भयो दार्जीलिङ। हेरिरहूँजस्तो भयो दार्जीलिङ। यसरी दार्जीलिङसँग नजिक तुल्याउने सत्कार्य गरिन् विन्द्या सुब्बाले।

प्रतिक्रिया दिनुहोस्