बैतडीमा दुई मन्त्रीबीच कडा टक्कर



विनोदसिंह विष्ट, बैतडी 

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्व सांसदबीच टक्कर हुने भएको छ ।

दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ वाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ वाट नेपाली कांग्रेसका नरबहादुर चन्द विजयी भएका थिए । भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री समेत बनेका थिए भने चन्द बहालवाला वाणिज्यराज्यमन्त्री रहेका छन्। बैतडीमा आसन्न निर्वाचनका लागि प्रतिनिधि सभाको लागी १ क्षेत्र रहेकोमा पुर्व राज्यमन्त्री र बहालवाला राज्यमन्त्री चुनावी मैदानमा उत्रिएकाले चुनाव निकै रोचक हुने देखिएको छ ।

पुर्व अर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनेका छन भने वाणिज्यराज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बन्दै चुनावी मैदानमा उत्रिएका छन । संविधानसभा निर्वाचनमा भण्डारी १ नं क्षेत्रवाट वाट ११ हजार ६७१ मतसहित विजयी भएका हुन भने चन्द २ नं क्षेत्रवाट १२ हजार ४६६ मतसहित विजयी भएका हुन ।
बैतडीमा स्थानिय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनमा बढी मत रहेको छ । जिल्लाका १० स्थानिय तहमध्ये ६ स्थानिय तहको प्रमुखमा नेपाली कांग्रेस विजयी भएको हो । ३ स्थानिय तहमा नेकपा एमाले र १ स्थानिय तहको प्रमुखमा माओवादी केन्द्र जित हात पारेको थियो ।

समग्र रुपमा जिल्लाको ८४ वटा वडामा गरी नेकपा एमालेले २७ हजार ३ सय ८९ र माओवादी केन्द्रले १८ हजार ७ सय १९ मत प्राप्त गरेको थियो । नेपाली कांग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४ सय ४ मत पाएको थियो । तर स्थानिय तहको निर्वाचनमा खसेको अधिकांस मत नागरिकले पार्टी भन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानिय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन । प्रतिनिधि सभाको लागी दुवै उम्मेदवार पुर्व सांसद तथा भण्डारी पुर्व राज्यमन्त्री र चन्द बहालवाल मन्त्री भएकाले पनि निर्वाचन थप रोचक हुने देखिएको छ ।

पुर्वप्रधानमन्त्री तथा राप्रपाका पुर्व अध्यक्ष लोकेन्द्र बहादुर चन्दको गृह जिल्ला बैतडीमा कांग्रेसले राप्रपासंग चुनावी तालमेल गरेको हो । जुन प्रदेश नं ७ को एक मात्र जिल्ला बैतडीमा कांग्रेस र राप्रपाले लोकतान्त्रिक गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएका छन ।

पुर्वप्रधानमन्त्री चन्दको गृह जिल्ला तथा प्रदेश नं ७ को एउटा मात्रै जिल्ला बैतडीमा लोकतान्त्रिक गठबन्धनका तर्फवाट साझा उम्मेदवार बनाएकाले यहाँको निर्वाचन रोचक तथा निकै प्रतिस्प्रर्धात्मक हुने आँकलन गरिएको छ । तर पनि स्थानिय तहको निर्वाचनको मतलाई हेर्दा वामगठबन्धन अघि देखिएकाले आसन्न निर्वाचनमा कसले बाजी मार्छ भनेर अहिले नै भन्न सकिने अवस्था भने छैन ।

प्रतिनिधि सभा सदस्यका लागी आमने सामने भएका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।
सारा कम्यूनिष्टहरु एक भए पनि आफु लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित आवश्यक रहेको लोकतान्त्रिक गठबन्धनका तर्फवाट प्रतिनिधि सभाका उम्मेदवार नरबहादुर चन्दले बताउनुभयो । लोकतन्त्रको रक्षा र संविधानको पुर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धनले विजयी हुनुपर्छ उहाँले भन्नुभयो“देश विकास र आर्थिक सम्वृद्घिका लागी लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ” आफुले जितेको खण्डमा मात्रै समग्र बैतडीको विकास हुने समेत उहाँले दाबी गर्नुभयो ।

देशमा जारी गरीएको संविधानलाई कार्यान्वयन गर्दै आत्मानिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजबादको दिशातर्फ अघि बढ्न आफुहरुको उम्मेदवारी भएको बाम गठबन्धन का प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीको भनाई छ । समग्र जिल्लाको विकासका लागीसधै लागिपरेको बताउदै भण्डारीले आफु विजयी भए बैतडीको मुहार फेरिने दाबी गर्नुभयो। उहाँले भन्नुभयो– “सडक,शिक्षा,स्वास्थ लगायतका विकासका पुर्वाधारमा जोड दिईनेछ।”

नयाँ संविधान जारी भएपछि पहिलो पटक हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाकाको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाका लागि नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनका तर्फबाट संयुक्त उम्मेदवार नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले उम्मेद्वार रहेका छन ।

यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका नेता एवं पूर्वअर्थराज्यमन्त्री दामोदर भण्डारीले उम्मेद्वार बन्नुभएको छ ।
यसैगरी प्रतिनिधि सभाको लागी नै बैतडीमा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट विरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्द समेत चुनावी मैदानमा उत्रिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै प्रदेशसभा तर्फ बैतडी क मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, बामगठबन्धनबाट प्रेमप्रकाश भट्ट,राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुवर,राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलिपराज पाण्डे चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । प्रदेश सभा अन्तर्गत बैतडी ख मा लोकतान्त्रिकगठबन्धनबाट गणेश चन्द र बाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् ।

चुनावलाई लक्षित गरेर बैतडीमा सबै राजनितिक दलहरुले चुनावी अभियानलाई पनि तिब्रता दिएका छन । सबै राजनितिक दलहरु आजभोली भोट माग्न गाउँकेन्द्रित भएका छन । बैतडीमा अरु पार्टी पनि प्रतिनिधि सभा र प्रदेश सभाको लागी उम्मेदवार बनेका भएपनि बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनविच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ ।
बैतडीमा पहिलो चरण अन्तर्गत आगामी मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुने भएको छ ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधि सभाको लागी १ र प्रदेश सभा निर्वाचनको लागी २ क्षेत्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्