मधेसी शीर्ष नेतालाई चुनाव जित्न कठिन



बीपी साह, काठमाडौं
आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा शीर्ष मधेसी नेतालाई चुनाव जित्न कठिन हुने देखिन्छ। मुख्य दुईवटा मधेसवादी दलका अध्यक्षलाई नै चुनाव जित्न फलामको च्यूरा चपाएजस्तै कठिन बन्दै गएको छ।

संविधान जारी हुनुअघि निरन्तर आन्दोलनमा रहेकाले सांगठनिक संरचना बनाउन नसकेका नेतालाई झनै कठिन भएको छ। मधेस आन्दोलनको उर्वर भूमिमा समेत अन्य दलका उम्मेदवार हावी हुँदै गएका छन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्रमा प्रतिस्पर्धा तीव्र भएको छ भने फोरम–राजपा गठबन्धनभित्रै विवाद बढेको छ।

चुनाव जित्न सुरक्षित क्षेत्र खोज्दै सप्तरी–२ बाट उम्मेदवारी दिनुभएका यादवलाई वाम गठबन्धनका उम्मेदवार एवम् पूर्वमन्त्री उमेश यादवले चुनौती दिँदै हुनुहुन्छ। यादव बाहुल्य उक्त क्षेत्रमा उमेश यादव हावी हुँदै जानुभएको छ्। यता राजपासँग गठबन्धन गरे पनि राजपाका महासचिव जयप्रकाश ठाकुर नै उपेन्द्र यादवका विरुद्ध उम्मेदवारी दिनुभएको छ। जसकारण राजपाको भोट पनि उपेन्द्र यादवलाई जाने अवस्था छैन।

यादवलाई नेपाली कांग्रेसले समर्थन गरे पनि कांग्रेसभित्र दुई धार बनेको छ। एउटा धारले उपेन्द्र यादवलाई सघाउने निर्णय गरेको छ भने अर्को धारले कांग्रेसकै उम्मेदवारका लागि भोट माग्ने निर्णय गरेको छ। जसकारण यादव थप दबाबमा पर्नुभएको छ।

यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुुरलाई कांग्रेसले समर्थन गरे पनि आफ्नै वागी उम्मेदवारले चुनौती दिएका छन। महोत्तरी–३ बाट चुनावमा उठ्नुभएका ठाकुरलाई उहाँकै पार्टीका बागी उम्मेदवार एवम् पूर्वसांसद चन्द्रेश्वर झाले दबाबमा पार्नुभएको छ।

राजपाका अर्का नेता राजेन्द्र महतो नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसँग कडा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ। धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा उठ्नुभएका महतोको साथ त्यस क्षेत्रका निर्वाचित सांसद सञ्जय साह तक्लाले छाडिदिएको बताइएको छ। उक्त क्षेत्रमा निर्णायक मत राख्ने सञ्जय साहलाई महतोले धोका दिएको भन्दै साहले निधिलाई सहयोग गर्ने बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य शरद्सिंह भण्डारीलाई कांग्रेसकी उम्मेदवार एवं राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादवले चुनौती दिनुभएको छ। यादव उक्त क्षेत्रबाट यसअघि चुनाव जित्नुभएको थियो।

राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवलाई सिरहा ४ मा वाम गठबन्धनका उम्मेदवार रामएकवाल यादव र कांग्रेसका उम्मेदवार मोख्तार अहमदले चुनौती दिँदै छन्। हालसम्म उक्त क्षेत्रमा राजकिशोर यादवको पक्षमा माहोल बन्न सकेको छैन भने आफ्नै पार्टीका केही नेताले विरोध गर्न थालेपछि यादव दबाबमा पर्नुभएको छ।

राजपाका नेता अनिल झालाई रौतहट १ मा वाम गठबन्धनका उम्मेदवार सत्यनारायण भगत र नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद यादवले चुनौती दिएका छन्। फोरम नेपालसँग गठबन्धन गरे पनि बबन सिंह र अमर यादवलगायतले स्वतन्त्र उम्मेदवारी दिँदा झाले पनि आफूलाई सुरक्षित ठान्न नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्