चीन र नेपालबीच रेलमार्ग निर्माण प्रक्रियामा सम्झौता



काठमाडौँ । नेपाल र चीनबीच उत्तर–दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ । चीनको तिब्बत हुँदै केरुङ नाकाबाट रसुवागढीदेखि काठमाडौँसम्म जोड्ने रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनका लागि समझदारी भएको हो ।

शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय रेल प्रशासनका उच्चस्तरीय टोलीबीच उत्तर–दक्षिण रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको हो ।

समझदारी गर्नुअघि चीनको रेल वे प्रशासन उपप्रमुख चङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले पोखरा र लुम्बिनीमा स्थलगत अवलोकन गरी रेल निर्माणको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको थियो ।

नेपाल भ्रमणमा आएका चिनिया टोलीले उत्तर– दक्षिण रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न सकारात्मक देखिएको नेपाल रेल विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिए । बैठकमा नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले रेल निर्माणका लागि नेपाल सरकारले गरिरहेको तयारीबारे जानकारी गराएका थिए ।

नेपाल सरकारले रेल मार्ग निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटकै व्यवस्था गरेपछि चिनिया पक्ष यसको सम्भाव्यता अध्ययन गर्न सकारात्मक देखिएको हो । सोही क्रममा नेपाल भ्रमण आएको चिनिया रेलवे प्रशासनका प्राविधिकसहितको उच्चस्तरीय टोलीले काठमाडौं–पोखरा–लुम्बिनीसम्म जोड्ने रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेका हुन् । दुई देशले रेलमार्ग निर्माणका लागि भौगोलिक जटिलतालाई मुख्य चुनौतिका रुपमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्