भारत लैजाँदै गरेका चार युवतीको उद्धार, एक युवक पक्राउ



भारतको बाटो हुँदै कुबेत पठाइदिने प्रलोभन देखाएर एक युवाले चार युवतीलाई भारत लैजाँदै गरेको अवस्थामा महोत्तरी प्रहरीले बिहीबारराति पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका– ८ बस्ने सूर्यबहादुर कालिकोटेका छोरा २६ वर्षीय टेकबहादुर कालिकोटे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए।

पक्राउ परेका युवक कालिकोटेले सिन्धुपाल्चोक जिल्लाको हेलम्बू गाउँपालिका– ५ बस्ने २० वर्षीया उषा तामाङ, महाकाल गाउँपालिका– ७ बस्ने २० वर्षीया कुलमाया तामाङ, बाँसखर्क गाउँपालिका ३ बस्ने २० वर्षीया रञ्जना तामाङ र सिन्धुली जिल्लाको मरिणखोला गाउँपालिका– ५ बस्ने २२ वर्षीया कान्छीमाया तामाङलाई भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी उनीहरुको उद्धार गरेको प्रहरी उपरीक्षक कडायतले बताए।

जिल्लाको पश्चिममा पर्ने सम्सी सीमानाका हुँदै गएराति १० बजे चार युवतीसहित भारत बिहारको सीतामढी जिल्लास्थित कन्हमा शहर प्रवेश गर्न लागेको अवस्थामा सम्सी गाउँपालिका– ६ स्थित बाटोमा सीमा गस्तीमा रहेका प्रहरीको टोलीले शंका लागि जाँच गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कडायतले बताए।

जिल्ला प्रहरी कार्यालयमा ल्यइएका ती युवतीलाई अभिभावक बोलाएर घर पठाउने र उनीहरुलाई भारत लैजाने युवक कालिकोटेमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्