महिला कन्डम कसरी प्रयोग गर्ने (भिडियो सहित)



महिला कन्डम के हो ?

महिलाले योनिमा पसाएर लगाउने कन्डम नै महिला कन्डम हो । पहिले अर्थात् पहिलो जेनरेसन (FC 1) का महिला कन्डम पोलियुरिथिन, जुन एक किसिमको प्लास्टिक हो, बाट बनेका हुन्थे । यसको प्रयोग गर्दा चुइँकिने किसिमको आवाज आउने भएकाले धेरैले मन पराएनन् । अहिले सेकन्ड जेनरेसन (FC) का महिला कन्डम nitrile भनिने synthetic latex बाट बनेका हुन्छन् । यो यौनसम्पर्कका बेला तुलनात्मक रूपमा कम चुइँकिने खालको हुन्छ ।

यो एउटा नरम तथा खुकुलो किसिमको खोल हो । यसको दुवै छेउतिर एक–एकवटा लचिला रिङ हुन्छन् । एकातिर प्वाल हुन्छ भने अर्कातिर बन्द । बन्द भएतिरको रिङले यो महिला कन्डमलाई योनिभित्र पसाउन सजिलो पार्ने तथा यौन सम्पर्कका बेला योनिभित्र यसलाई अडाइराख्न मद्दत गर्छ । बाहिरी रिङ जुन केही ठूलो हुन्छ, योनिको बाहिरतिर बस्छ र यौन सम्पर्कका बेला महिलाको भगोष्ठ समेतलाई छोप्छ । यसरी योनिको बाहिरतिर पनि छोप्ने भएकाले यसले योनि तथा लिंगलाई सिधा सम्पर्कमा आउँन नदिई रोगहरू सर्नबाट जोगाउँछ ।

महिला कन्डमको फाइदा

यसले महिलालाई गर्भधारण हुनबाट मात्र जोगाउने नभै एचआईभी तथा यौन रोगहरू पनि सर्न दिँदैन । नेपालमा यौनसम्पर्कसम्बन्धी सबै अधिकार पुरुषमा मात्र भएकाले गर्भ निरोध वा जन्मान्तरसम्बन्धी कुरा गर्न पुरुषमा भर पर्नुपर्ने हुन्छ । फेरि आफ्नो लोग्नेलाई यौनरोग लागेकै भए पनि आफूलाई जोगाउन यौनसम्पर्कलाई महिलाले अस्वीकार गर्ने स्थिति छैन । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त महिलाहरूले आफ्नो सुरक्षा गर्न तथा जन्मान्तरका लागि पुरुषको इच्छामा मात्र भर

पर्नु पर्दैन ।

अर्को पक्ष, पुरुष कन्डम यौनसम्पर्क गर्ने बेलामा वा पाक्क्रीडाका बेलामा अर्थात पुरुषको लिङ्ग उत्तेजित भएपछि मात्र लगाउन सकिन्छ भने महिला कन्डम महिलाले ८ घण्टा अघिसम्म राख्न सक्छिन् ।

कसरी प्रयोग गर्ने ?

पुरुष कन्डमजस्तै सही तरिकाले प्रयोग गर्न सकिएन भने यसको प्रभावकारिता निकै घट्छ । त्यसैले यसको सही प्रयोगका सम्बन्धमा केही जान्नु तथा सावधानी अपनाउनु आवश्यक छ । थाहा भएकै कुरा हो, कन्डमको सही प्रयोग भएन भने फुट्न वा च्यातिन सक्छ ।

हुन त तपाईंले कसरी महिला कन्डम प्राप्त गर्नु भयो, थाहा भएन । सामान्यत: तपाईंले किन्नुभएको प्याकेटमा कसरी प्रयोग गर्ने भनेर जानकारी दिइएको हुन्छ । त्यसलाई राम्रोसँग अध्ययन गर्नुभै त्यसैअनुसार लगाउनुभए हुन्छ । अर्को उपाय तपाईंले यौन स्वास्थ्यमा कार्य गर्ने स्वास्थकर्मीबाट सहायता लिन सक्नुहुन्छ ।

 पहिलो कुरा, कतै यसको म्याद गुज्रिएको त छैन अनि राम्रो स्थितिमा छ कि छैन हेर्नुपर्छ ।

 कन्डम नच्यातिने गरी होसियारीका साथ प्याकेट खोल्नुपर्छ । नङ, दाँत, चिम्टी वा तिखा गहना वा कैंची प्रयोग गर्नु हुँदैन ।

 अब, आफूलाई जसो गर्दा सजिलो हुन्छ त्यसअनुसार टुक्रुक्क (दिसा–पिसाब गर्ने) बस्ने वा उत्तानो पर्ने वा उभिने र त्यस्तै यसको भित्री रिङ (बन्द छेउतिरको) लाई थिच्ने र योनिमा पसाउने । यसलाई योनिभित्र सकेसम्म पसाउनुपर्छ र पाठेघरको मुखसम्मै धकेल्नुपर्छ । यसो गर्ने क्रममा कन्डम नबटारियोस भनेर विशेष ध्यान पुर्‍याउनुपर्छ । बाहिरी (खुलाछेउ तिर) रिङ योनिको बाहिरतिर भगोष्ठलाई राम्रोसँग छोप्ने गरी राख्नुपर्छ ।

 अर्को कुरा, यौनसम्पर्क सुरु गर्दा लिङ्ग महिला कन्डमभित्र नै परेको छ भनी निश्चित गर्नु अत्यावश्यक छ । कन्डमको बाहिरतिरबाटै योनिमा नपसोस् भनेर ध्यान दिनुपर्छ, नत्र यसको प्रयोगबाट कुनै फाइदा हुँदैन । तपाईंले लिङ्गलाई समातेर ठीक तरिकाले कन्डम भित्रै पसाएर मद्दत गर्न सक्नुहुन्छ ।

 यौनसम्पर्कपछि लिङ्ग बाहिर निकाल्नासाथ बाहिरी रिङलाई बटार्नुहोस् जसले गर्दा वीर्य बाहिरतिर नचुहिओस् । योनिबाट अब बिस्तारै बाहिर निकाल्नुहोस् वा फोहोर फाल्ने भाँडोमा केही कुराले बेरेर फाल्नुहोस् ।

 त्यसैगरी यसलाई प्रयोग गर्नुभन्दा पहिले तथा प्रयोग गरिसकेपछि लिंग तथा योनिको सिधा सम्पर्क नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

भिडियो

प्रतिक्रिया दिनुहोस्