प्रेम असन्तोषका कारण सामूहिक हत्या



 

बस्ती लासारी, (एजेन्सी)
पाकिस्तानी युवती आसिया विवीले आफ्ना अभिभावकलाई यदि जबर्जस्ती आफूलाई मन नपर्ने काकाको छोरोसँग विवाह गराइदिएको खण्डमा त्यसको विरोधमा आफूले जस्तोसुकै कदम उठाउन सकने चेतावनी दिएकी थिइन्। उनले आफ्नो पहिल्यै प्रेम सम्बन्ध रहेकाले आफूले चाहेकै व्यक्तिसँग विवाह गर्न दिन अनुनय गरेकी थिइन्।
अहिले आएर अनुसन्धानकर्ताहरूले मध्यपाकिस्तानको विकट टापु गाउँ वस्ती लासारीमा आसियालाई उनको पति मोहम्मद अमजदको हत्या गर्न उनकै प्रेमीले षडयन्त्र रचेको रहस्य पत्ता लगाएका छन्।

सोहीअनुसार आसियाले अमजदलाई खुवाउन दूधमा मुसा मार्ने औषधि राखेकी थिइन्। संयोगले अमजद दूध पिएर पनि बाँच्न सफल भएका छन्। तर विवाहकै एक परम्पराअनुसार आसियाले यसरी विषाक्त दूध पस्कँदा उनको परिवारका अन्य १७ जना निर्दोष व्यक्तिको ज्यान गएको छ।
मारिनेमा ७ देखि १२ वर्षका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ। आसियाले कुल २७ जनालाई दूध खान दिएकी थिइन्। यस घटनामा अमजदका दुई जना भाइ र तीन जना सालीलगायत अन्य नातेदारको ज्यान गएको थियो। उनलाई प्रहरीले ३१ अक्टोबरमा गिरफ्तार गरेको हो।
उनले मुद्दाको सुनुवाइका क्रममा न्यायाधीशसमक्ष इस्लाम धर्मअनुसार पनि आफूले चोहेको पति रोज्न पाउने व्यवस्था छँदा छँदै आफूलाई जबर्जस्ती गरिएको गुनासो गरेकी छिन्।

प्रहरीले आसिया र उनका ब्वायफ्रेन्ड साहिद लासारीलाई हत्याको अभियोग लगाइएको र यस षड्यन्त्रमा सरिक रहेको आशंकामा आसियाकी ४९ वर्षीया काकी जरिना बेगमलाई पनि गिरफ्तार गरिएको बुधबार जनाएको छ। दूध पिएर सख्त घाइते पतिको अस्पतालमा उपचार भइरहँदा पनि घरमा सामान्य र निश्चिन्त रहेकीले प्रहरीले आसियामाथि शंका गरेको थियो।

प्रतिक्रिया दिनुहोस्