कोलम्बियामा बाह्र टन कोकिन बरामद



बोगोटा, (एजेन्सी)
कोलम्बियाली प्रहरीले बिहीबार १२ टन कोकिन बरामद गरेको छ। त्यहाँको इतिहासमै यति ठूलो परिमाणमा लागूऔषध कोकिन बरामद भएको पहिलो पटक हो। कोलम्बियाको उत्तरी भागमा केराबारीमा सो कोकिन गाडिएको अवस्थामा फेला पारिएको हो।

सो क्षेत्र अमेरिकामा लागूऔषध तस्करी हुने मार्गनजिक रहेको छ। राष्ट्रपति हुवाँ म्यानुयल सान्तोसले एउटै प्रहरी कारबाहीमा यति धेरे परिमाणमा लागूऔषध भेटिएको यो पहिलो घटना भएको बताएका छन्।
शक्तिशाली लागूऔषध तस्कर समूह ‘गल्फ क्लान’ विरुद्धको विशेष अभियानका दौरान यो कोकिन फेला परेको प्रहरीले जनाएको छ। प्रहरी यो कोकिन कोलम्बियाका अत्यन्तै खतरनाक आपराधिक समूहमध्ये एक गल्फ क्लानका नाइके दाइरो उसुगा उर्फ ओटोनियलको भएको जानकारी सञ्चारमाध्यमलाई दिएको छ।

वर्षौंदेखि सुरक्षाफौजले ओटोनियललाई पक्रने कोसिस गर्दै आएको हो। प्रहरीले उक्त परिमाणको कोकिनको वर्तमान अन्तर्राष्ट्रिय मूल्यअनुसार करिब ३६ करोड अमेरिकी डलर पर्ने तथा यस सम्बन्धमा चार जना व्यक्तिलाई पनि गिरफ्तार गरिएको पनि जनाएको छ। यस वर्षको अहिलेसम्म कोलोम्बियाली सुरक्षा फोजले योसमेत कुल ३ सय ६२ टन कोकिन बरामद गरिसकेको छ।

सन् २०१६ मा त्यहँँ झन्डै ८ सय ६६ टन कोकिन उत्पादन भएको अनुमान गरिएको छ। गत दुई महिनाभित्र मात्र एन्टिओक्बियामा सुरक्षा फौजले २० टन कोकिन बरामद गरिसकेको छ। गल्फ क्लान सन् २००६ मा दक्षिणपन्थी अर्ध सैनिक समूहबाट गठन भएको हो।

गत सेप्टेम्बरमा ओटोनियलले आफूले सरकारसमक्ष आत्मसमर्पण गर्न चाहेको बताएका थिए। कोलम्बियाली सरकारले यस वर्ष अहिलेसम्ममा १ हजार ५ सय जनाभन्दा बढी गल्फ क्लानका सदस्यलाई गिरफ्तार गरिसकेको बताएको छ। केही समयअघि मात्र यसका दोस्रो प्रमुख नाइके सुरक्षाकर्मीद्वारा मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्