नुवाकोटका प्रमुख दलको चुनावी कार्यक्रम तीव्र



नेपाल समाचारपत्र
नुवाकोट
निर्वाचन नजिकिएसँगै नुवाकोटका राजनीतिक दल र उम्मेदवार गाउँ⁄गाउँमा सभा र भेटघाट गर्दै मतदातासँग आफ्नो पक्षमा मत माग्दै हिँडेका छन्। मौसम चिसिए पनि चुनावी सरगर्मी भने तातेको छ। गाउँबासी मेलापातमा रहने समय भएकाले उम्मेदवार पनि गाउँमा भेला गर्दै हिँड्ने र किसानलाई मेलापातमै भेटेर चुनावी अभियान सञ्चालन गरिरहेको देखिन्छ।

वाम गठबन्धनका उम्मेदवार नुवाकोटको गाउँबस्तीमा सभा गरिरहेका छन्। सदरमुकाम विदुर आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाट र किसान मतदातासँग गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रममा व्यस्त रहेको नेकपा एमालेका प्रदेशसभा क्षेत्र नं २ का उम्मेदवार नारायण खतिवडाले बताउनुभयो।

लोकतान्त्रिक गठबन्धन तथा नेपाली कांग्रेसका क्षेत्र नं २ का उम्मेदवार अर्जुजनसिंह केसी, क्षेत्र नं २ ‘क’ का उम्मेदवार जगदीश्वरनरसिंह केसी पनि नुवाकोटका विभिन्न गाउँमा दिउँसो सभा र बेलुका कार्यकर्ता भेटघाटमा व्यस्त भएको नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं २ ‘क’ का उम्मेदवार जगदीश्वरनरसिंह केसीले बताउनुभयो। लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुवैले भूकम्पपीडितको पुनर्निर्माण, कृषि व्यावसायिक क्षेत्र, पर्यटनको पूर्वाधार विकास र आम्दानी बढाउने योजना, सडक योजनाको निर्माणलगायतका विषयलाई चुनावी नारा बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन्।

प्रतिनिधिसभाको २ निर्वाचन क्षेत्र र प्रदेशसभामा ४ निर्वाचन क्षेत्र रहेको नुवाकोटमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। प्रतिनिधिसभा क्षेत्र नं २ मा १ लाख २ हजार ९ सय ४ मतदाता रहेका छन्। यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख ५ हजार २ सय ८७ मतदाता रहेका छन्।

यसै गरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नारायण खतिवडा र लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुजनसिंह कसी उम्मेदवार हुनुभएको छ।

प्रतिनिधिसभा क्षेत्र नं १ वाम गठबन्धनबाट माओवादीका हितबहादुर तामाङ र लोकतान्त्रिक गठबन्धनबाट पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता रामशरण महत चुनावी मैदानमा उत्रिनुभएको छ। दुई पूर्व मन्त्रीबीचको प्रतिस्पर्धाले गर्दा नु्वाकोट क्षेत्र नं १ निकै चर्चाको विषय बनेको छ। गाउँघर मेलापात र चिया पसलमा पनि चुनावमा कसले बाजी मार्ला भन्ने चर्चा शुरू भएको छ।

प्रदेशसभामा वाम गठबन्धनमा नेकपा एमाले र माओवादी केन्द्रले २⁄२ क्षेत्र भागबन्डा गरेका छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले ४ जना उम्मेदवार उठाएको छ।

जनताकै भावनाअनुसार उम्मेदवारी दिएको हुँः शाक्य

तपाईंको उम्मेदवारी किन ?

जनताको चाहनाअनुसार नै मेरो उम्मेदवारी हो। सधैं जनताको साथ र सहयोग पाइरहेको मैले ललितपुरको सम्पदाको धनी पाटन क्षेत्रको विकासको लागि उम्मेदवारी दिएको हुँ। व्यवस्थित र एकीकृत शहर बनाउने परिकल्पनाअनुसार मैले उम्मेदवारी दिएको हँु। ललितपुर महानगरपालिकाको वडा नम्बर ६ देखि ९, ११, १२, १६ र १९ वडाका करिब ३७ हजार जनताको मन जितेर जिल्लाको समग्र विकास गर्ने मेरो चाहनाअनुसार उम्मेदवारी दिएको हँु। यसअघि दुई पटकसम्म वडाअध्यक्ष भएर जनताको समस्याप्रति समर्पित भइसकेको छु। वाम गठबन्धनबाट उम्मेदवारी दिएको मैले सबैको मत पाएर विजयी हुने अपेक्षा गरेको छु।

चुनावी योजना के के छन् ?

योजना त थुप्रै छन्। खोक्रो योजना बाँडेर क्षेत्रको विकास गर्नुभन्दा पूरा गर्न सक्ने योजना अघि सारेर विकास गर्नु मेरो लक्ष्य हो। खानेपानीको स्रोत पहिचना, वृद्ध–वृद्धाको सम्मान, पूर्वाधार विकाससहितको व्यवस्थित र एकीकृत अवधारणा अघि बढाएको छु। पर्यटकीय नगरी विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रको पूर्वाधार विकास, पर्यटकलाई सुविधा, बाटोघाटो, पाटीपौवा, महिला, बालबालिका, वृद्धवृद्धाको उचित सम्मान, युवा स्वरोजगारका लागि सीपमूलक तालिमको विकास, बजार पर्यटकीय बजार व्यवस्थापन, स्वास्थ्य शिक्षालगायतका जनताको प्रत्यक्ष सरोकार रहेका विषयमा विशेष कार्य योजना ल्याएर कार्यान्वयन गर्ने योजना रहेका छन्।

धर्म संस्कृतिको विकास मा नि ?

त्यो त मेरो छुट्टै चुनावी नारा र योजना हो। कला संस्कृतिले भरिभराउ ललितपुरको यो क्षेत्रको विकासमा लागि मैले विशेष योजना अघि सारेको छु। विभिन्न संस्कृति र भाषाको उत्थान गर्नु मेरो प्रमुख दायित्व हो। उत्कृष्ट कला संस्कृतिको महत्त्वलाई विश्वसामु परिचय दिनु मेरो प्रमुख दायित्व हो। बौद्ध विहार, देवीदेवताका मन्दिर, पाटीपौवा, सांस्कृतिक गुठीको विकास गर्नु मेरो चुनावी मुद्दा हो। भाषा, लिपी साहित्य र जातिको उत्थान गर्नु मेरो पहिलो काम हो। भाषा र धर्मको संस्कारको विकास विभिन्न संस्कृति झल्कने प्रतिष्ठानको निर्माणलगायतका विषय मेरो मुल एजेन्डा हो। गुठीहरूको विकास र ती संस्थासँग समन्वय गरी अघि बढ्नु मेरो दायित्व हो।

प्रचार अभियान कसरी सञ्चालन भएको छ ?

अहिले त घरदैलो गर्दैमा व्यस्त छु, व्यक्तिसँग भेटघाट भएपछि घरदैलो अभियान कार्यक्रम गर्नेछौं। मंसिर २ गतेदेखि घरदैलो अभियान सञ्चालन गर्नेछौं। अहिले प्रतिबद्धतापत्र बनाउने काममा व्यक्त छौं। घरदैलोसँगै जनतासँग प्रतिज्ञा र प्रतिबद्धता गर्नेछौं। संयुक्त वाम गठबन्धनको उम्मेदवार भएको नाताले दुवै पार्टी एकजुट भएर चुनावी प्रचारमा लाग्नेछौं। सबै कमरेडको कार्यविभाजन भइसकेको छ, अब प्रचारमा लाग्नेछौं।

तपाईंको विगत ?

२०३८ सालमा नेकपा मालेको योङलिगबाट राजनीतिमा प्रवेश गरें। पाटन क्याम्पसमा अध्ययनका क्रममा क्याम्पस प्रारम्भिक कमिटिको उपाध्यक्ष, प्ररायुसं३, जनसांस्कृतिक संघको सचिव, ललितपुर उपनपा साविकको वडा सदस्य हुँदै दुई पटक वडाअध्यक्षको भूमिका निर्वाह गरिसकेको छु। अहिले वाम एकताको प्रदेश २ ‘ख’ को उम्मेदवार बनेको छु।

 

समृद्ध ललितपुरका लागि मेरो उम्मेदवारीः खड्का
ललितपुर क्षेत्र नम्बर–३ का प्रदेश ‘ख’ का उम्मेदवार जीवन खड्काले आफ्नो उम्मेदवारी समृद्धिका लागि भएको बताउनुभएको छ। उम्मेदवारी घोषणा भएपछि व्यक्तिगत भेटघाटमा व्यस्त उहाँ नेकपा एमाले ललितपुरका ३ नम्बर प्रदेश सदस्य हुनुहुन्छ। पार्टीको घोषणापत्रलाई मूल आधार बनाउँदै आफूले प्रतिबद्धतापत्र तयारीमा लाग्नुभएको उहाँ चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ। ललितपुर महानगरपालिकाका १० वडा रहेको सो क्षेत्रअन्तर्गत वडा नम्बर १ देखि ४, १०, १८ देखि २२ र २५ वडा समावेश भएका छन्। अहिले कोठे भेला व्यक्तिगत प्रचार समिति निर्माणलगायतका काममा व्यस्त रहेका उहाँ आफूले सो क्षेत्रमा निर्वाचन जित्ने सुनिश्चित आधार रहेको बताउनुहुन्छ।

आफू निर्वाचित भएका सो क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, युवा स्वरोजगारी, वृद्धभत्तालगायतका विषयमा विशेष ध्यान दिने बताउनुहुन्छ। ‘मेरो उम्मेदवारी ललितपुरको ३ नम्बर क्षेत्रको विकासका लागि हो।’ सुगम भए पनि केही दुर्गम देखिएका सो क्षेत्रका जनतालाई सेवा दिने आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै उहाँ भन्नुहन्छ– ‘म जनताको सधैं घरदैलोमा हिँड्ने नेता हुँ, जनताको विकास नै मेरो पहिलो आधार हो।’ कात्तिक २३ गतेदेखि वडास्तरीय घरदैलो अभियान सञ्चालन गर्ने तयारी रहेको बताउँदै सबै कार्यालयमा वाम गठबन्धनको संयुक्त कार्यालय स्थापना गर्ने उहाँले बताउनुभएको छ। सो क्षेत्रका राप्रपाका युवा नेतासहितको समूह नेकपा एमालेमा प्रवेश गरेका कारण सो क्षेत्रमा एमालेको प्रभाव देखिएको छ। संयुक्त उम्मेदवार भएकाले खड्काको जनलहर बढेको युवा नेता थापाले बताउनुभयो।

विकास र पूर्वाधार पहिलो
आधारः बानियाँ
विकास र पूर्वाधार नै मेरो उम्मेदवारीको मूल आधार हो। विकास नपुगेका क्षेत्रमा विकासको मुल फुटाउने र सेवाग्राही जनतालाई थप सेवा दिने मेरो उद्देश्य हो। ललितपुर महानगरपालिकाअन्तर्गत वडा नम्बर १ देखि ४, १०,१८,२० देखि २२ र २५ वडाका करिब ४५ हजार मतदाता रहेको सो क्षेत्रमा नेपाली कांग्रेसको अवस्था मजबुत देखिन्छ। २०४६ सालको जनआन्दोलनको नेतृत्व गर्नुभएका बानियाँ कुशल राजनितिज्ञको रुपमा परिचित हुनुहुन्छ। उहाँले २०४९ देखि ०५४ सालसम्म सैबु गाविसको अध्यक्ष, ०५१ सालमा ललितपुर जिल्ला सदस्य,०५६ सालमा जिल्ला पार्टी सहसचिव हँुदै ०६२ सालमा किसान संघ ललितपुरका जिल्ला अध्यक्षको भूमिका निर्वाह गसिक्नुभएको छ। साथै १३औं महाअधिवेशनबाट नगर सभापतिको भूमिकामा हालसम्म रहनुभएको छ।

पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्दै जाँदा आफ्नो क्षेत्रको सांसदको टिकट पाउन सफल भएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘जनताको सेवाका कारण मैले टिकट पाएको हुँ।’ पार्टीको घोषणापत्रमा उल्लेख भएअनुसार आफूले काम गर्दै जाने उहाँको धारणा छ। सांसद मदन अमात्यको घोषणापत्रमा उल्लेख भएका विषयवस्तुलाई अक्षरसः पालना गर्दै चुनावी प्रचारमा लाग्नुभएका उम्मेदवार बानियाँ आफ्नो विजय सुनिश्चित भएको दाबी गर्नुहुन्छ। मैले जनतासामु जारी गरेको प्रतिबद्धतामा खानेपानी, बाटोघाटो, पर्यटन क्षेत्रको विकास, पूर्वाधार विकास, मल नपाएर असन्तुष्ट भएका किसानलाई मल उपलब्ध गराउने, वृद्धवृद्धाको भत्तामा वृद्धि गर्नेलगायतका विकास योजनाका काम रहेका छन्।

वास्तवमा भन्नुपर्दा पर्यटनको अति सम्भावना रहेको यस क्षेत्रलाई पर्यटकीय विकासका लागि महत्त्वपूर्ण काम गर्ने उहाँको योजना रहेको छ। संविधानले दिएको अधिकारअनुरुप प्रदेशसभामा आफूले नयाँ–नयाँ योजना स्थापित गराएर छाड्ने प्रतिबद्धता जनाउँदै जनचाहनाअनुसार आफूले नयाँ योजना कार्यान्वयन गर्ने बताउनुहुन्छ।उहाँले भन्नुभयो– ‘अहिले व्यक्तिगत भेटघाट, कोठे बैठक, सम्पर्क कार्यालय स्थापनामा व्यस्त रहेका छौं, २५ गतेदेखि घरदैलो अभियान शुरू गर्नेछौं।’

प्रतिक्रिया दिनुहोस्