नेपाल टेलिकमभन्दा ५ महिनापछि फोरजी सेवा थालेको एनसेलले देशभरका १९ शहरमा विस्तार गरिसकेको समाचार आउँछ तर नेपाल टेलिकम यो मामिलामा निदाइरहेको छ। उल्टो नेपाल टेलिकमले अन्य शहरमा फोरजी सेवा पुर्याउन एक वर्ष लाग्ने बताएको खबरहरु समाचारमा आउँदा सम्बन्धित निकायहरु कसरी चयनको निदमा सुत्न सक्छन् ?

टेकिलम तीव्रगतिको इन्टरनेटमा आधारित सेवा विस्तारमा आक्रमक हुन जरुरी छ। टेलिकम फोरजी सेवा विस्तारमा ढिलाइ भएको कारण मजस्ता लाखौं मर्कामा परेका छौं। तीव्रगतिको डाटा इन्टरनेट भएकाले सेवा विस्तार नभएका शहरहरुमा टेलिकमका सेवाग्राही अझै पनि चासोका साथ यसलाई कुरिरहेका छौं। समयमै सेवा विस्तार गर्न सकेको भए टेलिकमको डाटा उपयोगको दर पनि बढ्ने थियो। त्यसले टेलिकमको नाफामा पनि सकारात्मक प्रभाव छाड्न सक्थ्यो। तर यसो हुन सकेको छैन। यसमा पनि केही कैफियत भएको हुनसक्ने शंका गर्ने ठाउँ भेटिन्छ। टेकिलमका अधिकारीहरुले फोरजी सेवा विस्तारमा किन ढिलाइ गरे भन्ने प्रश्न जताततै उब्जिएको छ। फोरजीको प्रभावकारिता र फाइदाबारे राम्रो जानकार हुँदाहुँदै प्रक्रियाको जटिलाताकै कारण देखाएर सेवा विस्तारमा गरिएको ढिलाइ शंकास्पद भएको छ।

प्रतिस्पर्धी भने तीव्रगतिमा सेवा विस्तारमा लागेको छ। नेपाल टेलिकमलाई यसबारेमा मतलव छैन। सेवाको शुरुवातको समयमा टेलिकमले एक वर्षभित्रै देशभर फोरजी पुर्याउने घोषणा गरेको थियो। त्यो पनि कता थाङ्नामै सुताइदिएका छन्। फोरजी ‘फोर्थ जेनेरेसन वायरलेस’ अर्थात् चौथो पुस्ताको ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रविधिमा सबैभन्दा पछिल्लो प्रविधि हो। पछिल्लो प्रविधि भएको हुनाले स्वाभाविकरुपमा फोरजी थ्रीजीभन्दा तीव्रगतिको हुन्छ। आईटीयुको मापदण्डअनुसार १ सय मेगाबाइट्स प्रतिसेकेन्ड (एमबीपीएस) गतिको इन्टरनेटसहितको सेवालाई फोरजी भनिन्छ। विभिन्न देशमा टेलिकम कम्पनीरुले १ सय एमबीभन्दा कम क्षमतामै फोरजी सेवाका रुपमा चलाइरहेका छन्। नेपालका सेवाप्रदायकले भने औसत ३५ एमबीपीएसमा फोरजी चलाइरहेका छन्।

– सुलभ सिल्पाकार, काठमाडौं।
(आईटीको विद्यार्थी)
के हो धार्मिक सम्प्रदाय ?
धार्मिक आस्था मानिसको पारिवारिक स्थिति, आफ्नो अध्ययन र संगतबाट प्राप्त हुने विषय हो। कुनै पनि धार्मिक सम्प्रदायको निर्माण ठूल्ठूला तपस्या, बलिदान, रक्तपातबाट भएको छ। परमेश्वर, ईश्वर, भगवान् वा अल्लाह जे भने पनि उनीहरु महापुरुष थिए र उनीहरुले कठोर तपस्या र आत्मबलिदानबाट मानव उपयोगी विचारको प्रतिपादन गरेका हुन्। आजभन्दा करिब ५ हजार वर्षअगाडि गोठाला परिवारमा जन्मेका कृष्णले त्यति बेलाका निरंकुश शासकहरुको दोहोलो मात्र काढेनन्, मानव उपयोगी दर्शन पनि अगाडि सारे। गोठालाहरुको संरक्षण, सुदामाजस्ता भिखारीसँगको उनको मित्रता र देश निकालामा परेका पाण्डवहरुको पक्षपोषण उनले गरेका राम्रा कामहरु हुन्।

स्वाभाविकरुपमा उनका अनुयायीको संख्या बढ्दै गयो र त्यसले एउटा धार्मिक सम्प्रदायको रुप लियो। त्यसको करिब २५ सय वर्षपछि हिन्दू धार्मिक राजपरिवारमा जन्मेका बुद्धले राजपाठ त्यागेर मानव मात्रको हित र कल्याणका लागि आजीवन तपस्वी बने र ज्ञान प्राप्त गरे। उनले प्रतिपादन गरेको धर्मको सर्वोपरि मान्यता सबैलाई माया गर भन्ने थियो। अर्का महापुरुष यशु ख्रिष्ट जन्मनुअगावै बुद्धको विचारले एसियाका अधिकांश भूभाग मात्र होइन, अलेक्जेडियासम्म आफ्नो प्रभाव जमाइसकेको थियो। महापुरुष यशु ख्रिष्टले त आफ्नो सम्पूर्ण जीवन दुःखमा परेका मानिसको उद्धारमा खर्चिएको देखिन्छ। उनी जन्मिएको समाजमा विद्यमान शोषण र अत्याचारको निशानामा आफैं पर्दासमेत त्यसको उनले कुनै प्रवाह गरेनन्। उनी प्रष्टरुपमा दुःखीको पक्षमा थिए भन्ने कुरा उनका दुईवटा भनाइबाट देख्न सकिन्छ– ‘जति सियोको टुप्पोमा उँट छिराउन सजिलो छ, त्यति सजिलो धनीलाई परमेश्वरको राज्यमा छिर्न सजिलो छैन (म्याथ्यू १९ः२०)’ र ‘फ्याउराको लुक्ने दुलो छ, आकाशमा उड्ने चराहरुको गुँड छ तर मेरो टाउको लुकाउने ठाउँसमेत छैन (म्याथ्यू ८ः१९–२०)।

यी भनाइले उनको पारिवारिक स्थिति र वर्गीय दृष्टिकोण प्रस्ट हुन्छ। मुस्लिम धर्मका प्रवद्र्धक पैगम्बर महम्मदका समान दृष्टान्तहरु पाइन्छन्। यी प्रसंग उल्लेख गर्नुको तात्पर्य के हो भने, हाल संसारमा अस्तित्वमा रहेका धर्महरुको शुरुवात दुःख र अन्यायमा परेकाको हित एवं उद्धार हेतु भएको थियो। त्यसकारण एउटा धर्म अँगाल्दा विछट्टै राम्रो हुने र अर्को धर्म अँगाल्दाचाहिँ अपराध हुने जुन तर्क बेला–बेलामा सुनिन्छ, त्यो तर्क निन्दनीय छ। आज युरोप र अमेरिकामा पूर्वीय धर्म दर्शनप्रति चासो बढेको देखिन्छ भने यशु ख्रिष्टले प्रतिपादन गरेको धर्मदर्शनले नेपाललगायत विभिन्न एसियाली मुलुकमा मानिसहरुको मन आकर्षित गरिरहेको छ। यो नितान्त स्वाभाविक विषय हो।
एउटा सानो गाउँजस्तो विश्वमा यस्ता प्रभावहरुलाई कुनै राज्य, सरकार वा पार्टीको बुताले रोक्न सक्दैन। कसैले रोक्ने प्रयास गरे पनि उसको राजनीतिक रोटी त क्षणिकरुपमा सेकिएला तर त्यसले मानवमात्रको कल्याणमा दीर्घकालीन कुठाराघात गर्दछ। आफूले मन पराएको धर्म मान्न पाउनु व्यक्तिको नैसर्गिक अधिकार हो भन्ने बुझेकाहरुबाटै बेला–बेलाम सो अधिकारविरोधी टिप्पणी सुनिनु दुःखद विषय हो। धर्म सापेक्षताको माग गर्ने पार्टी र धर्म निरपेक्षता लागू गर्ने पार्टीभित्रका हिन्दुवादीहरुले बुझे हुन्छ, अब मुलुक अँध्यारो विगततिर फर्कन सक्दैन। निःसन्देह, अबको राजनीति एजेन्डाको आधारमा हुन्छ, धर्मको नाममा होइन।

– माधव शर्मा, अर्जे, गुल्मी
पुराना थोत्रा गाडी हटाऊ
नेपाल सरकारले २० बर्से पुराना सवारीसाधन हटाउने तथा खारेज गर्ने भनिए पनि २० वर्ष पुगेका निजी तथा सार्वजनिक भाडाका साधनहरु अहिले पनि निर्बाधरुपमा सञ्चालनमा आएका छन्। कार्यान्वयन किन हुन सकेको छैन ? सम्बन्धित निकायको ध्यान किन नगएको ? नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा यात्रुवर्गले नराम्रोसँग मार खेप्नुपरेको छ। सार्वजनिक सवारीसाधनमा भएको सिन्डिकेट नहटाइदिँदा नयाँ व्यवसायीले चाहँदाचाहँदै पनि लगानी गरी सेवा सञ्चालन गर्न पाएका छैनन्। स्वदेशी तथा विदेशी यात्रुले कष्टपूर्ण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। पुरानो दर्ता गरेकै नम्बरमा पुनः दर्ता खोलिदिँदा सिन्डिकेट हट्दैन र थप गाडी भित्रिन पाउँदैनन्। त्यसैले सम्बन्धित पक्षको ध्यान जाओस् भन्न चाहन्छु।
– सुदर्शन केसी, गोरखा, हालः कीर्तिपुर, काठमाडौं

LEAVE A REPLY