परेवादेखि मुसा पाल्नेसम्म प्रहरीको निगरानीमा, वन्यजन्तुको चोरी शिकारीमा संलग्न ५ सय ४० पक्राउ



प्रशान्त वली, काठमाडौं
तपाईंले व्यावसायिक तवरबाट आफ्नै घरमा ठूलो मात्रामा वनमा पाइने जनावर राष्ट्रिय निकुञ्जको अनुमति नलिएर पाल्नुभएको छ भने ख्याल गर्नुहोस प्रहरीको फन्दामा पर्नुहोला।

राष्ट्रिय निकुञ्जको अनुमतिबिना वन्यजन्तु पाल्न नमिल्ने र कसैले पालेको छ भने अवैधानिक ठानिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बताएको छ। गैरकानुनी तरिकाले वन्यजन्तुको चोरी शिकारी, गैंडाको खाग बेच्नेलगायत अन्य वन्यजन्तुको अवैध व्यापारमा संलग्न रहेका ५ सय जनालाई पक्राउ गरी कारबाही थालिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ।

सीआईबीको पछिल्लो विवरणअनुसार राष्ट्रिय निकुञ्जको स्वीकृतिबिना गैरकानुनी तरिकाले वन्यजन्तु घरमै पाल्ने र गैरकानुनीरूपमा वन्यजन्तुको व्यापार गरेको अभियोगमा ५ सय ४० जना पक्राउ परेका छन्। ती सबैलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने विभागले बताएको छ। जसमध्ये ५ सय १२ जना पुरुष छन्। तीमध्ये ४ सय ८२ जना स्वदेशी र ३० जना विदेशी रहेका छन्।

यस्तै २८ जना महिला पक्राउ परेका छन्। तीमध्ये २७ जना स्वदेशी र १ जना विदेशी महिला रहेको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ। ब्युरोका अनुसार गैंडाको खाग ८ वटा, गैंडाको खुर १३ वटा, बाघको छाला २ वटा, सुनाखरी ४ किलो ४ सय ग्राम, हात्तीको दाह्राबाट बनेको देवीको जस्तो देखिने आकृति एक थान नियन्त्रणमा लिइएको छ।

हाब्रेको छाला ११ थान, ओंतको छाला एक थान, शालकको खपटा १३ केजी, बाघको हड्डी १ केजी २ सय ग्राम, कस्तुरीको विना २ थान, शालक जीवित १ थान, हुचिल जीवित २ थान, चितुवाको छाला ३ थान, ध्वाँसे चितुवाको छाला १ केजी ५ सय ग्राम बरामद गरिएको छ।
हात्तीको दाह्राबाट निर्मित कृष्णको मूर्ति १ थान, सुनाखरी नामक जडीबुटी ९ केजी ३ सय ६४ ग्राम, गैंडाको खाग १ थान सामग्री बरामद गरिएको छ।

पशुपक्षीअन्तर्गत परेवा १ सय ५२, खरायो १ सय ८, सुगा ९५ वटा, फिन्च ८४, मुनिया ८३, धानचरा ७०, मुसा ५१, बजरिजर ३१ , फेन्सी परेवा २८, सानो फिन्च २०, कालिज १४, ककातिल ११, लवबर्ड १०, बट्टाई १०, सिल्की कुखुरा ९, विनियक ६, मेडियम फिन्च ६, पलिस ६, फाइटर ४, लक्का परेवा ३, मैना २, जावा २, सारङ १ वटा बरामद गरिएको ब्युरोले जनाएको छ।

वन्यजन्तुको चोरी शिकारीको प्रकृति हेरेर दोषी ठहरिए ३ महिनादेखि ९ महिनासम्म कैद र ३० हजार रूपियाँसम्म जरिवाना वा १० लाख रूपियाँ जरिवाना हुन सक्ने विभागका सूचना अधिकारी नारायण रूपाखेतीले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले निर्दिष्ट गरेबमोजिम घरमा वन्यजन्तु पाल्नु पनि गैरकानुनी कार्य हो। ती सबैलाई ऐनको दफा २६ अनुसार कारबाही हुन्छ। गत वर्षको चैत १७ गते ऐन संशोधन भएपछि कानुनी मार्ग स्पष्ट भएको हो।’
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तुसम्बन्धी कानुनले बर्जित गरेको वन्यजन्तुको शिकार गर्ने, निकुन्ज तथा आरक्षमा गैरकानुनी रूपमा प्रवेश गर्नेलगायतका कामलाई वन्यजन्तुसम्बन्धी अपराधका रूपमा लिने गरिएको छ। निकुञ्जबाट अधिकार प्राप्त अधिकारीबाट लिखित अनुमति नलिई वन्यजन्तु घरमा पाल्न नपाइनेसमेत ऐनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्