नेपाः पार्टीका उम्मेदवार नेवारमा सीमित रहेनन्



नेपाल समाचारपत्र
काठमाडौं
नेवार समुदायको एक मात्र आधिकारिक पार्टी दाबी गर्दै आएको नेपाः पार्टीको यसपटकको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनतर्फका उम्मेदवार नेवारहरूमा मात्र सीमित रहेनन्।

पहिलो र दोस्रो संविधानसभा सो पार्टीबाट नेवारहरूले मात्र उम्मेदवारी दिँदै आएका थिए। यसपटक सो पार्टीबाट उम्मेदवारी दिनेहरूमा खस आर्य, दलित र मुस्लिम, मधेसी समुदायका पनि छन्। सो पार्टीले प्रदेशसभाको समानुपातिकतर्फ २० र प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ र प्रदेशसभातर्फ ३ जनाले उम्मेदवारी दिएका छन्। सबै उम्मेदवार प्रदेश नम्बर ३ मा केन्द्रित छन्। पार्टी अध्यक्ष विजयप्रकाश सैंजु काठमाडौं क्षेत्र नम्बर ७ मा चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।

पहिलो संविधानसभाको चुनाव नजिकिँदै गर्दा नेवार समुदायको हक अधिकारका लागि भन्दै सो पार्टी स्थापना गरिएको थियो। यसपटक संविधानबमोजिम जातीय ‘क्लस्टर’ मिलाएर उम्मेदवारी दिनुपर्ने बाध्यात्मक भएकाले नेवार उम्मेदवार मात्र सो पार्टी सीमित नरहेको अध्यक्ष सैंजुले जानकारी दिनुभयो। अघिपछि नेपाल भाषामा मात्र कार्यक्रम चलाउने सो पार्टीले मंगलबार आयोजित घोषणापत्र सार्वजनिक समारोहमा नेपाली भाषामा कार्यक्रम सञ्चालन गर्नुले पनि त्यसको संकेत गरेको थियो। ‘यसपटक नेवार सरोकारलाई राष्ट्रिय परिवेशको पृष्ठभूमिमा उठाउने कोसिस गरेको छु –अध्यक्ष सैंजुले भन्नुभयो।

पार्टीले वाम र लोकतन्त्रवादी आफ्नो प्रहारको निशाना बनाएको छ। दुवै छुट्टाछुट्टै गठबन्धनले मुलुकमा दुई दलीय अधिनायकवाद लाद्ने खतरा भएको भन्दै पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गरेको बताउनुभएको थियो। ठूला दलको गठबन्धनले विविध विचार र आस्थालाई निषेध गर्द खोजेको आरोप लगाउँदै पार्टीका अध्यक्ष सैंजुले घोषणापत्र सार्वजनिक गर्नुभयो।

घोषणापत्रमा वाम र लोकतन्त्रवादी दुवै अलग अलग विचारधाराको गठबन्धन भए तापनि आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायका मुद्दाको सवालमा यी दुईवटै गठबन्धनको विचारमा खासै फरक नभएको भनिएको छ। घोषणापत्रमा भनिएको छ– ‘यो गठबन्धनले दुई दलीय तानाशाह लाड्ने खतरा छ। बहुलजाति, बहुल विचार भएको मुलुकमा दुईवटा दलले मात्र शासन चलाउने भनेको अरू जाति र विचारलाई नष्ट पार्ने खतरनाक षड्यन्त्र हो।’

अनेक टुटफुटको सिकार हुँदै आएको बाबजुद पार्टीले उम्मेदवारी दिएको बताइएको छ। पार्टीका संस्थापक अध्यक्ष डा. केश्वमान शाक्यसहित संस्थापक डा. बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेपछि पार्टी कमजोर बनेको थियो। त्यसलगत्तै पार्टीका एक मात्र सांसद लक्ष्मण राजवंशीले मधेस आन्दोलन र राष्ट्रियता विषयमा पार्टी नीतिविपरीत बोलेको भन्दै पार्टीबाट निकालिएको थियो। यसपछि अध्यक्ष सैंजुले जेनतेन पार्टी चलाउँदै आएको छ। यस्तो अवस्थामा सार्वजनिक घोषणापत्रले प्रदेश नम्बर ३ को जातीय बनोट र आर्थिक सम्भावनालाई घोषणापत्रमा उतारिएको छ।

हरेक प्रदेशमा भएको मौलिक पहिचानलाई जीवन्त राख्न र प्रदेशभित्रको स्वरलाई उँचो राख्नको लागि पार्टीले उम्मेदवारी दिएको घोषणापत्रमा भनिएको छ। घोषणापत्रमा संविधान संशोधनमार्फत् पहिचान, जातीय, भाषिक समानता सम्बोधन गर्ने लक्ष्यका साथ पार्टीले उम्मेदवारी दिएको पनि भनिएको छ।
त्यसै गरी घोषणापत्रमा आदिवासी, जनजाति, मधेसी, दलित समुदायको अधिकार सुनिश्चित गर्ने, प्रदेश नम्बर ३ मा नेपाल भाषा र तामाङ भाषालाई पनि सरकारी कामकाजी भाषाको रूपमा मान्यता दिलाउने, आर्थिक समृद्धिका लागि विभेदरहित समाज निर्माण गर्ने, स्वदेशमा नै रोजगारी सिर्जना गर्ने, कृषिमा आधारित अर्थतन्त्र निर्माण, चीन र भारतको आर्थिक पुलका रूपमा काम गर्ने राज्यको निकायमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्