जनताको घरदैलोमा व्यस्त रातो कामी



धनवीर दाहाल, रुकुम
वाम गठबन्धनको तर्फबाट रुकुम पश्चिम क्षेत्र नं. १ का प्रदेशसभा सदस्यका उम्मेदवार रातो कामीले आफ्नो चुनावी अभियानलाई तिव्रता दिनुभएको छ। चुनाव प्रचारका क्रममा कामीको टोली मुसिकोट नगरपालिका १ छिङमा पुगेको छ।

स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको उक्त घरदैलो कार्यक्रममा उहाँले अबको निकास र आर्थिक विकास वाम गठबन्धनले मात्र गर्न सक्ने बताउनुभयो। वाम गठबन्धनको जनलहरदेखि अत्ताल्लिएका विरोधी तत्त्वहरूले जनता र एमाले माओवादी कार्यकर्तामा भ्रम सिर्जना गर्न खाजेकोसमेत उहाँले बताउनुभयो। रुकुमको विकास र समृद्धि सपना पूरा गर्ने वाम गठबन्धन नै भएको हुँदा अन्य भ्रमको पछि नलागेर वाम उम्मेदवारहरूलाई जिताउन समेत उहाँले जनतासामू अनुरोध गर्नुभएको थियो। रुकुम पश्चिम १ नम्बर क्षेत्र चुनाव प्रचार प्रमुख एवम् नेकपा एमाले रुकुमका अध्यक्ष बिमलकुमार पुनले आफ्ना मतदाताको रक्षा गर्न कार्यकर्तामा निर्देशन दिनुभयो।

एमाले रुकु्ममा सकियो भनेर काँग्रेसले भ्रम फैलाउने काम गरेको र त्यस्तो भ्रममा नपर्न पनि आग्रह गर्नुभयो। रुकुम क्षेत्र नं. १ प्रदेशसभा सदस्यका उम्मेदवार रातो कामी नेकपा माओवादी केन्द्रको मात्र नभई एमाले र माओवादीको साझा उम्मेदवार भएको स्पष्ट पार्नुभयो। घरदैलो कार्यक्रम आज पनि मुसिकोट नगरपालिकाका विभिन्न वडाहरूमा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्