भारतीय टोली काठमाडौंमा



दीपेन्द्र थापा, काठमाडौं
नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माणको स्थलगत अध्ययनका लागि भारतीय आयल कर्पोरेसन (आईओसी) को टोली नेपाल आएको छ। निर्माणाधीन पाइपलाइन प्रगति विवरणबारे अध्ययन गर्न आईओसीका निर्देशक अनिश अग्रवालको नेतृत्वमा तीन सदस्यी टोली नेपाल आएको हो।

आईओसीको टोलीले नेपालमा रहँदा मोतिहारीदेखि अमलेखगन्जसम्मको पेट्रोलियम पाइपलाइन कार्यको स्थलगत अध्ययन गर्ने नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो।
तीन दिनसम्म नेपालमा रहँदा आईओसीको टोलीले आयोजनाको भौतिक पूर्वाधारको निर्माणकार्य, व्यवस्थापकीय प्रक्रिया र निर्माण सामग्री वस्तुगत अध्ययन गरेर फर्किने निर्देशक भट्टराईले बताउनुभयो। भ्रमणमा आईओसीका निर्देशक अनिश अग्रवाल, प्रमोद नाराङग, एसएस बोस आएका छन्। आईओसी र निगमको टोली स्थलगत अध्ययनमा जानेछ।

सरोकारवाला निकायसँग छलफल गरी निर्माण आयोजनालाई गति प्रदान गर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। आईओसीको टोलीसँग छलफलपछि पाइपलाइन निर्माणको कार्य अगाडि बढाइने प्रवक्ता गोइतको बताउनुभयो ।

सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरु भएको २ वर्षभित्र सक्ने सहमति भए पनि भारत सरकारले गरेको नाकाबन्धीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हँुदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो। निगमका अनुसार सन् २०१६ को जुन जुलाइबाट मात्र आयोजनाको काम शुरू भएको थियो। पहिले सरकारले रक्सौल–वीरगन्ज–अमलेखगन्ज पाइपलाइन परियोजना ३६ दशमलव २ किलोमिटरको दूरीमा रहेको भए पनि हाल भने मोतीहारीदेखि अमलेखगन्जसम्म विस्तार गर्ने लागेको हो। भारतले पटनादेखि मोतीहारी साढे ३३ किलोमिटर र मोतीहारीदेखि रक्सोल ४३ किलोमिटर र रक्सोलदेखि अमलेखगन्ज ३६ दशमलव २ एकै चरणमा भारत सरकारले बनाउन लागेको हो।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुने छ। निर्माणाधीन अवस्थामा रहेको पेट्रोलियम पाइपलाइनका लागि पाइप खरिद गरेर नेपाल ल्याउने कार्य शुरू भइसकेको निगमले जानकारी दिएको छ। यसमध्ये ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गर्नेछ।

पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियमे रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने १० दशमलव ७ इन्च मोटाइको माइल स्टिल एमएस पाइपलाइन भारतको मोतीहारीबाट निगमको अमलेखगन्ज डिपोमा पुर्याएर जोडिनेछ। पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक ३६ करोड रुपियाँ बचत हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्