फ्रान्समा चेपाङ कहाँ छन् ?



रोशन पराजुली, हेटौंडा । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) का राष्ट्रिय निर्देशक रेनाल्ड मेयरलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ महिलाले फ्रान्सका चेपाङ कसरी बिलिन भयो भनेर प्रश्न गरे । राक्सिराङ गाउँपालिका वडा नं. ५, राबाङकी ७२ वर्षीया कान्छीमाया चेपाङले यस्तो प्रश्न राख्दा अन्तत्र्रिmयामा सहभागी सबै गलल्ल हाँसेका थिए । बुधवार राबाङ पुगेका रेनाल्डले चेपाङ समुदायसँग करिब एक घण्टा विकास, आर्थिक सम्बृद्धि, आयआर्जन, स्वास्थ्य, शिक्षाको उपलब्धताबारे अन्तत्र्रिmया गर्नुभएको थियो ।

अन्तत्र्रिmयामा रेनाल्डले आफूबारे प्रश्न केही भए सोध्न चेपाङ समुदायलाई अनुरोध गर्नुभयो । त्यसबेला अगुवा कान्छीमायाले रेनाल्डको घर कहाँ हो ? र, त्यहाँ आफूजस्तै चेपाङ बस्छन् कि बस्दैनन् भनेर प्रश्न गर्नुभयो । उहाँले चेपाङ भनेर सांकेतिकरुपमा पछाडि परेको, आर्थिक हिसाबले पिछडिएको समुदायलाई उद्धृत गर्नुभएको थियो । मुसुमुसु हाँस्दै रेनाल्डले आफ्नो घर फ्रान्समा रहेको बताउँदै भन्नुभयो–चेपाङ नै त थिएनन्, तर चेपाङ समुदायजस्तै गरिब मानिसहरु हाम्रो देशमा पनि थिए । लगत्तै कान्छीमायाले प्रतिप्रश्न गर्नुभयो–उसो भए फ्रान्सका ती चेपाङ अहिले कहाँ छन्, किन हराए ? भाषा रुपान्तरण गर्दैगरेका युएनडीपीका अधिकृत विजय केशरी, युएनडीपी जीईएफ एसजीपीका राष्ट्रिय कार्यक्रम संयोजक गोपालराज शेरचनसहित सहभागीको हाँसोले अन्तत्र्रिmयास्थल टहरो नै होहल्लामा परिणत भयो । कान्छीमाया पनि अक्मकाउनुभयो ।रेनाल्डले भन्नुभयो–हामी फ्रान्सेलीहरु सबै मिलेर त्यहाँको गरिबी हटाउन र समृद्ध बनाउन कम्मर कसेर लाग्यौं, समुदायका मानिसहरु  एकापसमा मिलेर काम गरेकाले त्यहाँ अहिले गरिबी छैन ।

त्यसपछि बल्ल कान्छीमाया चुप लाग्नुभयो । केही वर्षअघिदेखि राबाङमा मनहरी विकास संस्थाको सहजीकरणमा युएनडीपी, जीईएफ÷एसजीपीको आर्थिक सहायतामा कृषिबन कार्यक्रम सञ्चालन हुँदै आएको छ । पाखो र खेर गइरहेको खोरियामा तत्काल आर्थिक उपार्जन गर्न सकिने केरा, भुइँकटहर, अम्रिसोजस्ता वनस्पति र फलफूल खेती गरेर आर्थिक उपार्जनको माध्यम बनाइरहेका चेपाङ समुदायसँग भेट गर्न युएनडीपीको टोली मकवानपुर आएको हो । कार्यक्रमले चेपाङ समुदायको आर्थिक उपार्जन र नेतृत्व विकासमा सहयोग पुगेको भन्दै उहाँहरुले खुशी व्यक्त गर्नुभयो । सरकारको उपस्थिति, गाउँको आवश्यकतालगायत विषयहरुमा पनि उहाँहरुले चासो व्यक्त गर्नुभएको थियो । टोलीले मनहरी गाउँपालिकाको वडा नं. ४, मसिनेस्थित माछापालनको पनि अवलोकन गरी स्थानीयसँग अन्तत्र्रिmया गरेको छ ।

चुरिया कृषि सहकारी संस्थाका पदाधिकारीहरुसँग युएनडीपीका राष्ट्रिय निर्देशक रेनाल्डसहित टोलीले छलफल गरेको थियो । माछापालनका माध्यमबाट हुन सकिने आर्थिक उपार्जनबारे सहकारी अध्यक्ष सानुकान्छा तितुङसहित अगुवाहरुसँग अन्तरक्रिया गरिएको थियो ।सोही क्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती अन्तत्र्रिmयामा सहभागी हुनुभएको थियो । स्थानीय तहको निर्वाचनपछि स्थानीय सरकारमा के कस्ता उल्झनहरु रहेका छन् भन्नेबारे रेनाल्डले प्रश्न गर्नुभएको थियो ।
अध्यक्ष उप्रेतीले जनताले पीडाका बेला सहारा पाएको अनुभव सुनाउनुभयो  । ‘चुनाब नहुँदा सानो कामका लागि पनि फाइल बोक्दै मन्त्रालय र जिल्लाका कार्यालय धाउँदैमा जनताहरु चप्पल फटाउँथे’, उप्रेतीले भन्नुभयो– अहिले ठाउँको ठाउँ हामी जनप्रतिनिधि जनतामाझ पुग्छौं । आगामी दिनमा स्थानीय तहले पनि युएनडीपीसँग सहकार्य गरी अघि बढ्न आफू तयार रहेको र युएनडीपीको सहयोगमा मनहरी विकास संस्थाले चलाएको कार्यक्रम प्रभावकारी भएको उहाँले प्रतिक्रिया दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्