‘शेरबहादुर देउवाको मुखमा दूध भात जाओस्’



काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि एमाले नै विकल्प भएको बताएका छन् । नेपाल प्रजा परिषद पार्टीलाई नेकपा एमालेमा समाहित गराउने कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको इतिहासका गौरवपूर्ण विरासत एमालेलेमै रहेको पनि जिकिर गरे ।

अध्यक्ष ओली अहिले एमालेमा प्रवेशको लहर चलिरहेको जिकिर गर्दै महाकबि लक्ष्मी प्रसाद देवकोटालार्इ पनि सम्झिन भ्याए । ‘आज महाकबि लक्ष्मीप्रसाद देवकोटा जीवित हुनुभएको भए, कुन मन्दिरमा जन्छौँ यात्री, कुन मन्दिरमा जाने हो होइन, एमालेमा जाने हो, देशको विकास गर्ने हो भन्ने गीत लेख्नुहुन्थ्यो’,ओलीले भने ।

अध्य ओलीले विकास र समृद्धिका लागि एमाले बाहेक अर्को शक्ति नै नभएको जिकिर गर्दै एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प दुवै रहेको पनि दाबी गरे ।

ओलीले देश र जनताको हितमा काम गर्ने सरकार जरूरी भएको बताए । उनले देशका लागि काम गर्ने सरकार नभएकै कारण नेपाली जनता निसास्सिएर बाँच्नु परेको जिकिर गरे ।

अध्यक्ष ओलीले भारतीय पक्षबाट अहिले पनि नेपालीमाथि ज्यादति भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गरे । ‘भारतीय पक्षले एक महिनादेखि मालवाहक ट्रक र ट्यांकर नेपाल भित्रन लाइन लागेर बसेका छन्’, उनले भने, ‘तर, त्यसबारेमा सरकारले भारतसँग कुरा गर्न सकेको छैन । यस्तो लाचार सरकार देखेको थिइनँ ।’

नेपालले किनेका ग्यास बुलेट र ट्यांकर एक महिनादेखि भारतमा रोकिँदा पनि शेरबहादुर देउवा सकार चुइँक्क बोल्न नसकेको ओलीको जिकिर थियो । ‘नेपाल भित्रने ट्यांकर एक महिनादेखि सीमापारी भारतमा लाइन लागेर बसेका छन्, हाम्रा प्रधानमन्त्री भारतसँग यस विषयमा कुरा गर्न सक्दैनन्’, ओलीले भने, ‘भारतसँग कुरा गर्नुपर्यो भने, चार पटक चस्मा मिलाउनु पर्छ, पाँच पटक दौरा मिलाउनुपर्छ, यस्तो प्रधानमन्त्रीलाई मुलुकले अब धेरै झेल्न सक्दैन । मंसिरको तेस्रो हप्तासम्म पर्खनुस् ।’

‘प्रतिपक्ष सिद्याउँछु भनेको के हो ? दुर्इ दल मिल्दा यस्तो रूवाबासी किन ?’, उनले भने, ‘प्रतिपक्षी सक्न खोज्ने शेरबहादुर देउवाको मुखमा दूध भात जाओस, उनै प्रतिपक्षमा बसुन् । हामी प्रतिपक्षमा बसेको मन परेको छ अब मंसिरपछि तपार्इँहरू आफैँ बस्नुस् ।’

अध्यक्ष ओलीले दुर्इ कम्युनिस्ट पार्टी मिल्दा अधिनायकवाद ल्याउन लागियो भनेर भ्रम फिँजाउन खोजिएको बताए । उनले लोकतन्त्रका लागि लडेका दलहरूले यस्ता कुराको कल्पना पनि गर्न नसक्ने जिकिर गरे ।

 

प्रतिक्रिया दिनुहोस्