नेपाली फुटबलको भविष्य अन्योलमा



फिरोज राजोपाध्याय, काठमाडौं

नेपाली यु १९ राष्ट्रिय फुटबल टोलीको किर्गिस्तान यात्रा नराम्रो सपना सरह व्यतित भएको छ । एएफसी यु १९ च्याम्पियनसिप फुटबलअन्तर्गत छनोटको समूह चरणको अन्तिम खेलमा नेपाली जुनियरले ओमानसँग ५–० ले हार बेहोर्यो । प्रतियोगितामा नेपालको चार खेल खेलिएकोमा सबै खेलमा हार नै भयो । साथै नेपाली खेलाडीले विपक्षीविरुद्ध एक गोल समेत गर्न सकेनन् । नेपालले कूल दर्जन गोल खाएर प्रतियोगिता निरस तरिकाले टुंग्याएको छ ।

यसअघि नेपाल किर्गिस्तानसँग २–०, बहराइनसँग ४–० र संयुक्त अरब इमिरेट्ससँग १–० ले हार बेहोरेको थियो । गत महिनामा मात्रै पनि नेपालको यु १८ राष्ट्रिय फुटबल टोलीले भुटानमा आयोजित साफ यु १८ च्याम्पियनसिपमा उपाधि जितेको थियो । सोही टोलीका प्राय जसो खेलाडीले यो प्रतियोगितामा पनि खेलेका छन् । तर दक्षिण एसियाभन्दा बाहिर नेपाली जुनियरको प्रदर्शन कमजोर सावित भएको छ ।

नेपाली जुनियर फुटबल टोलीको यस प्रकारको प्रदर्शनले नेपाली फुटबलको भविष्य अझै अन्योलमा पर्ने संकेत गरेको छ । नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीले समेत केही वर्ष यता नराम्रो प्रदर्शन गरिरहेको छ । सिनियर टोली पनि जारी एएफसी एसियन कप छनोट चरणबाट बाहिरिसकेको छ । नेपाल फिलिपिन्ससँग ४–१, ताजकिस्तानसँग २–१ र ३–१ ले पराजित भएको छ । यमनसँग भने गोलरहित बराबरी खेलेको नेपालसँग एक अंक मात्रै छ । नेपालले दुई खेल खेल्न बाँकी छ ।

नेपालका चर्चित पूर्व फुटबलर बालगोपाल महर्जनले नेपाली खेलाडीको प्रदर्शनमा कुनै अनौठो नलागेको प्रतिक्रिया दिएका छन् । महर्जनले दुई वर्ष अगाडि नेपाललाई बंगबन्धु कप, नेपाल यु १९ टोलीलाई साफ च्याम्पियनसिपमा उपाधि दिलाएका थिए । हाल फुटबल गतिविधिबाट टाढा रहेका महर्जनसँग नेपाल समाचरपत्रले गरेको छोटो कुराकानी ।

नेपाली फुटबल खस्कियो भन्न सकिन्छ ?
अवश्य नेपाली फुटबल झन झन खस्किँदै गएको छ । केही समय यता सिनियर होस या जुनियर होस खासै उपलब्धि हासिल गर्न सकेको छैन । यो नतिजाले मलाई त्यति आश्चर्यमा पनि पारेको छैन । किर्गिस्तानमा नेपाली युवा खेलाडीको प्रदर्शन साँच्चिकै नराम्रै रह्यो । बंगबन्धु कप, साग फुटबल र सोलीडारिटी कप जितेपछि नेपाली फुटबलले ठूलो फड्को मार्नु पर्ने हो । तर यो भइरहेको छैन ।

केले गर्दा फड्को मार्न नसकेको हो ?
मुख्य कुरा त घरेलु लिग हुनु पर्यो । घरेलु लिग नभएको चार वर्ष भइसक्यो । लिग नहुँदा खेलाडी अलपत्र भइसकेका छन् । कति खेलाडी बाहिर पुगिसकेका छन् । कति त कहिले लिग होला र खेलौंला भनेर पर्खिरहेको अवस्थामा छन् । तर लिग सञ्चालनमा आएको छैन । क्लब थप्प हुँदा खेलाडीसँग पैसा छैन । राष्ट्रिय टोलीमा परेकाले केही रकम पाएका छन् । तर नेपालभरि धेरै खेलाडी छन् ।

लिगले गर्दा नै नतिजा नआएकै हो त ?
हो नि , घरेलु लिग नै फुटबल विकासको मेरुदण्ड मानिन्छ । यो नै भएन भने खेलाडीले कसरी राम्रो प्रदर्शन गरोस् । उनीहरुलाई धेरै भन्दा धेरै खेल्ने वातावरण बनाउनु पर्यो नि । लिगविना को खेलाडी राम्रो भनेर कसरी मूल्यांकन गर्न सकिन्छ ? केही वर्ष अघि हेर्नुस नेपाली फुटबलको प्रदर्शन कति राम्रो भएको थियो । अहिले त्यो स्वाद छैन ।

प्रतिक्रिया दिनुहोस्