भारतको न्युजिल्यान्डविरुद्ध पहिलो टी २० सिरिज



 

नयाँ दिल्ली, (एजेन्सी)
भारतले पहिलो पटक न्युजिल्यान्डविरुद्ध टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको छ । मंगलबार राति तिरुबन्तपुरममा भएको तेस्रो तथा अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ६ रनले हराएर २–१ ले सिरिज जित्यो । वर्षाको कारण निकै ढिलो शुरु भएको खेल ८⁄८ ओभरमा छोट्याएको थियो । टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले ५ विकेटको क्षेतिमा ६७ रन बनाएको थियो । जसमा मनीष पाण्डेले सर्वाधिक १७ रनको योगदान दिए । न्युजिल्यान्डका टीम साउथी र इस सोढीले २⁄२ विकेट हात पारेका थिए ।

जवाफमा न्युजिल्यान्डले खराब शुरुआत गरेको थियो । ८ रनको लागि नै दुई विकेट गुमाएपछि टोली दवावमा परेको थियो । अन्तिम ओभरमा १९ रन बनाउनु पर्नेमा ग्रेन्डहोमले एक छक्का हानेर आउट भएपछि भारतको जित पक्का भएको थियो । अन्तिम ओभरमा मात्र १२ रन जोडेर न्युजिल्यान्ड ६ विकेटको नोक्सानीमा ६१ रनमै समेटिएको थियो । प्लेयर अफ द म्याच जसप्रीत बुमराहले दुई विकेट लिएका थिए ।

यसअघि यी दुई राष्ट्रबीच दुई पटक टी २० सिरिज भएको थियो । जसमा सन् २००९ मा किवी टोलीले २–० ले र २०१२ मा १–० ले सिरिज हासिल गरेको थियो । यो सिरिज आफनो नाम गरेपछि भारत ८८ खेलमा ५२ खेल जितेर टी २० मा सर्वाधिक जित्ने टोलीको सूचीमा तेस्रो स्थानमा पुगेको छ । श्रीलंका (५१ जित) चौथो स्थानमा झर्दा शीर्ष दुईमा पाकिस्तान (७२ जित) र दक्षिण अफ्रिका (५९ जित) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्