नेपाली खेलाडी उपाधिविहीन



काठमाडौं, (नेस)
ललितपुरमा जारी केशा ग्रुप एएनएलटीए एसियन यु–१४ रेन्किङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट २ मा नेपाली खेलाडी उपाधिविहिन बनेका छन् । बुधबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज र गल्र्स डबल्स दुबै विधामा नेपाली खेलाडीहरु पराजित भएका हुन् । त्यस्तै ब्वाइज सिंगल्सको उपाधिमा पनि भारतीय खेलाडीले जित्ने निश्चित भएको छ । यसैगरी गल्र्स सिंगल्समा एक भारतीय खेलाडीले फाइनलमा स्थान पक्का गरिसकेकी छिन् ।

ब्वाइज डबल्सको उपाधि भिडन्तमा नेपालका निशान श्रेष्ठ र आदित्य सुवेदीको जोडी भारतका अनर्घा गांगुली र लेस्टन भाजको जोडीसँग कडा संघर्षमा पराजित भएको थियो । पहिलो सेट ७–५ ले जितेको नेपाली खेलाडीले त्यसपछि दुबै सेट हारेर उपाधि जित्नबाट वंचित भएको थियो ।
गल्र्स डबल्सको फाइनलमा नेपालकी अभिलाषा विष्टको जोडी भारतका वैश्नवी अड्कर र हर्साली मान्दभकरको जोडीसँग सोझो सेटमा हारेको थियो । अभिलाषाको जोडी खेलाडी भारतकी इलीना झा हुन् । अभिलाषा गल्र्स सिंगल्सको सेमिफाइनलमा पुगेकी छिन् । तर ब्वाइज सिंगल्सको सेमिफाइनलमा नेपालका आदित्य सुवेदी भारतीय खेलाडीसँग हारेका थिए ।

प्रतिक्रिया दिनुहोस्