जापानमा तीन पुरुष मार्ने वृद्धा ‘काली विधवा’ लाई मृत्युदण्ड



टोकियो, (एजेन्सी)
जापानमा एकजना सत्तरी वर्षीया महिलालाई ३ जना पुरुषको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाइएको छ। मारिनेमध्ये १ जना उनको आफ्नै पति भएको बताइएको छ। उनको आक्रमणमा अर्का १ पुरुष भने बच्न सफल भएको बताइएको छ।

चिसाको काकेही नामक ती महिलाले प्राणघातक रसायानिक पदार्थ साइनाइड प्रयोग गरी कराडौं रुपियाँ प्राप्त गर्न आफ्ना प्रेमीहरुको हत्या गरेकी थिइन्। उनका वकिलहरुले उनले अदालतको यस निर्णय विरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन्।

ती अपराधी मनस्थितिका वृद्धाले प्रायशः निकै धनी तर वृद्ध वा बिरामी पुरुषहरुलाई आफ्नो जालमा फसाउने गरेको अनुसन्धानकर्ताहरुले बताएका छन्। जापनी संचार माध्यममा उनलाई ‘काली बिधवा’ को उपनाम दिइएको छ। पोथी माकुरोले यौनकार्य गरिसकेपछि आफ्नो भालेलाई मार्ने कार्यसंग जोडेर उनलाई यो उपनाम दिइएको हो।

क्योटो जिल्ला अदालतले चिसाकोले ४ वटा घटनामा हत्याका लागि साइनाइड प्रयोग गरेको र उनीमा स्मरणशक्ति गुमाउने रोग डिमेन्सिया रहेको भए पनि अपराधका लागि उनलाई दोषी ठहर गरिनैपर्ने जनाएको थियो। न्यायाधिश आयाको नाकागावाले मुद्धा लड्नका लागि उनले राम्ररी पूर्व तयारी गरेको पाइए तापनि आफूले उनलाई संजाय दिनुबाहेक अन्य विकल्प नदेखेको बताएका छन्।

कानमा राम्ररी सुन्ने उपकरण जडान गरेकी उनले मुद्दाको कारबाहीको क्रममा न्यायाधिशलाई ठूलो श्वरले बोल्न अनुरोध गरेकी थिइन्। तर आफूलाई मृत्युदण्ड सुनाइँदा उनको अनुहारमा कुनै भाव परिवर्तन देखिएको थिएन। विवाह भएको एक महिनापछि सन् २०१३ को २८ डिसेम्बरमा उनले आफ्नो चौंथो पति ७५ वर्षीय इसाओ काकेहीको हत्या गरेकी थिइन्।

उनीमाथि ७० देखि ८० वर्ष उमेरबीचका दुईजना प्रेमीको पनि हत्या गरेको अभियोग लगाइएको छ। उनले हत्या गरी लुट्ने प्रयास गरिएका अर्का प्रेमीको भने सन् २००७ देखि २०१३ बीच क्यान्सरका कारण मृत्यु भएको बताइएको छ। मुद्दाको सुनुवाइको दौरान उनले केटी मिलाइ दिने लमीको पनि काम गर्ने गरेको र त्यसक्रममा धनी र निसन्तान पुरुषहरु उनको सम्पर्कमा आउने गरेको बताइएको छ।

उनले यसरी हत्या षड्यन्त्रबाट झण्डै ८८ लाख अमेरिकी डलर जम्मा गरेको र पछि केही रकम स्टक बजारमा गुमाएको बताइएको छ। १ सय ३५ दिन लामो अदालती कारबाहीको दौरान उनले ईसाओ काकेहीको हत्या गरेको स्विकारेकी थिइन्। शुरुमा उनले इसाओले आफूलाई आर्थिक रुपमा सहयोग नगरेको गुनासो गरेपनि पछि सो गुनासो फिर्ता लिएकी थिइन्।

तर उनका वकिलहरुले डिमेन्सिया पिडित भएकाले उनको बयानलाई आधिकारिक मान्न नमिल्ने बताएका थिए। तिनीहरुले डिमेन्सिया पीडित व्यक्तिलाई अपराधी करार गर्न नमिल्ने भन्दै उनलाई सुनाइएको संजाय विरुद्ध उच्च अदालतमा अपिल गरेका छन्। अत्यन्तै विवादास्पद र रोमान्चकारी यस मुद्दाको कारबाही हेर्न अदालतमा ५ सय ६० जना भन्दाबढी व्यक्ति उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्