महोत्तरीमा स्वतन्त्रैस्वतन्त्रको भिडन्त श्रीमान् तथा फुपूविरुद्ध पनि उम्मेदवारी



लक्ष्मीकुमार साह, महोत्तरी

आगामी मंसिर २१ गते हुन गइरहेको प्रदेश नं. २ को दोस्रो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य चुनाव जित्नका लागि महोत्तरीमा उम्मेदवारी मनोनयन दर्ता गराएकाहरु चुनावी मैदानमा होमिएका छन्।

महोत्तरी जिल्लामा ४ प्रतिनिधिसभा क्षेत्र र ८ प्रदेशसभा गरी कुल १२ पदका लागि २ सय २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। जसमध्ये क्षेत्र नं. २ बाट २ जना, क्षेत्र नं. ३ को प्रतिनिधिसभाबाट २ जना, प्रदेशसभाबाट ५ जना र निर्वाचन क्षेत्र नं. ४ बाट १ जना गरी कुल १० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभएको छ। यता महोत्तरीको क्षेत्र नं. १ बाट कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्। महोत्तरीको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का लागि भंगहा नगरपालिका–७ का स्वतन्त्रबाट उम्मेदवारी दिएका रामनारायण सिंह थारूले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने मटिहानी नगरपालिका–३ बाट स्वतन्त्रबाटै उठेका सकिकुल मियाँले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।


यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ को प्रेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को स्वतन्त्रबाट उठेका जलेश्वर–११ का नेवाती नदाफ र जलेश्वर–९ का सत्येन्द्रकुमार सिंहले आफ्नो नाम फिर्ता लिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ जलेश्वर–७ का दीपेन्द्रकुमार यादव, एकडारा गाउँपालिका–१ का सञ्जयकुमार झा र एकडारा गाउँपालिका–५ का हरिनारायण मण्डलले आफ्नो नाम फिर्ता लिएका छन्। त्यसै गरी महोत्तरी प्रतिनिधिसभा सदस्य क्षेत्र नं. ४ रामगोपालपुर नगरपालिका–१ का रासविहारी मण्डलले आफ्नो नाम फिर्ता लिएका छन्। अगामी मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा २ सय १३ जनाले कडा प्रतिस्पर्धाका साथ आफ्नो जित सुनिश्चितता गर्नेछन्।

महोत्तरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएकामा ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेशसभा ‘क’ का लागि दलगत ७ र स्वतन्त्रबाट ४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै महोत्तरी क्षेत्र नं. १ ‘ख’ का लागि स्वतन्त्रबाट १० जनाले उम्मेदवारी दिएका छन्।

महोत्तरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रका पूर्वशिक्षामन्त्री नेता गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका पूर्वसांसद सीताराम भण्डारी र गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका लक्ष्मी महतो चुनावी मैदानमा प्रतिस्पर्धामा रहेका छन्। यस्तै महोत्तरी क्षेत्र नं. १ बाट प्रदेशसभाका लागि एमाले माओवादी केन्द्रसँग गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएको छ भने कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। अन्य दलले समेत उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. १ प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रका राजु खड्काले पार्टीको निर्देशनअनुसार उम्मेदवारीसमेत फिर्ता लिन गएको तथा समयावधि समाप्त भइसकेकाले फिर्ता लिन नसकेपछि केन्द्रको निर्देशनबमोजिम नै एमाले नेतृ शारदा थापालाई सघाउने भएको छ।

यता, महोत्तरी क्षेत्र नं. १ को प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका प्रह्लाद क्षत्रीसमेत प्रतिस्पर्धामा रहेका छन् भने राजपा नेपालकी रूपाकुमारी यादव पनि चुनावी मैदानमा उत्रिएकी छिन्। यस्तै प्रदेशसभाका लागि सोही क्षेत्रका राजपा नेपालका जयनुल राइन, नेपाली कांग्रेसका सुशीलकुमार यादव र माओवादी केन्द्रका राजकिशोर यादवसमेत चुनावी मैदानमा होमिएका छन्।

महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधिसभाका लागि २० जनाले उम्मेदवारी दिएका छन्। सोमध्ये ११ जना स्वतन्त्र र ९ जनाले दलगत उम्मेदवारी दर्ता गराएका छन्। क्षेत्र नं. २ कै प्रदेश ‘क’ का लागि ८ जनाले उम्मेदवारी दिएकामध्ये ३ जना स्वतन्त्रबाटै लड्दै छन्। क्षेत्र नं. २ को ‘ख’ बाट २१ जनाले उम्मेदवारी दिएका छन्। जसअन्तर्गत १३ जना स्वतन्त्र रहेका छन्। महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसकी किरण यादव, नेकपा माओवादी केन्द्रका कासिम नदाफ र राजपा नेपालका शरद्सिंह भण्डारीसमेत चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यता क्षेत्र नं. २ को प्रदेशसभाका लागि माओवादी केन्द्रका भरतप्रसाद साह, नेपाली कांग्रेसका रामश्रेष्ठ महतो, संघीय समाजवादी फोरम नेपालका विनोदकुमार महतो र नयाँ शक्ति पार्टी नेपालका काशी महतोसमेत चुनावी प्रतिस्पर्धामा देखिएका छन्। यस्तै महोत्तरी क्षेत्र नं. २ को प्रदेश सभाका लागि राजपा नेपालका सुरिताकुमारी साह, नेपाली कांग्रेसका राजकरणप्रसाद साह सुडी, नेकपा माओवादी केन्द्रका अजयकुमार यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि २२ जनाले उम्मेदवारी दर्ता गराएमा नेपाली कांग्रेसका बजरंग नेपाली र स्वतन्त्र उम्मेदवार रामदरेश रायले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै क्षेत्र नं. ३ ‘क’ बाट १७ जनामध्ये ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नं. ३ ‘ख’ बाट ३५ जनाले उम्मेदवारी दिएका छन् जसअन्तर्गत २४ जनाले स्वतन्त्ररूपमा उम्मेदवारी दर्ता गराएका हुन्। नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्देशन आएपछि आफू बाध्य भएर फिर्ता लिएको महोत्तरी क्षेत्र नं. ३ का कांग्रेस उम्मेदवार बजरंग नेपालीले बताएका छन्।

महोत्तरी जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं. ३ बाट राजपा नेपालका संयोजक महन्थ ठाकुर, नेकपा एमालेका विजयकुमार चौधरी र पूर्वस्वतन्त्र सांसद चन्देश्वर झा तथा राष्ट्रिय जनमुक्ति पार्टीका रामइकवाल मण्डलसमेत मुख्य प्रतिस्पर्धाका रूपमा रहेका छन्। महोत्तरी प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २ को ‘क’ बाट १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सोही क्षेत्रको ‘ख’ बाट ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिनिधिसभा क्षेत्र नं. ३ को प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका रामआधार कापर, नेपाली कांग्रेसका शम्भुनारायण पाठक र राजपा नेपालका अभिराम शर्मा मुख्य प्रतिस्पर्धामा रहेका छन् भने सोही क्षेत्रको निर्वाचन क्षेत्र नं. २ बाट राजपा नेपालकी रानीकुमारी तिवारी, नेकपा एमालेका विजयकुमार कर्ण, नेपाली कांग्रेसका पवन साह, स्वतन्त्र उम्मेदवार सुरेश साह सोनार मुख्य प्रतिस्पर्धामा रहेका छन्।

महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका लागि २० जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा दलगत र स्वतन्त्र उम्मेदवारको संख्या बराबर रहेको छ। क्षेत्र नं. ४ ‘क’ का लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने जसमध्ये ८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। ‘ख’ बाट २४ जनामध्ये १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
महोत्तरी जिल्लाको प्रतिनिधिसभाको क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका जिल्ला सभापति महेन्द्रकुमार राय, संघीय समाजवादी फोरम नेपालका डा. सुरेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका मो. रजी हैदर मुख्य प्रतिस्पर्धामा रहेका छन्। त्यसै गरी सोही क्षेत्रको निर्वाचन क्षेत्र नं. १ मा नेकपा माओवादी केन्द्रका रामबाबु चौधरी, नेपाली कांग्रेसका गोखुल राय यादव, संघीय समाजवादी फोरम नेपालका कौशलकुमार यादव मुख्य प्रतिस्पर्धामा रहेका छन् भने सोही क्षेत्रको प्रदेश सभाको क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका सरोजकुमार सिंह, नेकपा एमालेका सरोजकुमार यादव र नेपाली कांग्रेसका दिप्यांशुप्रताप सिंह मुख्य प्रतिस्पर्धामा रहेका छन्।

महिला उम्मेदवारको सहभागिता कमी
जिल्लाको चारवटै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई जना महिलाले मात्र उम्मेदवारी दिएका छन् भने प्रदेशसभाको निर्वाचनका लागि आठवटै प्रदेशसभामा १२ जना महिलाले उम्मेदवारी दिएकी छिन्। समग्रमा जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि भएको मनोनयन दर्तामा कुनै पनि महिला उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको छैन। महिला उम्मेदवारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दिएको उम्मेदवारीमा कम सहभागिता रहेको छ। महोत्तरीको क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको एकमात्र ५४ वर्षीया महिला उम्मेदवार रामकुमारीदेवी कोइरीले स्वतन्त्र उम्मेदवारी दिएकी छिन्। उनीले संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका आफ्ना श्रीमान् लक्ष्मी महतोविरुद्ध स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुन्।

यता क्षेत्र नं. १ को ‘क’ बाट प्रदेशसभाका लागि ३ जना महिलाको उम्मेदवारी परेको छ। उम्मेदवारी परेका महिलाहरुमा बर्दिवास नगरपालिका–३ की ४६ वर्षीया प्रमिला कुमारी स्वतन्त्र पदबाट, भंगहा नगरपालिका–९ बाट ३५ वर्षीया रूपाकुमारी यादव राजपा नेपालबाट र बर्दिवास नगरपालिका–१ की ५२ वर्षीया शारदा थापा एमालेबाट रहेका छन्। थापा नेपाली कांग्रेसका आफ्ना प्रत्यासी प्रह्लाद क्षत्रीकी फुपू हुन्।

जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कांग्रेसबाट एकमात्र ५२ वर्षीया महिला उम्मेदवार किरण यादवले मनोनयन दर्ता गराएकी छिन्। क्षेत्र नं. २ ‘क’ बाट रामगोपालपुर–७ की ३६ वर्षीया रीतादेवी एकीकृत राप्रपा (राष्ट्रवादी) बाट मनोनयन दर्ता गराएकी छिन्। सोही क्षेत्रको २ ‘ख’ बाट महोत्तरी–६ की ५१ वर्षीया सुरिता साह राजपा नेपालबाट चुनावी मैदानमा उत्रिएकी छिन्। महोत्तरीको निर्वाचन क्षेत्र नं. २ बाट समेत कुनै पनि महिला उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन्।

महोत्तरी जिल्लाको क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि भएको मनोनयन दर्तामा महिलाको सहभागिता देखिएको छैन। प्रदेशसभाका लागि क्षेत्र नं. ३ ‘क’ बाट समेत महिलाको सहभागिता देखिएको छैन भने ३ ‘ख’ बाट ३ जना महिलाले मनोनयन दर्ता गराएका छन्। क्षेत्र नं. ३ (ख) बाट मनोनयन दर्ता गराउनेमा राजपा नेपालकी ३८ वर्षीया रानी कुमारी तिवारी रहेकी छिन् भने २६ वर्षीया उपासना कुमारी र ६० वर्षीया जानो देवीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्।

महोत्तरी जिल्लाको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि भएको मनोनयन दर्तामा समेत महिलाको सहभागिता शून्य रहेको छ। क्षेत्र ४ ‘क’ का लागि दुई जना महिलाले मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउने महिलामा औरही–१ की ३० वर्षीया जितो देवी बहुजन समाज पार्टी नेपालबाट र औरही–१ की ५३ वर्षीया शनिचरी देवी राष्ट्रिय जनमुक्ति पार्टीबाट रहेका छन्। क्षेत्र नं. ४ ‘ख’ बाट दुई जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। रामगोपालपुर–२ की ३१ वर्षीया सुनीताकुमारी यादव स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् भने सम्सी–४ बाट रीतादेवी झाले देशभक्त जनगणतान्त्रिक नेपालबाट उम्मेदवारी दिएकी छिन्।

प्रतिक्रिया दिनुहोस्