आनन्दको गुराँसै फुल्यो भिडियोमा



लोकप्रिय गायक आनन्द कार्कीको स्वरमा रहेको फुल्न त फुल्यौ गुराँसै फुल्यौ बोलको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो। समाजसेवी तथा गीतकार घनबहादुर थापाको शब्दमा संगीत भर्ने काम संगीतकार राजनराज शिवाकोटीले गरेका छन्।

यो गीत गायक कार्कीको आउँदै गरेको एल्बम नबिर्स भित्रकै एक चर्चित गीत हो। दीपेन्द्र केसीले छायांकन गरेको भिडियोमा कलाकारहरु अनिल थापा, सृष्टि गिरी, रंगकर्मी उमेश मायालु र स्वयं गायक आनन्द कार्कीलाई विशेष भूमिकामा देख्न सकिन्छ। भिडियोमा काठमाडौं र भक्तपुरका सुन्दर र मनोरम स्थानलाई देखाइएको छ।

कार्यक्रममा बोल्दै गायक आनन्द कार्कीले सांगीतिक क्षेत्रमा हुने विभिन्न गतिविधि बाहिर ल्याउन मिडियाको आवश्यकता पर्ने बताए। ‘मैले गजल, आधुनिक, लोक, भजन, राष्ट्रियलगायत फिल्मका गीतहरु गाएँ र सबैले मन पनि पराइदिनुभयो। यो गीत पनि मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु’ –गायक कार्कीले भने। त्यसै गरी संगीतकार राजनराज शिवाकोटीले आनन्द कार्कीजस्तो गायकसँग सहकार्य गर्न पाएकोमा आफ्नो चाहना पूरा भएको चर्चा गर्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताए।

भिडियोमा अभिनय गर्ने कलाकारद्वय अनिल थापा र सृष्टि गिरीले यो गीतबाट सबैलाई सफलता मिलोस् भन्दै गायक कार्कीलाई बधाई दिए। रिलिज कार्यक्रममा इमेज च्यानलको म्युजिक अफ योर च्वाइस् भन्ने कार्यक्रममार्फत उक्त म्युजिक भिडियोको वल्र्ड टेलिभिजिन प्रिमियर गरिने पनि जानकारी दिइयो

प्रतिक्रिया दिनुहोस्