श्वेताको अभियानलाई मेलाको सहयोग



भोलि शुक्रबार अल नेपाल रिलिज हुन लागेको फिल्म मेलाले नायिका तथा निर्मात्री श्वेता खड्काको अगुवाइमा बनिरहेको एकीकृत माझी बस्तीलाई ५१ हजार आर्थिक सहयोग गरेको छ।

मेलाका निर्माता, लेखक तथा सहनिर्देशक हरि पन्तले नायिका खड्काको कमलादीस्थित राइजिङ मलमा रहेको हिमालयन जाभामा पुगी सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। विशुद्ध प्रेम कथामा आधारित मेलाले वर्तमान युवा पुस्ताको जीवनमा आइपर्ने प्रेम, विछोडका साथै अनेकौं घटना र परिवेशलााई पूर्ण मनोरञ्नात्मक तरिकाले प्रस्तुत गरेको पन्तले बताए।

मेला पूर्ण व्यवसायिक तथा मनोरञ्जनात्मक फिल्म भए पनि कुनै न कुनै रूपमा सामाजिक दायित्व भएकाले एकीकृत माझी बस्तीको निर्माणमा आफूले सानो सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै पन्तले सिनेमा हेरेर नेपाली सिनेमाहरुलाई प्रोत्साहन गरिदिन अनुरोध गरे।

युवा पुस्तामाझ लोकप्रिय नायक सलोन बस्नेत, आशिस्मा नकर्मी, आमेश भण्डारी र निरज श्रेष्ठ अभिनित मेला वसन्त निरौलाले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्