सडक जामले सधैँ सास्ती



 

हाम्रो देशको विकास ज्यादै सुस्त छ। ४ दशकदेखि राजधानी जोड्ने मुख्य मार्ग पृथ्वी लोकमार्ग एउटै छ। अहिले त्यो मार्गमा निर्माणाधीन नारायणगढ–मुग्लिन सडकखण्डको दर्जनौँ स्थानमा पहिरोको उच्च जोखिमले यात्रा गर्दा छातीमा हात राख्नुपर्ने अवस्था छ। ३६ किलोमिटर दूरीको यो सडकमा विगत तीन वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ। तर, दैनिकरूपमा यातायात आवागमन अवरुद्ध हुँदा यात्रुको बिचल्ली मात्र होइन राजधानीमा खाद्यलगायत विभिन्न सामानमा प्रभाव परेको छ।

नारायणगढ–मुग्लिन सडकमा गाडी दुर्घटनाभन्दा पनि पहिरोको पिरलो ज्यादा छ। दैनिक हजारौँ यात्रुले यात्रा गर्ने सो सडकखण्ड अति जोखिमपूर्ण छ। यस्ता दर्जनौँ जोखिमपूर्ण स्थान पार गरेपछि यात्रुलाई ठूलै युद्ध जितेजस्तो अनुभूति हुनु स्वाभाविकै हो। तर, बाध्यतावश अधिकांश यात्रुले यही सडकबाटै यात्रा तय गर्नुपर्ने नियति बनेको छ।

सवारीसाधनको अत्यधिक चापका कारण सडक सुचारु भए पनि जाम पार हुनसमेत घन्टौँ समय लाग्ने गरेको छ। कति बेला कुन ठाउँमा पहिरो खस्छ भन्ने अनुमान लगाउन नसक्दा लामबद्ध कुन सवारीसाधन कति बेला पुरिन्छन् वा के–कस्ता विपत्तिको सामना गर्नुपर्छ भन्ने केही ठेगान हुँदैन। यस्तो यात्रा गर्न विवश भइरहनुभन्दा सम्भाव्य दुर्घटनाबाट बच्न अब वैकल्पिक सडक प्रयोग गर्नुको विकल्प छैन। हाम्रो जस्तो मुलुकमा हवाईसेवा आवश्यक छ। सम्पन्न र विकसित देशमा सर्वसाधारणले पनि चढ्न सक्ने हवाई सेवा सरकारले दिन्छ। हाम्रो सरकारले पनि जनतालाई शेयर दिएर भए पनि हवाईजहाज किनोस्।

अहिले नारायणगढ–मुग्लिन सडक जानी–बुझीकन प्रयोग गरेर गन्तव्यमा पुगिन्छ भन्ने कुनै निश्चितता नभएकाले सबै यात्रुले आफ्नो ज्यानको बाजी थापेर यात्रा गर्नु कुनै पनि मानेमा जायज छैन। सकभर यात्रा नै नगर्ने र गर्नुपर्ने नै भए सुरक्षित र भरपर्दो यात्रा गर्न सके अमूल्य जीवनलाई अकालमा फाल्नुपर्दैन। हामी सबैले बुझौं, हाम्रो जीवन मात्र एकपल्टको हो। जोखिम मोलेर नहिँडौं। झन् मोटरसाइकल त प्रयोग गर्दै नगरौं।

यात्रुलाई समयमै गन्तव्यमा पुर्याउन र कहिले पहिरो पन्छाउँदै त कहिले जाम खोल्दै सुरक्षाकर्मीहरूले सर्वसाधारणको हितमा काम गर्दै आएका छन्। नेपाली सेना, ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ज्यानको बाजी थापेर सक्रियता देखाउँदै आएका छन्। सधैँ एकै खालका समस्या बल्झिरहने भएकाले यात्रुले अब यात्राको पनि विकल्प खोज्नुपर्छ। मुग्लिन–नारायणगढ सडकको विकल्प खोज्न आवश्यक छ। राजधानी जोड्ने कम्तीमा पनि ५ वटा मार्ग हुनु आवश्यक छ। त्यसका लागि सरकारले पहिलो मार्ग त्रिभुवन राजपथलाई विस्तार गरोस्। थानकोट–भीमफेदी मार्ग बनाओस्। खोपासी–तालढुंगा सडक हुँदै हेटौंडा पुर्याउने सडक छिटो निर्माण गरोस्। अनि मात्र पृथ्वी राजमार्गमा सवारी चाप कम हुन्छ। सधैँ अवरुद्ध हुने सडक हामीले प्रयोग गर्नुहुँदैन। यस्तो परिस्थितिमा यात्रुले अति आवश्यक भएको बेलामा मात्र यात्रा गरौं। यो सूचनाको युग हो। सूचना प्रविधि प्रयोग गरेर समय, धन बचत गरौं। राजधानीबाहिर जाने र भित्रिने हो भने पनि वैकल्पिक सडक प्रयोग गरेर सम्भावित जोखिमबाट बचौँ भन्ने मेरो आग्रह हो।

– यज्ञनाथ सिवाकोटी, भक्तपुर

यति धेरै रेडियो किन चाहियो ?

रेडियो सूचना, मनोरञ्जन अनि समाचारका लागि एउटा अत्यन्तै सरल माध्ययम हो। देशमा पछिल्लोपटक सञ्चारको विकास द्रुतगतिमा बढेसँगै रेडियो पनि सोचेभन्दा निकै बढी खुले। इलेक्ट्रोनिक मिडिया भएकाले स्वभावैले यस क्षेत्रमा लाग्ने युवायुवतीहरूको संख्यामा पनि ह्वात्तै वृद्धि भयो। विशेषतः रेडियो अनि टेलिभिजनमा लोकप्रियता कमाउने धुनमा थुपै्रै युवा जमात तन, मन अनि धन खर्चेर लागेको पाइन्छ। सरकारले एफएम रेडियोको लाइसेन्स दिनमा सहज मापदण्ड बनाएका कारण अहिले टोल–टोलमा च्याउझैँ रेडियोहरू खुलेका छन्।

स्थानीय तहमा खुलेका अधिकांश रेडियोहरूमा अहिलेका नयाँ युवापुस्ताको बलियो पकड देखिन्छ। प्रमाणपत्र तह सकेपछि स्नातक तहमा पढ्दै गरेका धेरैजसो युवाहरू यो फिल्डमा इच्छुक भएको देखिन्छ। २०६४ सालपश्चात् नेपालगन्जमा खुलेका सबैजसो इलेक्ट्रोनिक मिडियामा ८० प्रतिशत युवा जेनरेसन थिए। रेडियो फिल्डमा छोटो समयमा लोकप्रिय हुन सकिने अनि करियरभन्दा पनि पार्ट टाइमका रूपमा लिन खोज्ने धेरैजसो ढुलमूले प्रवृत्तिका युवायुवतीहरूले यहाँका सचारमाध्यमहरूका लागि आवश्यक कर्मचारी नियुक्त गरेका छन्।

गुणस्तरीयता र व्यावसायिकतालाई सँगसँगै लैजानुपर्ने अवस्थामा यहाँका सञ्चार उद्यमीले पनि खाली व्यावसायिकतामा मात्र जोड दिँदा सञ्चार क्षेत्रमा भविष्य बनाउन चाहने युवावर्गका लागि अहिलेको परिप्रेक्ष्यमा सोचेअनुसारको अवसर भने देखिँदैन। देशमा बढेको बेरोजगारी समस्या अनि सानोतिनो काममा भए पनि इन्गेज होऔं भन्ने प्रवृत्तिका कारण अझै पनि रेडियोले कर्मचारीको अभाव भने महसुस गरेको छैन। यहाँका मिडियाका लागि हरेक तीन–तीन महिनामा नयांँ कर्मचारीको अनुहारलाई भित्र्याउने हुँदा बेरोजगार युवा जनशतिm यस क्षेत्रमा अझै विद्यमान छ भन्न सकिन्छ। तर त्यो वास्तविक करियर बनाउने अनि मिडियाका लागि हितकारी युवा जमात भने पक्कै होइन। केवल देखावटी अनि सस्तो लोकप्रियता कमाउन खोज्ने समूह हो।

मध्यपश्चिमको कुरा गर्दा, शुरूवाती समय २०६५ ताका रेडियोको स्कोप पनि अत्यन्तै राम्रो महसुस गरिएको थियो, फलस्वरूप यसमा आउन चाहने युवाहरूको आकर्षणको सीमा थिएन। वास्तवमै क्षमतावान् अनि रेडियो फिल्डमा भविष्य बनाउन खोज्ने युवापिँढी एफएम लाइनमा होमिएका थिए। तर अहिले त्यो समय रहेन, मार्केटले थेग्न नसक्ने रेडियो स्टेसन खोल्नु अनि त्यसमा आबद्ध सञ्चारकर्मीको योग्यतामाथि नै प्रश्नचिन्ह खडा हुनु, यी यावत् कुराले गर्दा पछिल्लो समयमा रेडियोको लोकप्रियता खस्कियो। सँगसँंगै यस क्षेत्रमा सोचेअनुसारको आम्दानी समेत गर्न नसिकिने भएका कारण दीर्घकालीनरूपमै यसमा टिकेर काम गर्ने युवापिँढीकोको संख्या भने पक्कै ओरालो लाग्ने क्रममा छ।

रेडियोमा लामो समय बिताएका पुराना रेडियोकर्मीहरूको भनाइलाई उल्लेख गर्ने हो भने पनि अब त्यो दिन रहेन, जति बेला रेडियोकै लागि घरपरिवार अनि छरछिमेकबाट काम गर्नकै लागि प्रोत्साहन मिल्थ्यो, तर त्यो अहिले विगत बनिसकेको छ। एक दशकमा नेपालमा भएको सञ्चारको विकास अनि यसले ल्याएको परिवर्तनलाई हामीले देखिसकेका छौं। तथापि यसमा मेरुदण्डको भूमिका निर्वाह गर्ने सबै खाले कर्मचारीको मापदण्ड हुने कि नहुने या खाली परिवर्तन मात्र हेर्ने ? विषय सोचनीय छ। यसर्थ अब रेडियो सञ्चालन गर्ने उद्यमी अनि यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रमा परिवर्तनको खाँचो छ। रेडियोको गुणस्तरीयता अनि व्यवस्थापनका लागि गतिलो सरकारी मापदण्ड पनि आवश्यक देखिन्छ।
– हिमलाल देवकोटा, नेपालन्ज

प्रतिक्रिया दिनुहोस्