‘नेपाली कांग्रेसको बहुमत आउछ’



ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँणले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने दावी गर्नु भएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खाँणले सो दावी गर्नुभएको हो ।
“ नेपाली कांग्रेसले प्रतिनिधिसभाका १ सय ६५ मध्ये १ सय ५४ सीटमा र प्रदेशसभाका ३ सय ३० मध्ये ३ सय १० सीटमा आफ्ना उम्मेदवार उठाएको छ” नेता खाणले भन्नुभयो,“ यस मध्ये कम्तिमा ५५ प्रतिशत सीट मात्रै पनि सोझै हाम्रो बहुमत आउछ ।”
नेता खाँणले ६० प्रतिशत स्थानमा मात्र उम्मेदवार उठाएका नेकपा एमाले र ४० प्रतिशत मात्र उम्मेद्वार उठाएको माओवादीको दुई तिहाइ सीट जित्ने दावी हावादारी भएको पनि आरोप लगाउनुभयो ।
उहाँले स्थानीय निर्वाचनको नतिजाले नै नेपालको बास्तविक जनमत प्रतिविम्बित गर्न नसक्ने उल्लेख गर्दै प्रतिप्रश्न गर्नुुभयो,“ २०३६ सालको जनमत संग्रहमा पञ्चायतले २४ लाख र बहुदलले २०लाख मत पाएको थियो तर २०४६ सालमा आईपुग्दा जनमत बदलियो कि बदलिएन ?”
नेता खाणले अधिकतम् सीटमा उम्मेदवारी दिएकोले नेपाली कांग्रेसलाई समानुपातिक तर्फको सीट संख्याको लाभ हुने पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो,“हाम्रै मतको लाभ त हामीलाई हुन्छ नै त्यसबाहेक थ्रेस होल्ड नपुगेका पार्टीहरुमा परेको भोटको लाभ पनि नेपाली कांग्रेसले पाउछ”। कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक नेता खाँणले निर्वाचनको परिणाम एमाले र माओवादीका लागि अप्रत्यासित हुन पनि सक्ने उल्लेख गर्नुभयो ।
कांग्रेस नेता खाँणले नेपाली कांग्रेस यस अगाडिका निर्वाचनभन्दा एकताबद्ध भएर निर्वाचनमा होमिएकोले पनि कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने जिकीर गर्नुभयो ।
यो निर्वाचनमा दुई तिहाई सीट जितेर देशमा अधिनायकवादी राज्यको सपना पालेका कतिपय नेताको जमानत जफत हुने दावी पनि गर्नुभयो ।
नेता खाँणले पञ्चायतको अन्तिम बर्षताका आफूले वीरगञ्जको भाषणमा “यो वर्ष पञ्चायतको अन्तिम बर्ष हुन्छ र अर्को बर्षको क्यालेण्डरमा पञ्चायत कतै देखिने छैन” भन्ने अभिव्यक्ति दिएको स्मरण गर्दै भन्नुभयो,“ मैले यो बर्ष राजतन्त्रको अन्तिम बर्ष हुनेछ भनेकै बर्ष राजतन्त्र समाप्त भयो।” उहाँले भन्नुभयो,“ साम्यवादकै सपना देखेर कम्युनिष्ट शासन स्थापना गर्नेतिर जाने हो भने अब नेपालमा सिद्धिने पालो कम्युनिष्टहरुको हुनेछ र अर्को चुनावमा उहाँहरुले सबै क्षेत्रमा उम्मेदवार पनि पाउनुहुने छैन ।”
कांग्रेस नेता खाँणले एमाले र माओवादी नेताका अभिव्यक्तिका कारण यो चुनावमा उम्मेद्वार भन्दा पनि लोकतान्त्रिक अधिकारको उपयोग र रक्षाको मुद्दा महत्वपूर्ण बनेको बताउनुभयो ।
पत्रकारहरुसंग प्रेस र अभिव्यक्तिको स्वतन्त्रतासंगै लोकतान्त्रिक अधिकारको रक्षाको लागि उभिन आग्रह गर्नुभएका कांग्रेस नेता खाँणले नेपाली कांग्रेस राजनीतिक स्थायित्व कायम गरी देशलाई समृद्धितर्फ लैजाने र युवाहरुलाई स्वदेशमा रोजगारी दिने कार्यक्रम तर्जुमामा लागेको बेला कम्युनिष्टहरु नेपाललाई प्रयोगशाला बनाएर देश र जनतालाई राजनीतिक अस्थिरताको अन्तहिन समस्यामा उल्झाउन उद्धत रहेको आरोप लगाउनुभयो ।
“२००७ सालमा अधिनायकवादी राणा शासन ढल्यो, पञ्चायतले कांग्रेस र लोकतन्त्र सक्ने अभियान चलायो अनि पञ्चायत नै सकियो, त्यसपछि राजतन्त्र निरंकुश शैलीमा उत्रियो, राजतन्त्र सकियो ” कांग्रेस नेता खाँणले नेपाली जनताले २००७ सालको जनक्रान्तिका समयदेखि नै लोकतन्त्रकाप्रति साथ दिदै आएको उल्ल्ेख गर्दै भन्नुभयो, “अधिनायकवादमा जान खोज्ने हो भने नेपालमा कम्युनिष्टलाई जनताको साथ रहदैन,यिनीहरु पनि सकिन्छन्।”
कांग्रेस नेता खाँणले कम्युनिष्ट नेताहरुले नक्कली राष्ट्रवादको नारा ल्याएर जनमत आकर्षित गर्ने दुष्प्रयास गरिरहेको उल्लेख गर्दै भन्नुभयो,“ जुन पार्टीले संसारभरी राज्य र देश नरहने उद्घोष गर्दै संसारका मजदूरहरु एक होऔ भन्ने नारा अगाडि सारेका कार्ल माक्र्सलाई आदर्श मानेको छ, त्यस्तो पार्टीका नेताहरु राष्ट्रवादी हुन सक्दैनन् ।”
उहाँले कम्युनिष्ट पार्टीका नेताहरु नेपालमा जातिय,भौगोलिक,धार्मिक र साम्प्रदायिक द्घेष र विभाजनको बीउ रोप्दै हिडेकोले उनीहरुबाट विविधता बोकेको नेपालको राष्ट्रियता र अखण्डता सबल नहुने पनि ठोकुवा गर्नुभयो ।
मधेशमा बसेर सदियौ देखि सीमा र भूमिको रक्षा गर्दै आएका मधेशी समुदायलाई अर्को भूगोलमा बसेर गाली गर्दैमा राष्ट्रियता बलियो नहुने पनि उहाँले बताउनुभयो ।
काँग्रेस नेता खाँणले नेपालको हिमाल,पहाड र तराईलाई जोड्ेर राष्ट्रलाई समृद्धिको मार्गमा लैजाने नीति र कार्यक्रम अंगीकार गर्ने नेपाली कांग्रेसबाटै देशको राष्ट्रियतम सबल हुने दावी गर्नुभयो ।
उहाँले भौगोलिक,जातिय,धार्मिक,सांस्कृतिक र वैचारिक विविधता भएको नेपाल जस्तो मुलुकमा राष्ट्रिय एकता कायम गरी अखण्डता कायम राख्नका लागि लोकतान्त्रिक संसदीय व्यवस्था नै सर्वोत्तम भएको बताउनु भयो । अधिनायकवाद,परिवारवाद र एक विचारले चल्ने पद्धतिले यस्ता विविधतालाई समेटन नसक्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेता खाँडले नेपाली कांग्रेस विदेशमा रहनुभएका नेपालीको पनि मताधिकारको उपयोगको पक्षमा रहेको तर निर्वाचन आयोगले समयका कारण यसपटक सो अवसर दिलाउन नसकिने बताएको उल्लेख गर्दै कामका लागि विदेशिएका नेपालीहरुसंग भन्नुभयो,“ अर्को निर्वाचनमा तपाइँहरु जहाँ हुनुहुन्छ,, त्यहीबाट नेपालको भाग्य निर्माणमा सहभागी हुन पाउनु हुनेछ ।
कार्यक्रममा नेपाली कांग्रेस प्रचार प्रसार समन्वय समितिका सह संयोजक बद्री पाण्डले २०४८ सालदेखि नै संसदीय व्यवस्थाको अभ्यासमा लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमा संसदीय व्यवस्था निर्विकल्प होइन भनेर दिएको अभिव्यक्तिले नेपाली जनताले ७ दशकभन्दा लामो समयसम्म संघर्ष गरेर ल्याएको संविधानप्रति सो दलको अविश्वास प्रकट भएको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस राजनीतिक व्यवस्थाको टुंगो लगाएर आर्थिक समृद्धिमा केन्द्रित हुन अग्रसर रहेको बेलामा कम्युनिष्टहरुले मुलुकलाई पुन राजनीतिक अस्थिरतामा रुमल्याउन लागेका आरोप पनि लगाउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु,मन्त्रीहरु, भातृसंगठन तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा निर्वाचन परिचालन समितिका पदाधिकारी र प्रचारप्रसार समितिका साथै मिडिया सेन्टरका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्