चार महिना कामै नगरी तलब झ्याप



मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला शिक्षा कार्यालय काभ्रेले आयोजना गरेको बजेट तर्जुमासँग सम्वन्धित प्रवोधिकरण कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले  बजेट भन्दा पहिला कर्मचारी पठाउन अनुरोध गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीसँग तत्काल शिक्षक दरवन्दी मिलान गर्न, कर्मचारी खटाउन प्रमुखहरुले माग गरेका थिए ।  जिल्ला शिक्षा समितिको संयोजक जिल्ला समन्वय समितिको प्रमुख हुने ब्यवस्था छ ।

शिक्षा कार्यालयले आर्थिक वर्षको अन्त्यमा जथाभावी शिक्षकहरुको काज सरुवा गरे पछि स्थानीय सरकारका प्रमुखहरु शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गसँग रुष्ट हुँदै आएका छन् । साउन देखि असोज मसान्तसम्म विद्यालयका विद्यालय निरिक्षक, सहायक जिल्ला शिक्षा अधिकारी लगायतले काम नगरेको, स्थानीय सरकारसँगको समन्वयमा नपुगेको, फिल्ड कागज भन्दै हाजिर नै नगरी तलब खाईरहेको भन्दै प्रमुखहरुले आक्रोश पोखेका थिए । ‘हामी कर्मचारी नभएर शिक्षकहरुको तलब समयमै पठाउन नसक्ने, तपाईहरु भएका कर्मचारीहरुलाई स्थानीय तहमा खटाउन नसकेर फिल्ड कागज देखाएर तलब खुवाउने ?’–चौरी देउराली गाउँ पालिकाका प्रमुख दिनानाथ गौतमले भने ।

महाभारत गाउँपालिकाका प्रमुख कान्छामान जिम्बाले शक्तिको आडमा स्थानीय तहको अधिकार खोस्दै शिक्षकहरुलाई काज सरुवा गरिएको भन्दै आक्रोश पोखेका थिए ।  शिक्षा कार्यालय काभ्रेमा प्राप्त बजेटको ८२ प्रतिशत स्थानीय सरकारलाई विनियोजन भएको र १८ प्रतिशत मात्रै जिल्ला शिक्षा कार्यालय मार्फत खर्च गर्ने गरी अख्तियारी प्राप्त भएको शाखा अधिकृत लोकबहादुर वाईवाले बताए । छात्रा र दलित बालबालिकाहरुको बजेट मात्रै स्थानीय सरकारमा गएको बताउँदै त्यसको कार्यान्वयनका लागि स्थानीय सरकारका प्रमुखहरुलाई अनुरोध गरेका थिए । स्थानीय सरकारका प्रमुखहरु बेथाञ्चोक गाउँपालिकाका प्रमुख प्रेमप्रसाद तिमल्सिना, खानीखोला गाउँपालिकाका प्रमुख कृष्णबहादुर खुलाल, नगरपालिकाका उपप्रमुखहरु, शिक्षा अधिकारी दिपेन्द्र गुरुङ्ग लगायतले शिक्षामा सुधारका विषयमा धारणा राखेका थिए । जिल्ला समन्वय समितिका प्रमुख केसीले जिल्ला शिक्षा समितिको बैठक तत्कालै राखी शिक्षासँग भएका सबै समस्याका समाधानको प्रयास गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्