‘वाम गठबन्धनको लाल किल्ला पाँच नम्बर प्रदेश’



दाङ । नेकपा एमालेका प्रभावशाली नेता तथा प्रदेश नम्बर पाँचका भावी मुख्यमन्त्री शंकर पोख्रेलले पाँच नम्बर प्रदेशलाई पश्चिम नेपालको आर्थिक केन्द्रकोरुपमा विकास गर्ने बताउनुभएको छ ।
‘पाँच नम्बर जस्तो सम्भावना भएका अरु प्रदेश छैनन् । पश्चिम नेपालको आर्थिक केन्द्रकोरुपमा विकास गर्ने सोच रहेको उहाँले बताउनु भएको छ । ‘पाँच नम्बर प्रदेशलाई नमूना प्रदेश र जनताले गौरव गर्ने प्रदेशकारुपमा स्थापित गर्ने खाका मसँग छ’ नेता पोख्रेलले भन्नुभयो ।
आफ्नो नेतृत्वमा पाँच नम्बर प्रदेशको सम्बृद्धीको खाका कोर्ने उल्लेख गर्दै नेता पोखरेलले भन्नुभर्योे ‘जनताले जिम्मेवारी दिनेमा विश्वस्त छु । पाँच नम्बर प्रदेशमार्फत सिङ्गो मुलुकका लागि सुखद् सन्देश प्रवाह गर्न म आफै नै प्रदेशको नेतृत्व गर्न आएको हुँ ।’
‘राजनीतिक अधिकारका निमित्त हामी हिजो धेरै लड्यौ । आर्थिक समृद्धि र त्यसमा पनि समाजवादको वातावरण बनाउन वाम गठवन्धन गरेर चुनावी मैदानमा आएका छाँै । यो कसैलाई चुनाव जिताउन बनेको गठवन्धन होइन् । यो त आर्थिक समृद्धिको नेतृत्व र पार्टी एकीकरण गर्ने गरी बनेको गठवन्धन हो । यसकारण पनि दङ्गाली जनताले वाम गठवन्धनका उम्मेद्वारहरुलाई विजयी बनाउनुहुनेछ ।’ पोखरेलले भन्नुभयो ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्रीका रुपमा अघि सारिएका वाम गठबन्धनका उम्मेदवार नेता पोख्रेलले आफू एमाले र माओवादीको सहमतिका आधारमा मुख्यमन्त्रीको साझा उम्मेद्वार रहेको बताउनुभयो । उहाँले वाम गठवन्धनका शीर्ष नेता एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा पाँच नम्बर प्रदेशको नेतृत्व गर्ने गरी आफु अघि बढेको उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश नम्वर पाँचमा वाम गठवन्धनले दुई तिहाई ल्याउने जिकिर गर्नुभयो । नेता पोख्रेलले वाम गठबन्धनको लाल किल्ला पाँच नम्बर प्रदेश भएको बताउनुभयो । उहाँले पाँच नम्बर प्रदेशमा वाम गठबन्धनको प्रष्ट बहुमत रहेको उल्लेख गर्नुभयो । ‘हाम्रो सोच यहाँ एमालेलाई धेरै सिट जिताउने भन्दा पनि गठबन्धनलाई नै जिताउने हो । यो प्रदेश कम्युनिष्टको बहुमत भएको प्रदेश हो । जित सहज छ । यो तथ्याङ्कमा आधारित विश्लेषण हो’ नेता पोख्रेले भन्नुभयो ।
उहाँले देशलाई नै नेतृत्व गर्ने प्रदेशका रुपमा पाँच नम्वर प्रदेश निर्माणमा जोड दिएको बताउनुभयो । नेता पोख्रेलले प्रदेश पाँचका सबै जिल्लामा सडक सञ्जाल जोड्नु र त्यसको स्तरउन्नती गर्ने योजना गरेको उल्लेख गर्नुभयो । नेता पोख्रेलले स्थानीय स्रोत र साधनमा आधारित उद्योगहरु सञ्चालन गर्ने, सबै क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने र पाँच वर्षभित्र जनताको दैनिकी र जीवनशैली नै परिवर्तन गर्ने आफ्ना एजेण्डा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्