गैँडा उद्धारका लागि हात्ती सहितको टोली भारत पठाइयो



भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले बुधवार प्राविधिक सहितको टोली परिचालन गरेको छ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन शाखाबाट पशुचिकित्सक र प्राविधिक सहितको टोली बुधवार भारत पठाइएको निकुञ्जले जनाएको छ। भारतबाट प्राप्त सूचनाका आधारमा गैँडाको अवस्था बुझ्न भारत पुगेको टोलीले गैँडा भएको पुष्टि गरेपछि बुधवार उद्धारका लागि टोली भारत गएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं पूर्वी क्षेत्र प्रमुख अभिनय पाठकले जानकारी दिए।

उनका अनुसार चितवनबाट चारवटा हात्तीसहित करिब ४० जनाको टोली बुधवार बिहानै भारत पुगेको छ। भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीको सहयोगमा गैँडाको उद्धार गरिने जनाइएको छ। नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुईवटा गैँडा भेटिएको थियो।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पु¥याएकाले सो गैँडालाई डाट गरेर नियन्त्रणमा लिई ट्रकमा राखेर ल्याइने भएको छ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ। गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्