बजेट निकासा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या



विनोद सिंह विष्ट, बैतडी ।
दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ ।

यसअघि अस्पताल विकास समितिकै खातामा आउने रकम दशरथचन्द नगरपालिकाको खातामा आएको र अहिले सम्म बजेट निकासा नहुँदा अस्पतालमा औषधि, केमीकल लगायतका अतिआवश्यक कुराहरुको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले बताउनुभएको छ ।

जिल्ला अस्पताल र दशरथचन्द नगरपालिकाबीच समयमै समन्वय नहुँदा समस्या देखिएको हो । गएको असोज २६ गते नै बजेट निकासका लागि नगरपालिकालाई पत्र लेखेको डा. अवस्थीले बताउनुभयो । नगरपालिकाले विविध कारणले अझै पनि बजेट निकासा गर्न सकिरहेको छैन् । अस्पतालका लागि निकासा गर्नुपर्ने बजेट छिट्टै निकासाका लागि पहल गर्ने दशरथचन्द नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मोहन चन्दले जानकारी दिनुभयो ।

कर्मचारी अभाव, निर्वाचन लगायतका कारणले समयमा बजेट निकासा हुन नसकेको उहाँले स्वीकार गर्नुभएको छ । अस्पतालमा देखिएको समस्या समाधानका लागि पहल गर्ने अस्पताल विकास समितिका अध्यक्ष रमेश भण्डारीले बताउनुभयो ।

स्वास्थ्यको बजेट सबै स्थानीय तहहरुमा गईसकेपछि पहिलो चौमासिकमा कुनै पनि कार्यक्रम सञ्चालन नभएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई हतारमा स्थानीय तहमा हस्तान्तरण गर्दा समस्या आएको डा. अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्