आखिर किन गरीयो परीक्षा सार्नका लागि बालककै हत्या ?



भारतको हरियाणास्थित रायन इन्टरनेसनल स्कूलमा त्यहाँका विद्यार्थी प्रद्युम्नको केही समयअघि भएको हत्यामा सनसनीपूर्ण खुलासा भएको छ ।

हरियाणा प्रहरीले स्कूल बसको कन्डक्टरले यौन शोषण गरेर प्रद्युम्नको हत्या गरेको निष्कर्षलाई खारेज गर्दै सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले यस मामिलामा स्कूलको ११ कक्षामा पढ्ने बालकलाई हिरासतमा लिएको छ ।

सीबीआईको दाबीअनुसार, उक्त विद्यार्थीले स्कूलको परीक्षा अनि अभिभावक शिक्षक बैठकलाई टार्नका लागि प्रद्युम्नको हत्या गरेका हुन् ।

आरोपित विद्यार्थीलाई दिउँसो जुभेनाइल जस्टिस बोर्डसमक्ष पेश गरिनेछ । विद्यार्थीले अपराध कबुलिसकेको सीबीआईको दाबी छ ।

सीबीआई सूत्रका अनुसार, आरोपित विद्यार्थी छिट्टो रिसाउने र मानसिक रूपमा कमजोर खालको व्यक्ति हो । उसको उपचार पनि चलिरहेको छ । अनुसन्धान नियोगका अधिकारीका अनुसार, यी विद्यार्थीमाथि शंका सीसीटीभी फूटेज हेरेर थाहा भएको थियो ।

फूटेजमा कसैको पनि अनुहार प्रस्ट नदेखिएपनि चारजनामाथि शंका थियो । चारैजनासँग सोधपुछ गरेपछि आरोपित विद्यार्थीले अपराध कबुलेका थिए ।

सीबीआईले अनुसन्धानका क्रममा स्पट रिकन्स्ट्रक्सनको काम गरेको थियो । आरोपित विद्यार्थीले अपराधको बारेमा साथीहरूलाई जानकारी दिएको सीबीआई बताउँछ ।

परीक्षा टार्नका लागि म केही गर्छु भनी उक्त विद्यार्थीले भनेको रहेछ । सीबीआईका अनुसार, विद्यार्थीले प्रद्युम्नको हत्या गरेपछि चक्कुलाई फ्लश गरिदिएको थियो ।

तर आरोपित विद्यार्थीका बुवाले चाहिँ आफ्नो छोरालाई हतारमा फसाइएको बताएका छन् । पिताका अनुसार, उनी र उनको छोरालाई मंगलवार राति लामो समयसम्म सीबीआईका अधिकारीहरूले सोधपुछ गरेर छोरालाई हिरासतमा लिए । सीबीआईले धेरैचोटि घरमा आएर जाँचबुझ गरेको र बच्चाको ब्यागसहित अन्य स्कूले सामान जफत गरेको उनले बताए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्