भक्तपुरमा ट्याक्सीभित्र पुरुषको शव फेला



पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ ।मध्यपुरथिमि नगरपालिका मनोहरा जग्गा प्लानिङमा ट्याक्सीभित्र आज एक पुरुषको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत फेला परेका हुन् ।

बा १ ज १०४० नम्बरको ट्याक्सीमा अन्दाजी ४० वर्षका पुरुषको शव ट्याक्सीको पछाडि सिटमा फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिनुभयो । उहाँले मृतकको पहिचान हुन नसकेको जानकारी दिनुभयो । प्लानिङको बीच एकान्तमा ढुंगा तथा इँटाले टाउको र मुखमा हानेर मुख चिन्नै नसक्ने अवस्थामा हत्या गरेको पाइएको छ ।

प्रहरीले घटनास्थललाई घेराबन्दीमा राखेर अनुसन्धान शुरु गरेको छ । भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको विशेष टोलीसहितले अनुसन्धान शुरु गरी घटनामा संलग्नको खोजी गर्नुका साथै मृतकको पहिचान गर्ने पहल सुुरु गरेको छ ।

दिब्यश्वरी प्लानिङको खाली जग्गामा रोकिराखेको ट्याक्सीमा भेटिएको र टाउकोमा ढुंगाले हानेको जस्तो घाउ भएकाले कसैले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको बताउनुभयो ।

प्रसाईका अनुसार घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण राणा नेतृत्वको टोली अहिले घटनास्थल पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्