कांग्रेसले उम्मेदवारलाई चार करोड बाँड्यो



 ‘पार्टीले दिएका एकलाख रुपैँया त एकदिनलाई पनि पुग्दैन’ -उमेद्वार

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली काग्रेसले आफ्ना उमेद्वारहरुका लागि साढे चार करोड भन्दा बढी रकम वितरण गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि उमेद्वारलाई टिकट दिने क्रममा काग्रेसले प्रति उमेद्वार एकलाखका दरले वितरण गरेको हो ।

तालमेल बाहेक काग्रेसका प्रतिनिधिसभा तर्फ १ सय ६० र प्रदेशसभा तर्फ झण्डै ३ सय २० जना उमेद्वार चुनावी मैदानमा छन् । काग्रेसले वितरण गरेको एकलाख रुपैयाले उमेद्वारहरुलाई एक दिनको खर्च पनि नपुग्ने बताइएको छ । आउदो मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलका उमेद्वारहरुले चुनावी प्रचारप्रसारलाई तिव्र बनाउदै लगेका छन् । नेताहरुको चुनावी प्रचारप्रसार र उनिहरुले गरेको खर्च हेर्दा प्रति उमेद्वार करोडौ खर्च हुने देखिएको छ ।

निर्वाचन आयोगले उमेद्वारहरुको खर्चको सिमा तोकेको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्ष तर्फ प्रतिनिधिसभा तर्फका उमेद्वारले २५ लाख र प्रदेशसभा तर्फका उमेद्वारले १५ लाख रुपैया सम्म खर्च गर्न पाउने छन् । दलका नेताहरुले आयोगको सिमामा रहेर खर्च भएको हिसाब वुझाउने गरेपनि बास्तवमा उनिहरुले पसाचौ दशौ गुणा बढी रकम खर्च गरिरहेका हुन्छन् ।

नाम उल्लेख नगर्ने सर्तमा काग्रेस बाट प्रतिनिधिसभा तर्फ उमेद्वार भएका एक नेताले नेपाल समाचारपत्रसंग भने– एमाले–माओबादी एक भएर निर्वाचनमा होमिएका छन्, उनिहरुलाई हराउनको लागि मेरो कम्तिमा पनि ५ करोड रुपैया खर्च हुन्छ । चुनावमा कति खर्च हुन्छ भन्ने बारे नेपाल समाचारपत्रले सोधेको प्रश्नमा प्रदेशसभामा प्रत्यक्ष तर्फका उमेद्वारहरु धेरैले कम्तिमा ३ करोड खर्च हुने बताएका छन् ।

उमेद्वारलाई पार्टीले दिने खर्च बारे काग्रेस केन्द्रिय कार्यालयका सचिव प्रदिप पराजुलीले नेपाल समाचारपत्र संग भन्नुभयो– पार्टी केन्द्रिय कार्यालयले प्रत्यक्ष तर्फका उमेद्वार हरुलाई टिकट दिदा सगुन स्वरुप प्रति उमेद्वार एक लाख रुपैयाको दरले वितरण गरिएको हो । सचिव पराजुलीका अनुसार तालमेल गरेको बाहेक प्रतिनिधिसभातर्फ १ सय ६५ जना र प्रदेशसभा तर्फ ३ सय २० जनालाई एक लाखको दरले वितरण भएको छ ।

‘काग्रेसले चुनाव खर्च एक लाख दिएको छ, यसले मेरो एकदिनको खर्च पनि पुग्दैन’ सिन्धुपाल्चोकका एक काग्रेस उमेद्वारले भने– चुनाव लड्न कति पैशा चाहिन्छ भन्ने कुरा उमेद्वार बनेर फिल्डमा आएपछि मात्र थाहा हुन्छ । ‘चुनाव जित्नको लागि अलि अलि पैशा त खर्च गरिहाल्नु पर्छ नी’ काभ्रेका उमेद्वारले पनि यस्तै जवाफ दिदै भने बाम गठबन्धनलाई हराउन मनि, माइण्ड र मशल तिनै थरी प्रयोग गर्नुपर्छ ।

चुनावमा उमेद्वारहरुले अत्याधिक रकम खर्च गर्ने भएपनि आचार संहिता अनुसार त्यसको वास्तविक हिसाब किताब खोज्ने प्रचलन छैन । निर्वाचन आयोगले पनि उमेद्वारले वुझाएको हिसाबलाई नै मान्यता दिने हुदा न्युन खर्च भएको देखिन्छ । तर, वास्तविक रुपमा विजय हुने सम्भावना बोकेका उमेद्वारहरुले करोडौ रुपैया खर्च गर्ने गरेको कुरा स्पष्ट देखिने सर्वसाधारणहरुले समेत बताउदै आएका छन् ।

आफ्नो क्षेत्रमा चुनावी प्रचारप्रसारमा जान लागेका ललितपुरका प्रेम महर्जन भन्छन– तपाई उमेद्वार संग सात दिन संगै हिड्नुस चुनाव अवधिभरमा कति करोड खर्च हुने रहेछ आकलन गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्