जनता संग भोटमाग्न डोटीका नेता गाउँ-गाउमा



विमल विष्ट, डोटी ।
आउँदो २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावका लागि डोटीका राजनैतिक दलले उम्मेदवारी दर्ता गरे सँगै चुनावी अभियान लिएर गाउँ पसेका छन् ।

मतदातालाई आफ्नो पक्षमा पार्दै उमेदवारलाई विजयी गराउन दलका कार्यकर्ताहरुलाई डोटीमा भ्याई–नभ्याई छ । उनीहरु प्रचार प्रसारका लागि यहाँका स्थानियका घरदैलोसम्म पुग्न थालिसकेका छन् ।

डोटीका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम–गठबन्धनका उम्मेदवार र जिल्लाका नेताहरु पनि प्रचार प्रसारका लागि गाउँ पसेका छन् । तर गाउँका किसानलाई भने अहिले धान बाली भित्र्याउने चटारो भएको बडीकेदार गाउपालिकाका स्थानियबासी चक्र मटेनीले बताउनु भयो ।

यतिबेला जिल्लाभर किसानलाई धान थन्क्याउने र विभिन्न बाली लगाउने चटारो रहेको बताउदै उहाँले भन्नु भयो ‘चुनाव आयो रे, नेताहरु गाउँ,गाँउमा डुल्न थालिसके,हामीलाई बाली थन्काउने, लगाउने चटारो छ, नेतालाई मतदाता आफ्नो पक्षमा पार्ने चटारो छ ।’

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि जिल्लामा आगामी मंसिरमा २१ चुनाव हुँदैछ । मतदान गर्ने दिन आउन अब २९ दिन मात्रै बाँकी छ । तर गाउँका किसानलाई चुनावले छोएको छैन । कतिपय किसान खेती समाल्नमै व्यस्त रहेपनि आफ्नो पीडा बुझिदिने नेताले जितोस् भन्ने कामना गरिरहेका छन् ।

चुनाव अघिनै घरको काम सक्ने र मनपर्ने दलका कार्यक्रममा सहभागी हुने धेरै किसानको धोको छ । गएको असारमा भएको स्थानीय चुनावमा किसान खेतीपाती छाडेरै भए पनि चुनावमा सक्रिय बनेका थिए । तर अहिले भने किसानले कम चासो लिएका छन् । ‘पार्टीका पछि लागे पेट के ले भर्ने ?’ जोरायल गाउँपालिका–५ गडसेराका गगनसिं चोखालले भने ‘मानो फलाएर मुरी भित्राउने यो बेला हामीलाई चुनावभन्दा खेतीपाती नै प्यारो छ ।’

पार्टीहरूले कृषिप्रधान देशको नाम अनुसार किसानका हितमा काम नगरेको उहाँको गुनासो छ । त्यसो त दलहरुले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीका बारे प्रचार प्रसार गर्दै मत माग्न थालिसकेका छन् ।

डोटीमा दलहरुले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचार प्रसार समितिहरु निर्माण गरेर धमाधम चुनाव प्रचार प्रसार थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्