जिम्बाबेका उपराष्ट्रपति बर्खास्त



हरारे, (एजेन्सी)
जिम्बाबेका उपराष्ट्रपति इम्मर्सन नान्गावालाई उनको पदबाट हटाइएको सरकारी शूत्रले सोमबार जनाएको छ। संचारमन्त्री सिमोन खाया मोयोले ७५ वर्षीय नान्गावाले सरकारलाई असहयोग गर्दै धोखा दिएको बताएका छन्।

उनलाई हटाइएपछि राष्ट्रपति रोवर्ट मुगावेकी पत्नी ग्रेसले आफ्नो पतिको पदचिन्ह पछ्याउँदै राजनीतिमा अघि बढ्ने संभावना बढेको छ। उनले नै उपराष्ट्रपतिलाई हटाउन मुगाबेमाथि दबाब दिएको दि हेराल्ड अखबारले जनाएको छ।

संचारमन्त्रीले भनेका छन्– ‘कर्तव्य निर्वाह गर्ने क्रममा नान्गाबाको जिम्मेवारीमा अस्थिरता देखिएको छ। उनले विद्रोही स्वभाव प्रदर्शन गरेका छन्।’ पूर्वगुप्तचर प्रमुख नान्गावा ९३ वर्षीय राष्ट्रपति मुगाबेको बलियो उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो।

उनको बर्खास्तीले अब आगामी महिना हुने सत्तारुढ जानु–पीएफ पार्टीको विशेष कंग्रेसमा ग्रेस मुगाबेलाई उपराष्ट्रपति बनाइने धेरै संभावना रहेको छ। राजधानी हरारेमा आइतबार आयोजित आदिवासी चर्च समूहको एउटा र्यालीमा ग्रेस मुगाबेले भनेकी थिइन्, ‘हामीले सर्पको टाउकोमै प्रहार गर्नुपर्दछ। पार्टी टुक्राउन खोज्ने वास्तविक सर्पलाई पाठ सिकाउनै पर्छ। हामी एकीकृत पार्टीको हिसाबले कंग्रेसको आयोजना गर्न गइरहेका छौं।’
गत महिना ग्रेस मुगाबेले सरकारविरुद्ध विद्रोहको षड्यन्त्र भइरहेको र त्यसमा नान्गावाका समर्थकहरू लागिपरेको चेतावनी दिएकी थिइन्। नान्गावाले चालिस वर्षभन्दा लामो समय मुगावेको निकट रहेर काम गरेका थिए।

सन् १९७७ मा स्वाधिनताको युद्धको दौरानमा उनले मुगाबेको विशेष सहयोगीको भूमिका निभाएका थिए। उनको तिक्ष्ण बुद्धि र तार्किक शक्तिका कारण उनलाई पार्टीमा ‘गोही’ को उपनाम दिइएको थियो। उनले अहिलेसम्म आफूलाई बर्खास्त गरिएकोमा कुनै पनि टिप्पणी गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्