धतुरो रोपेपछि अम्बा फल्छ त ?

सुशील देवकोटा

देशमा मौसम परिवर्तन हुँदै छ र वातावरणमा चिसोपना बढ्दै गैरहेको छ। यहाँको वातावरणमा जति चिसोपना बढ्दै छ, त्यो भन्दा धेरै तातो हुँदै छ मुलुकको राजनीतिक वातावरण। लामो समयदेखि प्रतीक्षा गरिएको प्रतिनिधिसभाको चुनावको घोषणासँगै नेपालको राजनीतिक वातावरणको ताप ह्वात्तै बढेको छ। हरेक पार्टी र त्यसका मुख्य नेताहरू अहिले राजनीतिक तापले रन्थनिएको अवस्थामा छन्। उनीहरू के गर्दा कसो होला, कसरी अगाडि बढ्ने भन्नेमा धेरै व्यस्त छन्। कसलाई कहाँबाट टिकट दिने, कसलाई टिकट नदिने, कसलाई प्रत्यक्षमा उम्मेदवारी दिलाउने, कसलाई समानुपातिकमा समेट्ने अनि कसलाई केवल सान्त्वनाका पोका थमाउने र अन्य कुन पार्टीसँग कहाँ के–कसरी तालमेल गर्ने विषयमा दलहरू तीव्ररूपमा छलफलमा लागे। यो छलफलले केही निकास पाई पनि सक्यो। चुनाव नसकिउन्जेल यस्ता छलफल चलिरहन्छन् पनि। यो स्वाभाविक पनि हो, किनकि देशले जनप्रतिनिधि छान्ने बेला हो यो, चुनावको बेला हो यो।

चुनाव अर्थात् जनताले आफ्नो प्रतिनिधि छान्ने दिन। जनताले छानेका प्रतिनिधिहरू अर्थात् जनप्रतिनिधिहरूले देश सञ्चालन गर्ने भएर लोकतन्त्रलाई जनताको शासन भनिएको हो। ती जनप्रतिनिधिहरू इमानदार, सक्षम र दूूरदर्शी भए देशले सकारात्मक काँचुली फेर्छ र देश विकासको बाटोमा लम्किन्छ र दौडिन्छ पनि, तर यदि ती जनप्रतिनिधि भ्रष्ट भए भने जनताले त दुःख पाउँछन् नै, देशको अस्तित्व संकटमा पर्ने अवस्थासमेत आउन सक्छ। त्यसैले त चुनावलाई जनताको दिन पनि भनिन्छ नि। किनभने त्यो नै एकमात्र यस्तो दिन हो, जुन दिन देशको सम्पूूर्ण शक्ति जनताको हातमा हुन्छ र यथार्थमा जनता जनार्दन हुन्छन्। देशको जिम्मा कसलाई र कस्ता मान्छेलाई दिने भन्ने निर्णय गर्ने अधिकार जनताको हुन्छ। त्यो दिनमा हामीले इमानदार, सक्षम र दूूरदर्शी प्रतिनिधि छान्न चुक्यौं भने त्यसपछिका दिनहरूमा ती नेताहरूले लोकतन्त्रको नाममा गरेको मनपरितन्त्र टुलुटुलु हेरेर बस्ने र धारे हात लगाएर तिनलाई गाली गर्ने अनि सराप्नेबाहेक हामीसँग अन्य विकल्प हुँदैन।

हालका दिनहरूमा निकै शक्तिशाली बनेको सामाजिक सञ्जाल र विभिन्न पत्रपत्रिकामा छापिएका लेखहरू पढ्दा लाग्छ– अधिकांश नेपाली जनता अहिलेका धेरैजसो नेता र तिनको कार्यशैलीप्रति रुष्ट छन्। यो अस्वाभाविक पनि होइन। किनकि चुनाव जितेर गएपछि उनीहरू जनताको आशा र चाहना विपरीत जसरी केवल सत्ता र कुर्सीको हानथापमा अल्झिए, त्यो देखेपछि र भोगेपछि जनता रुष्ट हुनु जायज नै हो। तर, यहाँ सोच्नै पर्ने कुरा के हो भने, तिनीहरूलाई त्यो मनपरितन्त्र गर्ने अधिकार कसले दिएको हो ? हामीले नै होइन ? सत्ता र कुर्सीको नाङ्गो नाच नाच्ने अवसर कसले दिएको हो ? हामीले होइन ? अनि ? जब हामी स्वयंले नै तिनीहरूलाई त्यहाँ छानेर पठाएका हौं भने दोषचाहिँ उनीहरूलाई मात्रै दिएर हामी पानीमाथिको ओभानो बन्न मिल्छ ? यहाँ तर्क उठ्ला, हामीले त त्यस्तो गर्छन् भन्ने सोचेर पठाएका होइनौं नि। हो, सही कुरा हो हामीले त्यस्तो सत्ता र कुर्सीको लागि ब्वाँसो जसरी लुछाचुँडी गर्छन् भन्ने सोचेनौं वा जानेनौं। तर कतिपटक त अहिलेका नेताहरूमध्ये नै कतिपय नेताहरू पटक–पटक छानिएर आएका छैनन् र ? कसले जिताएको त उनीहरूलाई ? हामीले नै होइन ?

हाम्रा अहिलेका अधिकांश नेताहरूलाई देश केवल यस कारणले चाहिएको छ कि उनीहरूलाई सत्ता चाहिएको छ र कुर्सी चाहिएको छ। सत्ता र कुर्सीमा बसेपछि कसरी तर चाट्न पाइन्छ भन्ने उनीहरूले राम्रैसँग बुझिसकेका छन्। उनीहरूलाई यो मतलव छैन कि देशमा शान्ति सुरक्षाको प्रत्याभुूति जनताले महसुस गरिरहेका छन् कि छैनन्। कसरी कृत्रिम अभाव झेलिरहेका छन् र कसरी प्रदूषित वातावरणमा सास फेर्नसमेत डराउँदै बाँचिरहेका छन् नेपाली जनता, जीवनको लागि अति अनिवार्य पानीसमेत भनेजति पिउन नपाउने अवस्थामा छन् देशका राजधानीवासीहरू भने अन्य चीजको त कुरै गर्नु व्यर्थ छ। बाटोघाटोको अवस्था हेर्यो भने आँखामा आसु आउँछ, महँगीको मारले आक्रान्त पारेको छ सबैलाई। शिक्षा र स्वास्थ्यमा हदभन्दा धेरै व्यापारीकरण भएको छ। तर हाम्रा नेताहरू आफ्नै स्वार्थमा मग्न छन्। उनीहरूलाई देशको विकाससँग र जनचाहनासँग कुनै सरोकार नै छैन। यथार्थमा उनीहरूलाई जनता चाहिएको नै छैन। बरु जनतालाई चाहिँ उनीहरू नै चाहिएको छ।
त्यही प्रचण्डहरू चाहिएको छ, त्यही शेरबहादुरहरू, केपी ओली, त्यही माधव नेपाल, वामदेव, झलनाथहरू, त्यही बाबुराम, हिसिला यमीहरू, त्यही हृदयेश त्रिपाठी, सर्वेन्द्रनाथ, राजेन्द्र महतो र महन्त ठाकुरहरू नै चाहिएको छ। नभए किन हामी पटक–पटक उनीहरूलाई नै चुन्छौं र उनीहरूलाई नै जिताएर ‘ल जाओ, देशलाई चुसेर खाओ’ भन्ने अधिकार दिएर पठाउँछौं त ?
नेपालमा कथित गणतन्त्रको स्थापनापछि हामी कोही कांग्रेस भयौं, कोही एमाले भयौं, कोही माओवादी अनि कोही मधेसवादी भयौं। आदि इत्यादि वादी बन्ने होडमा हामी नेपाली बन्नबाट कतै चुकिरहेका त छैनौं ? सोच्न ढिलो भैसकेको छ। देशभन्दा ठूूलो पार्टी र तिनका नेता होइनन् तर हामीमध्ये केही पार्टीको यस्तो अन्धो भक्त भएका छौं कि दिनको उज्यालोमै ती पार्टी र तिनका नेताहरूले जनताको उपहास गर्दै देशलाई बर्बाद गरिरहेकोसमेत देख्न सकिरहेका छैनौं। हाम्रो यही अन्धो भक्तिको परिणामले उनीहरू यस्तोसम्म दुस्साहस गर्दै छन् कि उनीहरू आज गणेश लामा, दीपक मनाङ्गे र रेखा थापाहरू जस्ताको नाम हाम्रा जनप्रतिनिधिको रूपमा सिफरिस गर्नसमेत लाज मान्दैनन्। अनि हामी अन्धाहरूचाहिँ त्यस्ता व्यक्तिहरूलाई उठाउनुको परिणाम बिर्सिएर तेरो पार्टीले फलानोलाई उठाउन हुने हाम्रो पार्टीले किन नहुने भन्ने विवादमा अल्झिन्छौं।

कहिलेकाहीँ त लाग्छ, हामी जानी–जानी नै त्यस्ता मान्छेहरूलाई जिताएर पठाउँछौं, ताकि उनीहरूले गरेको गल्तीमा गाली गर्दै हामी समय काट्न सकौं। तिनको गल्ती हाम्रो चिया गफ बनोस्। त्यसैले लाग्छ– ती थोत्रा, पुराना र अक्षम नेताहरूलाई हामी होइन, बरु हामीलाई नै तिनै नेता चाहिएको छ। तिनको आदत भैसकेको छ हामीलाई। जबसम्म हामी तिनको नाङ्गो नाच हेर्दैनौं तबसम्म हामीलाई खाएको नै पच्दैन। हामीले पटक–पटक तिनलाई अवसर दिइसकेका छौं। तिनीहरूको आचरण र क्षमता देखिसकेका छौं, बुझिसकेका छौं। र, पनि हामीले उनीहरूलाई नै जिताएर पठाउँछौं भने यसको स्पष्ट अर्थ हुन्छ– हामी नै देशमा विकास भएको हेर्न चाहँदैनौं।

यदि यस्तो होइन भने अवसर हाम्रो अगाडि छ। हाम्रो सबैभन्दा ठूूलो शक्ति हाम्रो मतलाई, हाम्रो भोटलाई, फगत एक कागजको खोस्टो सम्झिने भूूल गर्नेहरूलाई पाठ किन नपढाउने त ? किन नछान्ने नयाँ नेताहरूलाई ? किन अवसर नदिने नयाँ पार्टीहरूलाई ? हो, म मान्छु हाम्रो देश प्रयोगशाला होइन। तर सपना, कल्पना र आशामा बाँच्न बानी परिसकेका हामी नेपालीले एकपटक यो ‘रिस्क’ लिनै पर्छ। यो आशामा कि नयाँ जोश र जाँगरका साथ देशलाई निकास दिन्छौं भनेर अगाडि बढेको जमातले पो अब देश सपार्छन् कि ? यदि यो ‘रिस्क’ नलिने हो भने ती पुराना नेताहरूले जतिसुकै नाङ्गो नाच देखाए पनि तिनीहरूलाई गाली गर्ने अधिकार हामीलाई हुनेछैन भन्नेचाहिँ हामीले बिर्सिनुहुँदैन। किनकि यदि हामीले धतुरो रोप्छौं भने धतुरो नै फल्छ। धतुरो रोपेर अम्बा फल्दैन।

LEAVE A REPLY