मकवानपुरको चुनावी रौनक, १८ वर्षपछि राजनीतिक भिडन्त



 

रोशन पराजुली, हेटौंडा

२०२० सालमा जन्मिनुभएका कृष्णप्रसाद दाहाल २०३७ सालको विद्यार्थी आन्दोलनबाट हालसम्म राजनीतिमा सक्रिय हुनुहुन्छ। बुबा भूमिनन्द दाहाल र आमा ढाकाकुमारीका छोरा कृष्णप्रसाद हालसम्म २ पटक सांसद भइसक्नुभएको छ।

रोचक कुरा के छ भने उहाँले २०४८ र २०५६ मा हालका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई १ नम्बर निर्वाचन क्षेत्रबाटै पराजित गर्नुभएको हो। संयोगले अहिले पनि उनै कमल थापासँग दाहालको भिडन्त पर्दैछ। २०४३ मा जनपक्षीय प्रधानपञ्च हुनुभएका दाहालले ४ कार्यकाल एमाले पार्टीको सचिव भएर एमाले हाँक्नुभएको छ।

जनआन्दोलनताका कमल थापा गृहमन्त्री थिए। उनै कमल थापासमेतका राजावादीहरूका विरुद्ध सडकमा उभिएका दाहालले राजनीतिमा सक्रिय हुँदा आईएसम्मको अध्ययन गर्न पाउनुभयो। वाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार हुनुभएको छ दाहाल।
उपप्रधान तथा ऊर्जामन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका कमल थापाले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ। नेपाली कांग्रेसको समर्थनमा उक्त क्षेत्रबाट उम्मेदवारी दर्ता गराउने भने पनि उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुग्दा राप्रपाका समर्थकबाहेक कांग्रेसका थिएनन्। थापाले केही घण्टापछि आफूलाई कांग्रेसले समर्थन गर्छ भन्ने कुरामा ढुक्क रहेको सुनाउनुभएको थियो।

टेबलटेनिसका कुशल खेलाडी थापा कुनै बेला नेपाली फुटबल टिमका कप्तान रहनुभएको थियो। उहाँले राजनीतिशास्त्र तथा अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन गर्नुभएको छ।
मरिचमान सिंह नेपालका प्रधानमन्त्री भएका समयमा उहाँ सञ्चारमन्त्री, राजाको शासनकालमा गृहमन्त्री तथा प्रचण्ड, केपी ओली र शेरबहादुर देउवा तीनै जना प्रधानमन्त्री भएका समयमा उहाँ उपप्रधानमन्त्री रहनुभएको छ।

यसअघि २०६४ सालमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्नुभएका थापाले धरौटीसमेत जोगाउन सक्नुभएको थिएन। तर, २०७० सालको चुनावमा भने उहाँ समानुपातिकतर्फबाट सभासद बन्नुभएको थियो।

२०२७ साउनमा मकवानपुरको हर्नामाडीमा जन्मिनुभएका इन्द्रबहादुर बानियाँले यसअघि २०७० मा भएको निर्वाचनमा नेपाली कांग्रेसबाट सभासद विजयी भएपछि उहाँको राजनीतिक यात्रा चुलिएको हो।
बानियाँ व्यवस्थापन विषयका स्नातक हुनुहुन्छ। हाल नेपाली कांग्रेसका मकवानपुर सभापति बानियाँ २०४६ बाट राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँ यसअघि पर्यटन तथा गृहराज्यमन्त्रीसमेत हुनुभएको थियो।

मकवानपुरमा निकै मेहनतसाथ कांग्रेसलाई एउटा उचाईमा लैजाने श्रेय प्राप्त गर्नुभएका उहाँलाई मकवानपुरको १ नम्बर क्षेत्रबाटै उम्मेदवार बनाउने चर्चा थियो। तर, कमल थापालाई क्षेत्र सुरक्षित गरिदिँदा बानियाँलाई २ नम्बरको उम्मेदवार बनाइयो। उहाँ पार्टी सभापति भएकै बेला स्थानीय निर्वाचनमा समेत कांग्रेसलाई महत्त्वपूर्ण जित दिलाउनुभएको छ।

प्रत्यक्षमा परिचित महिला
नेपाली कांग्रेसकी महालक्ष्मी डीना उपाध्याय दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएको छ।

२०२३ असोज २२ गते चितवनको चैनपुरमा जन्मिनुभएका डीना हाल नेपाली कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ। यसअघि उहाँ जलस्रोत राज्यमन्त्री हुनुभएको थियो। ग्रामीण विकास विषयमा स्नातकोत्तर डीना २०३६ सालदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ। उहाँका ‘संविधान र नेतृत्व’, ‘युवा शक्ति र नेपालको विकास’, ‘महिला, समाजवाद र वीपी’ लगायत कृतिहरू प्रकाशित छन्।

नेपाली राजनीतिमा स्थान बनाउन पछिल्लो समय निकै कसरतसाथ अघि बढ्दै आउनुभएकी उहाँले करिब १ वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो। डीनालाई पार्टीले समानुपातिकतर्फ उम्मेदवार बन्न आग्रह गरेको थियो।

तर, शुरूवातदेखि नै प्रत्यक्ष उम्मेदवार बन्न पार्टी केन्द्रमा लबी गरिरहनुभएकी उहाँ अन्ततः लामो राजनीतिक प्रयासपछि प्रत्यक्ष उम्मेदवार बन्नुभएको छ। प्रत्यक्ष तर्फको उम्मेदवार बन्न उहाँले पार्टीभित्र ठूलै लडाईं लड्नुपरेको थियो।

पीएचडीका विद्यार्थी पनि
नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला संयोजक प्रह्लाद लामिछानेले मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ।

२० वर्षको चुनौतीपूर्ण राजनीतिक यात्राको अनुभव बटुलेका लामिछानेको जन्म २०२९ साल फागुन २९ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ मा भएको थियो। २०४४ सालमा मसाल विद्यार्थी संगठनमा आवद्ध भएसँगै उहाँको राजनीतिक जीवन शुरूआत भएको थियो। उहाँ २०४८ सालमा सोही संगठनको अध्यक्षसमेत हुनुभएको थियो। तत्कालीन माओवादीमा रहनुभएका उहाँलाई २०५८ सालदेखि २०६० सालसम्म सरकार पक्षले जेल हालेको थियो। लामिछानले ‘नेपालमा संघीयताका चुनौतीहरू’ भन्ने विषयमा पीएचडी गरिरहनुभएको छ भने समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ।

उहाँ २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा माओवादीका तर्फबाट मकवानपुरको क्षेत्र नम्बर ३ को उम्मेदवार बनेर विजयी हुनुभएको थियो।

सञ्चार उद्यमी उम्मेदवार
२०३९ साल असारमा मकवानपुरको उत्तरी क्षेत्र पालुङमा जन्मिनुभएका ध्रुवराज ढकाललाई नयाँ शक्तिबाट मकवानपुरमा प्रदेशसभा क्षेत्र नम्बर २ को (क) बाट उम्मेदवार बनाइएको छ।

सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय सदस्य तथा प्रेस सोसाइटीका केन्द्रीय सदस्य ढकाल रेडियो पालुङका स्टेसन म्यानेजर हुनुहुन्छ।
२०५७ बाट राजनीतिमा सक्रिय उहाँ नयाँ शक्तिको स्थापनाकालबाट जिल्ला अभियन्ताका रूपमा क्रियाशील हुनुहुन्छ। व्यवस्थापन विषयमा स्नातक ढकाललाई सञ्चार उद्यमीका रूपमा नयाँ शक्तिले अघि बढाएको हो।

महिला ८ मात्र
आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मकवानपुरमा ८ जना महिलाले उम्मेदवारी दिएका छन्। कात्तिक १६ गते भएको मनोनयन दर्तामा ६९ जना उम्मेदवारमध्ये ८ महिला छन्।
प्रत्यक्षतर्फ उम्मेदवार दिने महिलामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मंगोल अर्गनाइजेसनबाट बिनिता लामा, नेपाल मजदूर किसान पार्टीबाट साधना रानामगर छन्। प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी डीना उपाध्याय हुनुहुन्छ।

उम्मेदवार दिने अन्य महिलामा प्रतिनिधिसभा क्षेत्र नम्बर १ को (ख) बाट विवेकशील साझा पार्टीकी प्रतिभा डंगोल तथा राष्ट्रिय जनमोर्चाकी हीराकुमारी तिमल्सिना हुनुहुन्छ भने प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान र स्वतन्त्रकी अप्सरा लोप्चन हुनुहुन्छ। (ख) बाट नेपाल मजदूर किसान पार्टीकी चिनीमाया बल रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।

एमाले र कांग्रेस टक्कर
मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) एमाले माओवादी सम्मिलित वाम गठबन्धनका माओवादी मकवानपुर संयोजक प्रेमबहादुर पुलामीविरुद्ध कांग्रेस राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका धर्मराज लामिछानेले उम्मेदवारी दिनुभएको छ।

कांग्रेसले मनोनयन दर्ताको अन्तिम समयसम्म पनि टुंगो लाउन नसकेको उक्त क्षेत्रमा शेरबहादुर लामाको नाम कटाएर बकैया गाउँपालिकाका लामिछानेलाई उम्मेदवार बनाएपछि अहिले उक्त क्षेत्रको पनि चर्चा परिचर्चा शुरू भएको छ।

गत संविधानसभा निर्वाचनमा एमाले भन्दा करिब १२ सय मतान्तरले कांग्रेसले बाजी मारेको उक्त क्षेत्रमा स्थानीय तह निर्वाचनमा भने नेपाली कांग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन। बकैया गाउँपालिका, बागमती गाउँपालिका, मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा र हेटौंडा उपमहानगरका ३ वटा वडा रहेको उक्त क्षेत्रमा स्थानीय तहको नतिजा हेर्दा एमाले र कांग्रेसको टक्कर देखिन्छ।

एमालेले बागमती र बकैयामा उपाध्यक्ष जितेको गढीको वडा नम्बर ३, ४ तथा हेटौंडाको १७ र १८ मा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले बकैयामा अध्यक्ष, गढीको १, २ मा वडा अध्यक्ष तथा हेटौंडाको १६ मा वडाअध्यक्ष जितेको थियो। उता, बागमतीमा माओवादी केन्द्र अध्यक्षमा विजयी भएको थियो भने राप्रपाको अवस्था सबैतिर कमजोर रहेको थियो।

निवर्तमान सांसदहरू प्रदेशमा
यस पटक मकवानपुरको दुवै प्रतिनिधिसभाको चर्चा त छँदैछ। त्योसँगै प्रदेशसभाको पनि उत्तिकै चर्चा छ। सबैभन्दा धेरै चर्चा भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) को छ। जहाँ दुवै निवर्तमान सांसद चुनावी मैदानमा छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका ईन्द्रबहादुर बानियाँ र एमाले नेता राजाराम स्याङ्तानबीचको भिडन्त रोचक हुने सम्भावना देखिएको छ।

मनोनयन दर्ताको अन्तिम समयसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवार बन्ने हल्ला चलेका बानियाँ आखिर उहाँको क्षेत्र छाडेर क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा उम्मेदवार बन्न पुग्नुभयो। लोकतान्त्रिक गठबन्धनका कारण कमल थापालाई आफ्नो क्षेत्र छाड्नुभएका बानियाँको प्रवेशपछि उक्त क्षेत्रको भिडन्त रोचक बनेको हो।

बानियाँको प्रवेशपछि उक्त क्षेत्रमा चुनावी गफगाफ अझ बढ्ने भए पनि उक्त क्षेत्रमा विजयी हुन भने बानियाँलाई जति असहज छ, त्यति नै वाम गठबन्धनका लागि सहज हुने अनुमान गर्न सकिन्छ। मकवानपुरको मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका तथा हेटौंडा उपहानगरको ३ र १९ नम्बर वडा उक्त क्षेत्रमा छ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मनहरी गाउँपालिका, कैलाश गाउँपालिका तथा हेटौंडाको ३ र १९ मा एमाले विजयी भएको थियो भने राक्सिराङ गाउँपालिकामा कांग्रेस विजयी भएको थियो।

प्रतिक्रिया दिनुहोस्