कामना फिल्म अवार्डस् २०७४, छक्का पञ्जा सर्वाधिक १७ विधाको मनोनयनमा जात्रा र गाजलु १४–१४ विधामा



नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाले प्रकाशनको तीन दशकभन्दा बढी लामो यात्रा पार गरेको सुखद अवसरमा मनोरञ्जन क्षेत्रको बहुप्रतिष्ठित कम्पनी सीजी इन्टरटेनमेन्टसँगको सहकार्यमा २०७१ सालबाट थालनी गरेको सीजी कामना फिल्म अवार्डस्को तेस्रो संस्करणको मनोनयन सूची सार्वजनिक गरिएको छ।

गत वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको लक्स कामना फिल्म अवार्डस् २०७४ मा छक्का पञ्जा सर्वाधिक धेरै १७ विधाको मनोनयनमा परेको छ। दीपाश्री निरौलाको डेब्यु निर्देशनमा बनेको छक्का पञ्जा उत्कृष्ट फिल्म, नवनिर्देशक, कथा, पटकथा, संवाद, अभिनेतृ, सहअभिनेता, सहअभिनेतृ, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। यो फिल्मबाट पाश्र्व गायक विधामा दुई गायक मनोयनमा परेका छन्।

छक्का पञ्जालाई पछ्याउँदै प्रदीप भट्टराईको डेब्यु निर्देशनमा बनेको जात्रा र गाजलु १४–१४ विधाको मनोयनमा परेको छ। जात्रा उत्कृष्ट फिल्मका साथमा नवनिर्देशक, अभिनेता, अभिनेतृ, सहअभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, शृंगार, ध्वनि मिश्रण र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। हेमराज बीसीद्वारा निर्देशित गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सहअभिनेता, सहअभिनेतृ, हास्य कलाकार, नवअभिनेतृ, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, शृंगार र ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ। निश्चल बस्नेतद्वारा निर्देशित लुट–२ एघार विधाको मनोयनमा परेको छ। यो फिल्म उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, छायांकार, सम्पादक र शृंगार विधाको मनोनयमा परेको छ। आकाश अधिकारीद्वारा निर्देशित के म तिम्रो होइन १० विधाको मनोनयमा परेको छ। यो फिल्म उत्कृष्ट फिल्मसहित निर्देशक, सहअभिनेता, नवअभिनेता, नवअभिनेतृ, पाश्र्व गायक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, शृंगार र ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ। त्यसै गरी बाटोमुनिको फूल–२ र डाइङ क्यान्डल (निभ्न लागेको दियो) ९–९ विधाको मनोयनमा परेका छन्। सुवर्ण थापाद्वारा निर्देशित बाटोमुनिको फूल उत्कृष्ट निर्देशक, सहअभिनेता, सहअभिनेतृ, कथा, पटकथा, संवाद, गीतकार, गायिका र पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ। नवनिर्देशक नरेशकुमार केसीद्वारा निर्देशित डाइङ क्यान्डल उत्कृष्ट चलचित्र, अभिनेतृ, नवनिर्देशक, बाल कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन र शृंगार विधाको मनोनयमा परेको छ। नवनिर्देशक सन्तोष शिवाकोटीद्वारा निर्देशित शब्द नवनिर्देशक, अभिनेता, नवअभिनेतृ, बाल कलाकार, संवाद, गीतकार, गायक र छायांकार गरी ८ विधा तथा मिलन चाम्सद्वारा निर्देशित वीरविक्रम उत्कृष्ट अभिनेता, नवअभिनेतृ, खलपात्र, संगीतकार र पाश्र्व गायक गरी ५ विधाको मनोनयमा परेको छ। ऋषि लामिछानेद्वारा निर्देशित किस्मत–२ पनि गीतकार, गायिका, द्वन्द्व निर्देशक, नवअभिनेता र नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ।

निर्भय र चपली हाइट–२ ४–४ विधाको मनोनयनमा परेका छन्। निर्भय उत्कृष्ट अभिनेता, अभिनेतृ, बाल कलाकार र संगीतकार तथा चपली हाइट–२ निर्देशक, नवअभिनेता, छायांकन र ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ। पलाँस उत्कृष्ट खलपात्र, गीतकार र गायक तथा राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३–३ विधाको मनोनयमा परेका छन् भने होमवर्क सहअभिनेतृ र कथा, जय परशुराम नवनिर्देशक र द्वन्द्व निर्देशक, किङ नृत्य निर्देशक र द्वन्द्व निर्देशक, सफर गीतकार र नवअभिनेता गरी २–२ विधाको मनोनयमा परेका छन्। त्यसै गरी फिल्म बाजिगर खलपात्र, गाँठो नवअभिनेतृ, लभ सासा अभिनेतृ र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन्।

दीपकराज गिरी यस वर्ष छक्का पञ्जाबाट खलपात्र विधाको मनोयनमा परेका छन् भने सोही फिल्मबाट कथा र पटकथाको मनोनयमा पनि परेका छन्। संवादमा उनीसहित केदार घिमिरे र जितु नेपाल मनोनयनमा परेका छन् भने यो एउटै फिल्मबाट केदार घिमिरे र बुद्धि तामाङ हास्य कलाकारको मनोनयमा छन्। ताराप्रकाश लिम्बु वीरविक्रमबाट संगीतकार र गायकको मनोनयनमा परेका छन् भने एलिश कार्की लुट–२ र के म तिम्रो होइन र गरी २ फिल्मबाट पाश्र्व संगीत विधाको मनोनयमा परेका छन्। पुरुषोत्तम प्रधान छक्का पञ्जा र लुट–२ बाट छायांकार, कविराज गहतराज छक्का पञ्जा, किस्मत र राधा गरी ३ फिल्मबाट नृत्य निर्देशक, एसकुमार एउटै फिल्म बाटोमुनिको फूलबाट कथा, पटकथा र संवाद गरी ३ विधा, हेमराज बीसी गाजलुबाट कथा, पटकथा र निर्देशन गरी ३ विधा, प्रदीप भट्टराई पटकथा, संवाद र नवनिर्देशक गरी ३ विधा, अर्जुन पोखरेल गीतकार र संगीतकार गरी २ विधा, नरेशकुमार केसी कथा तथा सुरेन्द्र पौडेल गाजलु र लुट–२ बाट सम्पादक, सरोज बुढाथोकी डाइङ क्यान्डल र गाजलुबाट शृंगार तथा उत्तम न्यौपाने गाजलु र चपली हाइट–२ बाट ध्वनि मिश्रण विधाको मनोनयमा परेका छन्।

उत्कृष्ट ५ को मनोनयन गर्ने व्यवस्था भए पनि पाश्र्व गायक र छायांकन विधामा निर्णायक मण्डलीबाट बराबर अंक पाएका कारण उत्कृट ६ जनाको सूची आएको छ।

सम्मान चलचित्रकोः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम फिल्म क्षेत्रको महोत्सवका रूपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पुर्याएको योगदानको आधारमा कला र प्रविधि क्षेत्रबाट एक–एक जनालाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेसन र नाट्य विधामा सीजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

लक्सको सहभागितासँगै गत वर्षबाट थप एक नयाँ विधा लक्स पपुलर च्वाइस अवार्ड पनि थपिएको छ। लक्स पपुलर च्वाइस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्ड समारोहमा यस वर्ष पनि ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स ब्युटी स्टार छनोट हुने अवार्डको यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टि श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेतृ तथा सृष्टि नवअभिनेतृको मनोनयनमा समेत छन्। वर्षा छक्का पञ्जाबाट सहअभिनेतृ विधाको मनोनयमा पनि छिन्। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। अन्य ९ लोकप्रिय विधामा पनि एसएमएस भोटिङको व्यवस्था गरिएको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट मिलाई विजेता चयन गरिनेछ। दर्शकले लोकप्रिय १० विधामा एसएमएस भोटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ।

तेस्रो संस्करणको लक्स कामना फिल्म अवार्डस् २०७४ समग्र फिल्म क्षेत्र र फिल्मकर्मीमा समर्पित हुने अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्युज पब्लिकेसन्स्का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले बताए। ‘कामनाको जन्म नै कलाकार, कलाकर्मी र फिल्म क्षेत्रको विकास तथा विस्तारका लागि भएको हो। नेपाली कलाकार र फिल्म क्षेत्रले पनि मान सम्मान र प्रतिष्ठा हासिल गर्नुपर्छ भन्ने उद्देश्यमा हामी सफल हुँदै आएका छौं। यही उद्देश्यबाट प्रेरित भएर अवार्डको शुरुआत गरेका हौं। २०७१ सालबाट शुरू भएको अवार्ड कार्यक्रमलाई निरन्तरता दिनेछौं’ –उनले भने। त्यसै गरी अवार्ड आयोजक समितिका अर्का निर्देशक तथा सीजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले कामना फिल्म अवार्डस् एक दिन नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास व्यक्त गरे। ‘उत्कृष्टता, पारदर्शिता र निष्पक्षताका कारण कामना फिल्म अवार्डस् नेपाली फिल्म क्षेत्रको मानक अवार्ड हुने विश्वास मैले लिएको छु।

अवार्डको अघिल्ला दुई संस्करणबाट पाएको प्रतिक्रियाले पनि यसो हुनेमा म विश्वस्त छु। पहिलो र दोस्रो संस्करणको कामना फिल्म अवार्डस्मा मिलेका प्रतिक्रियाबाट तेस्रो संस्करणको अवार्ड आयोजना गर्ने क्रममा हामी अत्यन्त उत्साहित भएका छौं’ –उनले भने। त्यसै गरी अवार्ड आयोजक समितिका संयोजक तथा कामना न्युज पब्लिकेसन्स्का प्रबन्ध सम्पादक एवं प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठले दुई संस्करणका अवार्डको अनुभवबाट तेस्रो संस्करणको अवार्डलाई अझ भव्य र सभ्य बनाइने बताए। ‘पहिलो र दोस्रो अवार्ड समारोहको अनुभवले तेस्रो संस्करणको अवार्डलाई थप भव्य र शानदार बनाउन सघाएको छ। त्यसको प्रत्यक्ष महसुस अवार्ड समारोहमा हुनेछ’ –उनले भने। समितिका सदस्य तथा ख्यातिप्राप्त अभिनेता एवं रंगकर्मी हरिहर शर्माले कामना फिल्म अवार्डस् २०७४ मा फिल्म र फिल्मकर्मीका साथमा दर्शक मतको समेत सम्मान हुने बताए भने समितिका सदस्य तथा कामनाका सम्पादक विदुर गिरीले अवार्ड सिनेकर्मीका लागि दशैं सावित हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्