अश्लिल संकेत गर्ने महिलाको जागिर चट



 

वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मोटरकेडलाई अश्लिल भाव प्रकट गर्ने खालले माझी औंला ठड्याएर देखाउने एकजना अमेरिकी महिलाको जागिर चट भएको छ। उनले सो व्यवहार गरेको दृश्य एउटा तस्वीरमा कैद भएको थियो। भर्जिनियास्थित ट्रम्प गल्फ रिसोर्टनजिक गत २८ अक्टोबरमा खिचिएको सो तस्वीर सामाजिक संजालमा भाइरल हुन पुगेको थियो।

जुली ब्रिस्कम्यान नामक ती साइकलिस्ट महिलाले आफ्नो त्यो तस्वीर अनलाइन प्रोफाइलमा राखेपछि उनलाई उनी काम गर्ने अकिमा एलएलसी कम्पनीले बर्खास्त गरेको हो। यस सम्बन्धमा बीबीसीले राखेको जिज्ञासा बारे सो कम्पनीले कुनै पनि प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

ब्रिस्कम्यानले एकदिन कम्पनीले आफूलाई एउटा मिटिङमा डाकेर भाइरल भएको तस्वीरको प्रसंग उठाएर उनलाई जागिरबाट हटाइएको जानकारी दिएको उनले अमेरिकी संचार माध्यम दि हफिंगटन पोस्ट न्युज वेवसाइटलाई बताएकी छिन्। उनी सो कम्पनीको जनसम्पर्क विभागमा कार्यरत थिइन्। उनले उक्त तस्वीर फेसबुक र ट्विटरमा पोस्ट गरेपछि तिनीहरूको आचारसंहितामा ठेस पुगेको बताइएको छ। तर ब्रिस्कम्यानले कम्पनीलाई सफाइ दिने क्रममा उक्त तस्वीर खिचिँदा आफू अफिसको समय अवधिभित्र नरहेको र सामाजिक संजालमा तस्वीर पोस्ट गर्दा पनि कम्पनीको नाम उल्लेख नगरेको बताएकी थिइन्।

उनले आफ्नो अफिसमा यस्तै अर्को एक घटनामा मुछिएका पुरुष कर्मचारीलाई भने तस्वीर मात्र मेट्न लगाइ जागिरबाट ननिकालिएको भन्दै पक्षपातपूर्ण व्यवहारको गुनासो गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्