क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम



नेपाल समाचारपत्र
काठमाडौं
सशस्त्र प्रहरी कर्मचारीहरूलाई क्यान्सर तथा मुटु रोगबारे जानकारी गराउने अभिप्रायले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कात्तिक २१ गते क्यान्सर तथा मुटु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल र रामशरण पौडेललगायत काठमाडौं उपत्यकास्थित विभिन्न एपीएफ एकाईहरूमा कार्यरत करिब ६ सय जना सशस्त्र प्रहरी अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरू सहभागी रहेका थिए। क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा सो संघले आयोजना गरेको एक दिवसीय उक्त कार्यक्रममा क्यान्सर तथा मुटु रोग र यसबाट बच्ने उपायका सम्बन्धमा प्रशिक्षण दिइएको थियो। वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सो अवसरमा नेपालमा क्यान्सर तथा मुटु रोगको स्थिति, रोग लाग्नुका कारण, रोकथामका लागि अपनाउनु पर्ने उपाय, उपचार पद्धतिलगायतका विविध वियषमा सचित्र प्रस्तुतिसहित विस्तृत रूपमा जानकारी गराउनुभएको थियो।

उहाँले सुर्तीजन्य पदार्थको प्रयोग नै क्यान्सर रोग लाग्नुको प्रमुख कारण भएको चर्चा गर्नुहुँदै सुर्तीजन्य वस्तुको सेवन गर्नेहरूलाई यस किसिमको रोग लाग्ने सम्भावना अत्यधिक रहने उल्लेख गर्नुभयो।

सो अवसरमा क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले सशस्त्र प्रहरी परिवार महिला संघसँगको सहकार्यमा गरिएको यस किसिमका कार्यक्रमले मुटु र क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्न टेवा पुग्ने बताउनुभयो।

स्वागत मन्तव्यको क्रममा संघकी सदस्य सचिव सरस्वती पाण्डेले समाजसेवाका विभिन्न क्षेत्रहरूमा संघले आफ्नोतर्फबाट योगदान पुर्याउँदै आएको चर्चा गर्नुहुँदै सुर्तीजन्य पदार्थको प्रयोगबाट हुन सक्ने असर तथा क्यान्सर र मुटु रोगसम्बन्धी विविध जानकारी हासिल गर्न यस्ता कार्यक्रम उपयोगी रहेको उल्लेख गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्