वाम गठबन्धनको घोषणापत्र सार्वजनिक, समृद्धि र स्थिरता मुख्य एजेण्डा



मधुसूदन रायमाझी, काठमाडौं
वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी घोषणपत्र सार्वजनिक गरेको छ। उम्मेदवारी मनोनयन दर्ता गरेर वाम गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।

वाम गठबन्धनले घोषणापत्रमा मुख्य एजेण्डा मुलुकको स्थिरता र समृद्धि भएको बताएको छ। समृद्धि र राजनीतिक स्थिरताका लागि एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने उद्देश्यका साथ वाम गठबन्धन निर्माण गरेको नेकपा एमाले र नकेपा माओवादीले बताएका छन्।

राजधानीमा मंगलबार वाम गठबन्धनले पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्दै विपक्षीलाई आरोप नलगाई संयमताको साथ अगाडि बढ्ने बताएको छ। कार्यक्रममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको चुनावी घोषणापत्र राष्ट्र निर्माणको सर्वोकृष्ट प्रतिबद्धता भएको बताउनुभयो।

उहाँले घोषणापत्रले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति, स्थायित्व र विकासबारे सुनिश्चिता गरेको बताउँदै भन्नुभयो– ‘यो चुनावको घोषणापत्र होइन, राष्ट्र निर्माणको प्रतिबद्धता हो। गरिबी निवारण, रोजगारी, स्वच्छ वातावरण र दिगो विकासका लक्ष्यपूर्तिका लागि हामीले प्रत्याभूति गरेका छौं।’

लोकतन्त्र कसैले ल्याइदिएको उपहार नभएको बताउँदै आफूहरूकै पुस्ताले बलिदान र संघर्ष गरेर प्राप्त भएको उपलब्धि भएको बताउँदै आफूहरू लोकतन्त्रलाई तलमाथि हुन नदिन प्रतिबद्ध रहेको बताउनुभयो।

एमाले र माओवादी मिलेर पहिला पनि सरकार चलाएकाले हो, चुनावी गठबन्धन र पार्टी एकताको घोषणा हुँदा कसैले कोको होलो र रुवाबासी किन भन्ने प्रश्न गर्दै कांग्रेसलाई लक्षित गर्दै भन्नुभयो– ‘एउटै विचार र सिद्धान्त बोलेका दुई पार्टी मिल्दा लोकतन्त्र खतरामा पर्ने भन्न थालिएको छ, के झगडा गर्दा लोकतन्त्र सुरक्षित हुन्छ?’

मुलुकलाई एकताबद्ध बनाएर जानु अहिलेको आवश्यकता भएकामा जोड दिँदै उहाँले घोषणापत्रमा आफूहरूको लक्ष्य र प्रतिबद्धता सही नीति, संकल्प र विचारकासाथ अघि सारिएको बताउनुभयो।

‘दुनियाँले पत्याउनसमेत गाह्रो पर्ने गरी काम गर्दै आएका दुई कम्युनिस्ट पार्टीले तयार गरेको घोषणापत्र भएकाले प्रतिस्पर्धामा उत्रन र सही विचार नलिनेका लागि सहन गाह्रो पर्न सक्छ।’ –उहाँले भन्नुभयो।

नेपालका दुवै छिमेकी भारत र चीनसँगको समदूरीको सम्बन्धलाई विकास गर्ने बताउँदै राष्ट्र निर्माण र सन्तानको भविष्य बनाउने कुरामा कोही पनि जिम्मेवारीबाट पछि हट्न नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो– ‘वामपन्थी शक्तिविरुद्ध जनतामा भ्रम फैलाउने काम भएको बताउँदै लोकतन्त्रको विषयलाई लिएर फैलाएको भ्रममा कुनै पनि आधार नभएको बताउनुभयो।’

संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म अगाडि सारेको दिगो विकासको लक्ष्यअनुसार काम गर्ने गरी आफूहरूले देशको मागअनुसारको घोषणापत्र ल्याएको बताउँदै चुनावी घोषणापत्रअनुसार अगाडि बढ्ने अध्यक्ष ओलीले बताउनुभयो।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले अगाडि सारेको पानी जहाज सञ्चालन गर्ने विषयलाई पुनः दोहोर्याउनुभएको छ। समुद्रसँग नजोडिएको देशले पनि समुद्रमा पानी जहाज सञ्चालन गर्नुपर्ने बताउँदै पानी जहाज सञ्चान गरेर नेपालले फाइदा लिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागतरूपमा राखेर घोषणपत्र ल्याइएको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय ५ हजार डलर पुर्याउने घोषणापत्रमा समावेश गरेका छौं’, सक्षम प्रदेशसभा र अधिकार सम्पन्न स्थानीय तह र राजधानी उपत्यकाका लागि एकीकृत शहरका रूपमा विकास गर्ने योजना अघि सारेका छौं।’

उहाँले जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सृजना होस् भन्ने चाहेको बताउँदै जनताको चाहना र भावनाअनुसार नै आफूहरूले काम गर्ने बताउनुभयो।
कसैका विरुद्ध गाली गलौजमा नउत्रिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विचार मिल्ने अन्य पक्ष पनि धु्रवीकृत हुनसक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउन सक्ने बताउनुभयो। गठबन्धनको विरोधमा नेपाली कांग्रेस तल्लोस्तरको गालीगलौज र भ्रामक प्रचारमा उत्रिए पनि वाम गठबन्धन संयमित भएर अगाडि बढ्ने उहाँले बताउनुभयो। उहाँले मुलुकममा अहिले वामपन्थी धार र दक्षिणपन्थी प्रवृत्ति रहेको बताउँदै संविधानले परिकल्पना गरेको समाजवादी बाटोमा पुग्नका लागि संयमित र शान्तिपूर्णरूपमा अगाडि बढ्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्