लथालिंग ललितपुर महानगरपालिका



 

सुनील महर्जन, ललितपुर
ललितपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखसहित जिम्मेवार कर्मचारीको टोली विदेश गएपछि महानगरपालिकामा आउने सयौं सेवाग्राहीको काम प्रभावित भएको छ।

सबैभन्दा अचम्म त महानगरपालिकाका कार्यकारी प्रमुख हरिप्रसाद दाहालले कसैलाई पनि कार्यकारी प्रमुख नदिईकन विदेश जानुभएको रहेछ। त्यसले गर्दा फाइलमा तोक लगाउन अधिकार प्राप्त कर्मचारीसमेत कोही नहुँदा तीन दिनयता नियमित कामकाजसमेत प्रायः ठप्प भएको छ। दाहाल र शहरी विकास महाशाखा प्रमुख रुद्र गौतमले बिदासमेत स्वीकृत गराएका छैनन्।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख गीता सत्याल, कार्यकारी प्रमुख दाहाल र शहरी विकास महाशाखाका प्रमुख गौतम गत शनिबार श्रीलंकाको राजधानी कोलम्बोतर्फ लाग्नुभएको थियो।

अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उहाँहरू कोलम्बो गएको बताइएको छ। मेयर महर्जनले वडा नम्बर २० का वडाध्यक्ष चन्द्र महर्जनलाई कार्यवाहक दिएको बताइए पनि महर्जनले महानगरपालिकामा नाकमुख देखाउनसमेत नआएको कर्मचारीहरूले बताएका छन्।

फाइलमा तोक लगाउने कोही नभेटिएपछि निराश हुँदै गोपाल मालीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘यस्तो ताल देख्दा जनप्रतिनिधि आएको हो कि होइन छुटइउन गाह्रो भो।’ माली मात्र नभई महानगरपालिकामा आउने हरेक सेवाग्राहीले असन्तुष्टि पोखेर गएको पाइएको छ। कार्यालय प्रमुख नहुँदा दैनिक सयौं सेवाग्राही रित्तो हात लिएर फर्किनुपरेको गुनासो गरेका छन्।

प्रशासन महाशाखाका प्रमुख बाबुराजा महर्जनले कार्यकारी प्रमुख दाहालले कसैलाई कामु नदिएको बताउनुभयो। ‘सयौं सेवाग्राही मकहाँ आउँछन्। मलाई तोक लगाउने अधिकार छैन।’ –प्रशासन महाशाखा प्रमुख महर्जनले भन्नुभयो।

प्रमुख र उपप्रमुखसँगै कार्यकारी प्रमुख नै गैरजिम्मेवार बनेकामा कर्मचारीहरू दिनभर आक्रोशित देखिन्थे।

जिम्मेवार पदाधिकारीहरू गैरजिम्मेवार बनेको भन्दै कोही महानगरपालिका परिसर घाम तापिरहेका थिए, कोही चाँडै घरतिर फर्किएका देखिन्थ्यो। यसअघि पनि मेयर र उपमेयर कोरिया जानुभएको थियो। मेयर महर्जन त महिनैपिच्छे बोर्डलाई जानकारी नदिइकन विदेश गएकोमा अधिकांश वडाध्यक्ष विरोधमा उत्रिएका छन्। महानगरपालिकाका अनुसार मेयर महर्जन ६ महिनामा ६ पटक विदेश भ्रमण गरिसक्नुभएको छ। मेयर महर्जनको टोली शुक्रबार नेपाल फर्किने भएको छ।

‘त्यत्रो वडाध्यक्षले मेयर महर्जनको कार्यशैलीलाई लिएर विरोध गरेकै दिन सुटक्क विदेश जानु मेयरका लागि सुहाउने चरित्र होइन’, वडा नम्बर ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले भन्नुभयो– ‘एक सातासम्म महानगरपालिकाको कामकाज ठप्प बनाउनु योभन्दा ठूलो लापरबाही अरू के हुन्छ । प्रमुख फर्किएपछि यसको विरोध गर्नेछौं।’ निर्वाचन आचार संहिता लागू भइसकेकाले कार्यकारी प्रमुख दाहाल र महाशाखा प्रमुख गौतमको विदेश भ्रमण आचार संहिताविपरीत हुने पनि सेवाग्राही वृत्तमा चर्चा चलेको थियो।

‘खाली विदेश मात्र भ्रमणमा मात्र जाने, स्थानीय तहका समस्या वास्ता नगर्ने प्रवृत्ति भएन’ –ललितपुर महानगरपालिका कर्मचारी एसोसिएनका अध्यक्ष सुरेन्द्र अवालेले नेपाल समाचारपत्रसँग भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्