प्रदेश नम्बर १: कांग्रेस सुन्य, एमाले २०, माओवादी ७ र राप्रपा १ स्थानमा अगाडि (मत विश्लेषण)



काठमाडाैँ । गत असारमा भएको स्थानीय तह निर्वाचनको वडागत मतपरिणामका आधारमा प्रदेश नम्बर १ मा आगामी चुनावको आकलन गर्दा कांग्रेस शुन्य हुने देखिएको छ । स्थानीय निर्वाचनमा भएको मतदान अनुरुप नै मतदाताले दलीय उम्मेदवारलाई मतदान गरेको खण्डमा प्रदेश नम्बर १ का प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्रमा एमाले २०, माओवादी ७ र राप्रपा १ स्थानमा अगाडि देखिन्छ ।

इलाम दुवैमा एमाले
२ निर्वाचन क्षेत्र भएको इलाममा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल बाम गठबन्धनका उम्मेदवार छन् । त्यस्तै कांग्रेसका भूपेन्द्र कट्टेल प्रतिनिधिसभाका लागि उम्मेदवार छन् । गत स्थानीय तहको निर्वाचनमा उक्त क्षेत्रमा एमाले एक्लैको ३०१४८ मत छ भने माओवादीको ५२२९ मत छ । यस्तै कांग्रेसको २३७६० मत छ । राप्रपाको पनि कांग्रेस उम्मेदवारका पक्षमा जोड्ने हो भने कांग्रेसका भभूपेन्द्र कट्टेलको २४७८३ मत हुन्छ । यस्तै एमालेका झलनाथ खनालको बाम गठबन्धनको मत ३५३७७ हुन्छ । यहाँ बाम गठबन्धन र कांग्रेसको मतान्तर १०५९४ देखिन्छ ।

यस्तै इलाम २ मा बाम गठबन्धनका उम्मेदवार पूर्व सभामुख सुवास नेम्वाङ र कांग्रेसका केशव थापा छन् । एमाले र माओवादीले स्थानीय चुनावमा वडागत रुपमा पाएको मत जोड्दा बाम गठबन्धनका उम्मेदवार नेम्वाङको ३४७९८ मत देखिएको छ भने कांग्रेसका थापाको राप्रपाको समेत मत जोड्दा २९९६८ मत छ ।  यहाँ एमालेले २८२८५, माओवादीले ६५१३, कांग्रेसले २६८०८ र राप्रपाले १६० मत ल्याएका थिए ।

झापाः एमाले ३, माओवादी राप्रपा १–१
झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्मा र बाम गठबन्धनका तर्फबाट माओवादी नेता राम कार्की चुनावी मैदानमा छन् । झापा १ मा गत स्थानीय निर्वाचनको वडागत मत हिसाव गर्दा बाम गठबन्धन २२५५८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसले २८०८३ मत ल्याएको थियो । झापामा राप्रपा पनि बाम गठबन्धनमै सामेल भएकाले सो मत पनि बाम गठबन्धनमा गए बाम गठबन्धनको अझै ५ हजार मत थपिन सक्ने देखिन्छ । स्थानीय निर्वाचनमा राप्रपाले यो क्षेत्रमा ५४२३ मत ल्याएको थियो ।

झापा २ मा एमालेका पवित्रा निरौला बाम गठबन्धनका तर्फबाट उम्मेदवार छिन् भने कांग्रेसका उद्धव थापा उम्मेदवार छन् । यो क्षेत्रमा एमालेको २६४५६ र माओवादीको ८४२८ मत गरी बाम गठबन्धनले गत स्थानीय चुनावमा ४०४२५ मत ल्याएको छ । कांग्रेसले २२७८२ र राप्रपाले ५५३२ मत ल्याएको छ । राप्रपा पनि झापामा बाम गठबन्धनमै सामेल भएकाले बाम गठबन्धनमा अर्काे ५ हजार मत थनिे सम्भावना रहन्छ । राप्रपालाई अलग गरेर पनि यहाँ बाम गठबन्धन र कांग्रेसको मतान्तर १७६४३ छ ।

यस्तै झापा ३ मा एमाले माओवादीले राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनलाई समर्थन गरेका छन् भने कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला उम्मेदवार छन् । यहाँ एमालेको २१७३७, माओवादीको १४९४२, राप्रपाको १२८८१ मत गत स्थानीय निर्वाचनमा आएको थियो । यस्तै कांग्रेसको १८२६० मत आएको थियो । यसरी गठबन्धन अनुसार हिसाव गर्दा यहाँ राप्रपाका राजेन्द्र लिङदेन कांग्रेसका कृष्ण सिटौला भन्दा ३१३३० मतले माथि देखिन्छन् ।

झापा ४ मा बाम गठबन्धनबाट एमालेका एलपी सावा र कांग्रेसका देउकुमार थेवे उम्मेदवार छन् । यहाँ स्थानीय चुनावमा एमालेले २२७१९, माओवादीले १०६६०, कांग्रेसले २३२४६ र राप्रपाले ४६२२ मत ल्याएका छन् । गठबन्धन अनुसार मतदान भए यहाँ एमाले माओवादीको मात्र १०१३३ मतले माथि देखिन्छ । त्यसमाथि राप्रपाको मत करिव ५ हजार थपिंदा बाम गठबन्धन १४ हजार भन्दा बढी मतले अगाडि देखिन्छ ।

झापा ५ एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको क्षेत्र हो । यस क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवार बन्ने ब्यक्ति फेला नपरेपछि कांग्रेसले त्रिचन्द्र क्याम्पसमा अध्यापनरत खगेन्द्र अधिकारीलाई लगेर उम्मेदवार बनाएको छ । गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा एमालेले ३०६७८, माओवादीले १३१६३, राप्रपाले ८९७०, कांग्रेसले २११५१ र फोरमले १४१४ मत ल्याएको थियो । गठबन्धनको मतका आधारमा यहाँ एमाले अध्यक्ष ओलीको पक्षमा ३०२४६ मतको अग्रता देखिन्छ ।

मोरङ एमाले ४ माओवादी २ मा अग्रता
मोरङ १ मा बाम गठबन्धनका तर्फबाट एमालेका घनश्याम खतिवडा र कांग्रेसका डिकबहादुर लिम्बु प्रतिस्पर्धामा छन् । यहाँ बाम गठबन्धनको मत ३३३५० र कांग्रेसको गठबन्धनको मत २५४२६ छ । यहाँ ७९२४ मतले बाम गठबन्धन अगाडि दृेखिन्छ ।

यस्तै मोरङ २ मा पनि बाम गठबन्धन २४४० मतले अगाडि देखिन्छ । यहाँ कांग्रेसका मिनेन्द्र रिजाल र एमालेका ऋषिकेश पोखरेल चुनावी मैदानमा छन् । यस क्षेत्रमा स्थानीय चुनावमा कांग्रेस गठबन्धनले २४८४७ र बाम गठबन्धनले २७५१४ मत ल्याएको छ ।

मोरङ ३ मा बाम गठबन्धनबाट एमालेका भानुभक्त ढकाल र कांग्रेस गठबन्धनबाट विवादास्पद मेडिकल कलेजका मालिक सुनील शर्मा उम्मेदवार छन् । यस क्षेत्रमा बाम गठबन्धनको ४१७६२ र कांग्रेस राप्रपा गठबन्धनको २२५८४ मत छ । यो क्षेत्रमा बाम गठबन्धन १९१७९ मतले अगाडि देखिन्छ ।

मोरङ ४ मा बाम गठबन्धनका तर्फबाट अमनलाल मोदी र कांग्रेस राप्रपा गठबन्धनबाट महेश आचार्य उम्मेदवार छन् । यहाँ बाम गठबन्धनको २२१९० र कांग्रेस राप्रपा गठबन्धनको २०००७ मत आएको थियो । बाम गठबन्धन २१८३ मतले यहाँ अगाडि देखिन्छ ।

मोरङ ५ मा बाम गठबन्धनबाट माओवादी नेता शिवकुमार मण्डल र कांग्रेस राप्रपा गठबन्धनबाट अमृत अर्याल उम्मेदवार छन् । यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा बामपन्थी दलले २०१६२ र कांग्रेस राप्रपाले १४६९० मत ल्याएका थिए । यहाँ बाम गठबन्धन ५४७२ मतले अगाडि देखिन्छ ।

मोरङ ६ मा बाम गठबन्धनका तर्फबाट चर्चित एमाले नेता लालबाबू पण्डित र कांग्रेसका तर्फबाट शेखर कोइराला उम्मेदवार छन् । बाम गठबन्धनको यहाँ २६२९६ मत गत स्थानीय चुनावमा आएको थियो भने कांग्रेस राप्रपाको २०५३८ मत आएको थियो । यहाँ ५७५८ मतले बाम गठबन्धनको अग्रता देखिन्छ ।

सुनसुरी एमाले ३ माओवादी १
सुनसरी १ मा कांग्रेस राप्रपा गठबन्धनले किशोर राई र बाम गठबन्धनले जयकुमार राईलाई उम्मेदवार बनाएको छ । यहाँ बाम गठबन्धनको ४१३०० र कांग्रेस गठबन्धनको २३८५४ मत गत स्थानीय चुनावमा देखिन्छ । यस क्षेत्रमा बाम गठबन्धन १७४४६ मतले अगाडि देखिएको छ ।

सुनसरी २ मा बाम गठबन्धनका तर्फबाट माओवादीका डमरु सुवेदी र कांग्रेस गठबन्धनबाट सीताराम मेहता उम्मेदवार छन् । यस क्षेत्रमा बाम गठबन्धनको ३३५८१ मत छ भने कांग्रेस गठबन्धनको ३०१७७ मत छ । यहाँ बाम गठबन्धन ३४०४ मतले अगाडि देखिन्छ ।

सुनसरी ३ मा कांग्रेसले विजय गच्छदार र बाम गठबन्धनले एमालेका भगवती चौधरीलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा कांग्रेस, राप्रपा र पूर्ववर्ती लोकतान्त्रिक फोरमको मत जोड्दा २३२८६ मत हुन्छ भने एमाले र माओवादीको मत जोड्दा २६८५३ मत हुन्छ । यस क्षेत्रमा बाम गठबन्धन ३५६७ मतले अगाडि देखिन्छ ।

सुनसरी ४ मा कांग्रेस गठबन्धनले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ भने बाम गठबन्धनले एमालेका रमेश श्रेष्ठलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा बाम गठबन्धनको २४९९९ मत र कांग्रेस गठबन्धनको २२७०१ मत गत स्थानीय चुनावमा आएको देखिन्छ । यहाँ २२९८ मतले बाम गठबन्धन अगाडि देखिन्छ ।

उदयपुरः एमाले १ माओवादी १  
उदयपुर १ मा बाम गठबन्धनबाट एमालेका मञ्जु चौधरी र कांग्रेसका नारायण खड्काबीच प्रतिस्पर्धा छ । यहाँ ११९५३ मतले बाम गठबन्धन अगाडि देखिन्छ । यहाँ बाम गठबन्धनले ३७६२७ र कांग्रेस गठबन्धनले २५६७४ मत ल्याएको थियो ।

यस्तै उदयपुर २ मा वाम गठबन्धनका सुरेश राई र कांग्रेस गठबन्धनका नारायणदत्त केसी उम्मेदवार छन् । बाम गठबन्धनले गत स्थानीय चुनावमा यस क्षेत्रमा ८२८८ मतले अग्रता लिएको थियो । यहाँ वाम गठबन्धनको २३५२९ र कांग्रेस गठबन्धनको १५२४१ मत आएको थियो ।

तेह्रथुम एमाले १
तेह्रथुममा बाम गठबन्धनबाट भवानी खापुङ र कांग्रेस राप्रपा गठबन्धनबाट सीता गुरुङ उम्मेदवार छन् । ८२८८ मतले वामपन्थी गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनको २३५२९ मत छ भने कांग्रेस राप्रपा गठबन्धनसँग १५२४१ मत छ ।

ताप्लेजुङ एमाले १
ताप्लेजुङमा प्रतिनिधिसभाका लागि एमाले सचिव योगेश भट्टराई र कांग्रेसका तर्फबाट केशवप्रसाद दाहाल उम्मेदवार छन् । यहाँ बाम गठबन्धन ६२७३ मतले अगाडि रहेको गत स्थानीय चुनावको मतपरिणामले देखाएको छ । गत स्थानीय चुनावमा यहाँ बाम गठबन्धनले २५६६१ र कांग्रेस राप्रपा गठबन्धनले १८४२७ मत ल्याएको छ ।

सोलुखुम्बु माओवादी १ 
सोलुखुम्बुमा बाम गठबन्धनबाट माओवादीका हेमकुमार राई र कांग्रेस गठबन्धनबाट बलबहादुर केसी उम्मेदवार छन् । ९५९५ मतले बामपन्थी गठबन्धन अगाडि देखिएको यस जिल्लामा बाम गठबन्धनले २३००५ र कांग्रेस गठबन्धनले १३४१० मत ल्याएको थियो ।

पाँचथर एमाले १ 
पाँचथरमा बाम गठबन्धनबाट एमालेका बसन्तकुमार नेम्वाङ र कांग्रेस गठबन्धनबाट भीष्मराज आङदेम्बे उम्मेदवार छन् । बाम गठबन्धनको १२०८३ मतको अग्रता रहेको यस जिल्लामा वाम गठबन्धनको ४०४२८ मत छ भने कांग्रेस गठबन्धनको २८३४५ मत छ ।

खोटाङ एमाले १
खोटाङमा बाम गठबन्धनबाट एमालेका विशाल राई र कांग्रेस गठबन्धनका सरस्वती वजिमय उम्मेदवार छन् । वाम गठबन्धन १७६३२ मतले अगाडि देखिएको यस जिल्लामा बाम गठबन्धनले गत स्थानीय चुनावमा ४१४५६ मत ल्याएको थियो भने कांग्रेस गठबन्धनले २३८२४ मत ल्याएको थियो ।

संखुवासभा एमाले १ 
संखुवासभामा बाम गठबन्धनका तर्फबाट एमालेका राजेन्द्र गौतम र कांग्रेस गठबन्धनका तर्फबाट दीपक खड्का उम्मेदवार छन् । बाम गठबन्धनको ६६७३ मतको अग्रता रहेको यस जिल्लामा कांग्रेस गठबन्धनले २८२३८ र बाम गठबन्धनले ३४९११ मत गत स्थानीय चुनावमा ल्याएको थियो ।

ओखलढुंगा एमाले १
ओखलढुंगामा बाम गठबन्धनका तर्फबाट एमालेका यज्ञराज सुनुवार र कांग्रेस गठबन्धनका रामहरि खतिवडा उम्मेदवार छन् । ७२८६ मतले बाम गठबन्धनको अग्रता देखिएको यस जिल्लामा बाम गठबन्धनको ३३३२१ र कांग्रेस गठबन्धनको २६०३५ मत गत स्थानीय चुनावमा आएको देखिन्छ ।

भोजपुर माओवादी १
बाम गठबन्धनका तर्फबाट माओवादीका सुदन राई र कांग्रेस गठबन्धनका उमेशजंग रायमाझी यहाँ उम्मेदवार छन् । १९०४१ मतले बाम गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनको ४०२५७ र कांग्रैस गठबन्धनको २१२१६ मत छ ।

धनकुटा एमाले १ 
धनकुटामा बाम गठबन्धनका राजेन्द्र राई र कांग्रेस गठबन्धनका राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापा उम्मेदवार छन् । २०६७७ मतले बाम गठबन्धन अगाडि रहेको यस जिल्लामा बाम गठबन्धनले ४०५२७ र कांग्रेस गठबन्धनले १९८५० मत गत स्थानीय चुनावमा ल्याएका थिए । चक्रपथ डटकमबाट ।

प्रतिक्रिया दिनुहोस्