सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गममा टेलिकमको सेवा विस्तार



काठमाडौं, (नेस)
नेपाल टेलिकमले सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका विभिन्न दुर्गम स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आइतबारदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।

ती स्थानमा पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएकोमा सेवाग्राहीले अब जीएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने टेलिकमकले जनाएको छ। टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गत बाफलमा जीएसएम मोबाइलको बीटीएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो। यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ। यसबाट सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, बाफल र अत्तरपुर, सुनकोशी गाउँपालिकाअन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाअन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही लाभान्वित हुने टेलिकमको प्रेस विज्ञप्तिमा उल्लेख छ। दूरसञ्चार सेवाबाट वञ्चित दुर्गम स्थानमा समेत नेपाल टेलिकमले जीएसएम मोबाइल सेवा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइरहेको कम्पनीको दाबी छ।

नेपाल सरकारको नीतिअनुरूप कम्पनीले प्रतिफल कम आउने र तुलनात्मक रूपमा लगानी बढी हुने स्थानमा समेत सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिएको हो

प्रतिक्रिया दिनुहोस्