राजनीति भनेको निष्ठाको हुनुपर्ने हो । लामो समय राजनीतिमा आफ्नो जीवन समर्पण गरेकाहरु जनताको सेवा गर्नुभन्दा पनि आफ्नो स्वार्थको मात्रै राजनीति गर्ने परम्पराले मुलुकको राजनीतिमा भ्रष्टीकरण शुरु भएको छ । निःस्वार्थ राजनीति गर्नेहरुको खडेरी पर्दै गएपछि मुलुकभर त्यसको प्रभाव परेको देखिन्छ । एउटा विचार र सिद्धान्तबाट नेता बनेकाहरु अवसर नपाएपछि कहिल्यै विचार नमिल्ने पार्टीमा प्रवेश गरेर राजनीतिक लाभ लिने गरेको पाइन्छ । यसले गर्दा राजनीतिमा शुद्धताको खोजी गर्नु भनेको दिवा सपना मात्र हो । स्वार्थमा अलमलिएका नेताहरुले निष्ठाको राजनीतिको दुहाई दिने गरे पनि ऐन मौकामा आएर मुलुक र जनतालाई धोका दिएको देखिएको छ ।

यसले गर्दा युवा पुस्तामा राजनीतिप्रति वितृष्णा पैदा हुनु नौलो कुरा पनि होइन । राष्ट्रिय राजनीतिको चर्चाका रहने शीर्ष नेताहरु नै चुनावको मुखमा आएर पार्टी परिवर्तन गरेर उम्मेदवार बन्ने र जनताको मत र आफू आबद्ध दलको मुद्दा बिर्सेर अवसर प्राप्तिका लागि गरेको क्रियाकलापले उनीहरुको विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा हुने गरेको छ । राजनीतिक दल परिवर्तन गर्ने नेताहरुमा अधिकांश मधेसी मूलका नेता रहेका छन् । नाम चलेका नेताहरु नै दल परिवर्तन गर्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूरातर्फ लागेको समाचार बेलाबेलामा आउने गरेको छ । त्यसले उनीहरुको विश्वसनीयतामाथि प्रश्नचिन्ह उठाएको छैन त्यसले भविष्यमा राजनीतिमा लाग्नेहरुलाई समेत निराशा बनाउने काम गरेको छ ।

यसतर्फ दलका नेताहरुले बेलैमा नसोच्ने हो भने भोलिका पुस्ताले राजनीतिलाई घृणा मात्रै होइन यसतर्फ लाग्नेलाई सामाजिक बहिष्कार नगर्लान् भन्न सकिन्न । निष्ठाबिनाको राजनीतिमा लाग्नेहरुसँग जनताले के अपेक्षा गर्ने यो सोचनीय विषय बनेको छ । व्यक्तिगत स्वार्थले राजनीतिमा यताउता गर्नेबाट न राज्यले केही उपलब्धि हासिल गर्न सक्छ न जनताले केही पाउन नै सक्छन् । दल अदलबदल गर्ने नेताहरु मात्र होइन स्वार्थ नमिल्नासाथ साथ छोड्ने नेताहरुलाई भित्र्याउने नेताहरुले पनि सोच्नुपर्ने बेला आएको छ । पार्टीका लागि मरिमेटेर लागेका कार्यकर्ताको भावनाविपरीत नवप्रवेशी नेतालाई स्थान दिँदा कार्यकर्ता पनि भाँडिने र स्वार्थ नमिल्नासाथ पार्टी छोडेर हिँड्ने प्रवृत्ति देखिने हुँदा त्यसतर्फ सजक हुनु जरुरी छ ।

LEAVE A REPLY