शेयर बजारमा लगातार दशौं दिन गिरावट



 

नेपाल समाचारपत्र
काठमाडौं
नेप्से परिसूचकमा लगातार दशौं दिन गिरावट आएको छ। साताको दोस्रो दिन शेयर बजार ३ दशमलव शून्य ४ अंकले ओरालो लागेको हो। पुँजीबजार लगातार घट्दै जाँदा सोमबार लगानीकर्ताले एकैदिन ३ अर्ब ५२ करोड गुमाएका छन्।
साताको दोस्रो दिन १ हजार ४ सय ९६ दशमलव ४६ अंकबाट शुरू भएको बजार १ हजार ४ सय ९३ दशमलव ४२ अंकमा आएर रोकिएको हो। अन्य दिनको तुलनामा नेप्से न्यून अंकले घटेको भए पनि सोमबार निरन्तरको गिरावटमा भने अंकुश लाग्न सकेन।

सोमबार कारोबार शुरू भएको ४० मिनेटमै १ हजार ४ सय ८० अंकमा पुगेको थियो। तर त्यसपछि फर्कने संकेत देखाएको नेप्से परिसूचकले थप वृद्धि कायम गर्न नसक्दा बजार ओरालो लागेको थियो। नेप्से परिसूचक घट्दा सोमबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ४७ अंकले घटेर ३ सय १३ दशमलव ७३ अंकमा पुगेको छ।

बजार घट्दा सोमबार कारोबार रकम पनि घटेको छ। सोमबार बजारमा ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपियाँको कारोबार भएको हो। यसक्रममा १ सय ६१ कम्पनीका ११ लाख ६९ हजार ३ सय ३४ कित्ता शेयर खरिदबिक्री भए। साताको पहिलो दिन आइतबार बजारमा बार ६३ करोड १२ लाख १० हजार ५ सय ३० रुपियाँको कारोबार भएको थियो।

सोमबार कारोबारमा आएका १० समूहमध्ये ५ समूह ओरालो लाग्दा बजार परिसूचक समग्रमा घटेको हो। ट्रेडिङ समूह सर्वाधिक शून्य दशमलव ९९ प्रतिशतले घट्यो। त्यस्तै विकास बैंक समूह शून्य दशमलव ६६ प्रतिशतले घट्दा बीमा र लघुवित्त कम्पनी पनि समान शून्य दशमलव ६३ प्रतिशतले घटे। बैंकिङ समूहमा पनि शून्य दशमलव १७ अंकको गिरावट आयो।

सोमबार वित्त समूह सबैभन्दा धेरै १ दशमलव २५ अंकले बढ्यो। बढ्नेमा उत्पादनमूलक, होटल, जलविद्युत् र अन्य समूह पनि बढे। ती समूहमा त्रमशः शून्य दशमलव ३६, शून्य दशमलव २६, शून्य दशमलव १३, शून्य दशमलव ११ प्रतिशतको सुधार आए। अंकको आधारमा बीमा समूह ५१ दशमलव ९३ अंकले घट्दा वित्त समूह ९ दशमलव ६३ अंकले उकालो लाग्यो।
सोमबार सबैभन्दा धेरै कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भयो। ट्रस्टका ३ करोड २५ लाख रुपियँँको कारोबार भएको थियो। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको २ करोड रुपियाँको कारोबार भयो।
सोमबार धेरै कमाउनेमा महुली सामुदायिक लघुवित्त संस्थाका शेयरधनी रहे। कम्पनीको शेयर मूल्य सर्वाधिक ८ दशमलव १५ प्रतिशतले बढ्दा सिभिल लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक ६ दशमलव ९६ प्रतिशत गुमाए।

ब्रोकरबाटै मार्जिन लेन्डिङ सुविधा

काठमाडौं, (नेस)
नेपाल धितोपत्र बोर्डले शेयर दलाललाई मार्जिन लेन्डिङ सुविधा दिने व्यवस्था गरेको छ। बोर्डले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन २०७४’ जारी गर्दै कार्यविधि बनाएर लेन्डिङ सुविधा दिनसक्ने नीतिगत व्यवस्था गरेको हो।

बोर्डले निर्देशन जारी गर्दै अन्तर्राष्ट्रिय मूल्य र मान्यताअनुरूपको मार्जिन कारोबार शुरू गर्न तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोबारसम्बन्धी नीतिगत व्यवस्था गरेको जनाएको छ।

जारी निर्देशनमा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्ने उल्लेख छ। यसले मार्जिन कारोबार सुविधा दिने ब्रोकर कम्पनीको खुद सम्पति कम्तीमा ५ करोड रुपियाँ हुनुपर्नेछ।

निर्देशनमा सूचीकृत कम्पनीको १ सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ। धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्नेछ भने कुनै एक जना ग्राहक वा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्म मात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउन पाउने छन्।

प्रतिक्रिया दिनुहोस्